इटहरी : राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा आप्रवासी कामदार र तिनका परिवारको मानव अधिकार संरक्षक विषयमा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार इटहरी उपमहानगरपालिकमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा पछिल्ला दिनहरुमा आप्रवासी कामदारको बारेमा जानकारी गराउँदै आप्रवासी श्रमिक आयोगका अनुसन्धानकर्ता रामेश्वर नेपालले बीस बर्ष अगाडि नेपालमा ५० हजारको हाराहारीमा बैदेशिक रोजगारमा गएका मानिसहरु अहिले पाँच लाख र अनौपचारिक रुपमा ७ लाख भन्दा बढी बैदेशिन बाध्य रहेको बताए । बिश्व बैँक २०११ का अनुसार घरपरिवारबाट ५० प्रतिसत मानिसहरु बैदेशिक भूमिमा काम गर्नुपरेको जानकारी गराउँदै उनले भने, ‘विदेशबाट हाल दैनिक तीन जना भन्दा बढीको मृत शरीर नेपाल आउँने गरेको छ, विदेश जाँदा ठगिएकाहरुले नेपालमा न्याय पाउँ पनि मुस्किल छ ।’ उनका अनुसार नेपाल मुलुककै रेमिट्यान्स भित्राउनेमध्ये तेस्रो स्थानमा आउँछ । रेमिट्यान्सबाट देशको आर्थिक समृद्धिमा ३० प्रतिसत सघाउ पुग्ने उनको ठहर थियो ।

manab

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले नेपाल विपरीत दिशामा गएकाले सर्बसाधारण मानिसहरुले ध्यान पुर्याउन पर्ने बताए । उनले भने, ‘हामीले ठीक समयमा होस पुर्याएनौँ भने हामीलाई नै ठोस लाग्न सक्छ, यस विषयमा जनप्रतिनिधि र नागरिकहरु सचेत हुन जरुरी छ ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले आप्रवासी कामदारले पैसा कमाएर आउँदा सन्तुष्टी भएपनि रोजगारी गर्नेको पीडा घरपरिवारले नबुझ्ने बताए । उनले भने, ‘काम गर्न कति कठीन हुन्छ भने, झन्झट र ठगी हुने भएकाले काम गर्दा ज्यानै पनि जान सक्छ, जवानी जति विदेशमा खर्चने र बुढेसकालमा नेपाल फर्कनु दुःखद् अवस्था छ ।’ उनका अनुसार गाउँघरमा बुढाबुढी मात्रै बस्ने भएकाले कोही मानिस मर्दा पनि मलामी नभेटिने दाबी गर्दै भने, ‘बैदेशिक रोजगारीमै मात्र सीमित हुने हो भने अबको दश बर्षपछि नेपाल कस्तो होला, यो गम्भीर विषय हो ।’ उनले अलिक नाम चलेका देश जाने भनेपछि आँखै नहेरी चेलीबेटी दिने बताउँदै भने, ‘हाम्रो मानसिकता कस्तो छ भने डि.भी. पिआर पर्यो भनेर उल्लास मनाउँछौँ, तर उसले नेपाली नागरिकता नै त्यागेर गएको कुरा सम्झदैँनौँ ।’ पैसालाई मात्रै सबै कुरा ठान्न नहुने भएकाले देशमा श्रमिकको र रोजगारी दुवैको अभाव रहेको उनले बताए । ‘घरमा बाबु खेताला खोज्न जाने र छोरो जागीर खोज्न जाने भएकाले समस्या छ,’ उनले भने, ‘जीविकाकै लागि मात्रै विदेशिने अवस्थाको अन्त्य गर्न जरुरी छ ।’