धरान : ‘....म बाच्न चाहन्छु... मलाइ पनि त बचाउनु पर्यो नी ।’ यो भनाइ हो धनकुटाको सागुरीगढी गाउँपालिका–७ आस्कोटकी ३३ बर्षीया प्रतिमा राईको । गत साउनबाट दुबै मृगौला खराब भएर उपचारत उनले मंगलबार धरानमा पत्रकार सम्मेलन गदै सहयोगको लागि याचना गदै यसो भनेकी हुन् ।

‘म बाच्न चाहन्छु, मलाइ पनि त बचाइ दिनुपर्यो नी, मेरो एउटा छोरी पनि छ,’ उनले भाबुक हुदै भनिन् । ५–७ वर्षअघि उनलाई प्रेसर र सुगर रोग देखा पर्यो । त्यसपछि अस्पतालमा चेक गराएर नियमित औषधी सेवन गर्न थालिन्। अहिले पनि औषधि लिदै आएको उनी सुनाउछिन् । त्यसपछि, दुई वर्षअघि उनी सारै विरामी भइन् । करिब १५ दिन ओछ्यान नै पर्नुपर्यो । त्यसपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । चेक गराउँदा सामान्य मृगौलामा समस्या देखा पर्यो । त्यसपछि चिकित्सकका अनुसार औषधि सेवन गरिन् । त्यसपछि, बेला–बेलामा चेक गराउथिन् । सामान्य नै थियो । तर, गत साउनमा साह्रो विरामी भइन् । त्यसपछि, वीपी नै आइन् । त्यतिबेला चिकित्सकले अलिक धेरै मृगौला खराब भएको बताए । ‘साउनमा विरामी भएपछि भाउजुलाई घोपामा क्याममा ल्याउँदा अलिक धेरै किड्नी खराब भएको डाक्टरले भन्यो ।’ उनकी नन्द मेनुका राईले भनिन् ।

त्यसपछि, महिना पिच्छे आउनु पर्ने भएकोले धरान–१२ स्थित एक घरमा डेरामा बस्न थालिन् । ‘पत्रकार गंगा बरालको घर रहेछ ।’ उनले सुनाइन् । पत्रकार बरालले उनको समस्या थाहा पाएपछि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र जान सुझाइन् । त्यसपछि गत कार्तिकमा पत्रकार बरालकै सुझाबमा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा श्रीमान्को साथमा एक महिना उपचार गराइन् । चार पटक डायलोसिस गराइन् । तर, चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुको विकल्प नहुने बतायो । ‘तिम्रो त उमेर छ फेरेकै राम्रो हुन्छ डाक्टरले भने ।’ उनी सम्झीदै भन्छिन् । कमजोर आर्थिक अवस्थाकी उनको अहिले उपचारमा आर्थिक अभाव छ । सोमबारको सहयोगको लागि उनी नेपाल पत्रकार महासंघको सुनसरी शाखामा आएकी थिइन् ।

सामान्य खेती किसानीबाट गुजारा चलाउदै आएको उनको परिवारले हालसम्म २० लाख रुपैयाँ खर्च गरिसक्यो । तर, उनको अवस्था उस्तै, अहिले उनको परिवार आसुको भेलमा डुबेको छ । ‘उपचारको लागि धेरै पैसा लाग्दो रैछ, हामीत पहाडको ठाउँमा बेच्ने के छ, र भएको पनि कस्ले किन्छ र केही छैन् ?’ उनी भन्छिन् । एक छोरीकी आमा समेत रहेकी उनको उपचारको लागि श्रीमान् चिन्तामा छन् । उनी धरान–१९ जिमी चोकमा बहिनीको साथमा छिन् । वीपी प्रतिष्ठानमा उपचाररत छिन् । हालसम्म एक पटक डायलोसिस गराइन् । रिपोर्टमा क्रिटिनाइन ७.२ रहेको सुनाइन् । ‘वीपीमा त पालै पाइदैन, कसरी डायलोसिस गराउने गाह्रो छ ।’ पीडितकी नन्द मेनुकाले भनिन् । त्यसो त उनलाई आफ्नै नाता पर्ने भाइले मृगौला दिने समेत भएको छ । त्यसैको लागि श्रीमान् काठमाडौ गएको उनले बताइन् । तर, मृगौला फेर्नको लागि आर्थिक छैन् । उनी भन्छीन् ‘किड्नीत हाम्रो भाइ पर्नेले दिन्छु भनेको छ, तर, खोइ त पैसा ।’