पाँचथरः उत्तर–पूर्वी क्षेत्र च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगिको भरमा चलेको छ ।

नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको उक्त कार्यालय बषौंदेखि कार्यालय सहयोगीले मात्र हेर्दै आएका छन् । अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी सातको दरबन्दी रहेको सो कार्यालयमा कार्यालय सहयोगी मात्रै कर्मचारी छन् । सो कार्यालयमा आएका कार्यालय प्रमुख एक साता पनि नबसी काजमा अन्तै जाने गरेका छन् । कोही भने कार्यालयमा हाजिर पनि नभई सरुवा लिएर जाने गरेका छन् । तेह्रथुम घर भई हाल सो कार्यालय हेर्दै आएका लक्ष्मीप्रसाद खवासले कार्यालय सहयोगीका रुपमा काम गरेको १३ वर्ष भयो । यसबीचमा उनले कार्यालयमा सरुवा भएर आएका अधिकृतलाई साता दिनभन्दा बढी बसेको थाहा नभएको बताए ।

कायममुकामय अधिकृत रेणु ओझा मात्रै करीब सात महीना जति कार्यालयमा नै बसेर काम गर्नुभएको र त्यसपछि काज मिलाएर अन्यत्र गएको उनको भनाइ छ । त्यसपछि आएका अधिकृत महेन्द्रनाथ भट्टराई, मिनरलाल योङहाङ, किशोर विश्वकर्मा लगायतको नाम मात्र सुनेको केही साता दिनसम्म बसेको उनले बताए । कार्यालयमा आफू एक्लै भएकाले राष्ट्रिय झण्डा बिहान अफिसमा आएर राख्ने गरेको र बेलुकी थन्क्याउने गरेको उहाँले जानकारी गराए । उनले केन्द्रदेखि आएका चिट्ठीपत्र जिल्ला पठाउने मात्र काम गर्दै आएको छ ।

याङ्वरक गाउँपालिकाको उत्तर–पूर्वी क्षेत्रका वडा नं १, २ र ३ का च्याङथापु, फलैचा र ओयामका नागरिकलाई प्रशासनिक सेवासुविधा प्रवाह गर्न सीमा प्रशासन कार्यालय स्थापना गरिएको हो । सदरमुकाम फिदिमदेखि टाढा पर्ने सो क्षेत्रका नागरिकको मागअनुसार नै स्थापना गरिएको कार्यालयमा कर्मचारी नै नबस्दा यहाँका नागरिक मारमा परेका छन् । स्थानीयवासी बलराम शिवाकोटी सीमा प्रशासन जतिको महत्वपूर्ण कार्यालयमा कर्मचारी नहुँदा आफूहरुले सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको बताए ।

नागरिकता, राहदानीसँगै नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्र, बजार अनुगमन र एक नं पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने काम, कर्तव्य र अधिकार सीमा प्रशासन कार्यालयलाई छ । सीमा क्षेत्रमा हुँदै आएका जडीबुटीदेखि वन्यजन्तु चोरी–तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनले नै दिने अधिकार छ । तर कर्मचारी कार्यालयमै नबस्दा वर्षौंदेखि यी काम सीमा प्रशासनबाट प्रभावित हुँदै आएका छन् ।