इटहरी :  सुनसरीको बराह नगरपालिकामा अहिले पनि दश बर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेको पाइएको छ ।

युचेप नेपालका अभियन्ता रविन घिमिरेका अनुसार सुनसरी प्रकाशपुरका बासिन्दामा अहिले पनि बालविवाहको चलन हटेको छैन । पहिले पहिले यो क्षेत्र थारुहरुको बाहुल्यता रहेको ठाउँ हो । तर, अहिले भने पहाडे र मधेसी दुवैको उत्तिकै बाहुल्यता रहेको पाइन्छ । पहाडे समूदायले कृषि पेशामा क्रियाशिल रहेका छन् भने मधेशी समूदाय मजदुरी तथा कृषिमा आवद्व रहेका छन् ।
अभियन्ता घिमिरेले भने ‘हामीले सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिका र दुई गाउँपालिकामा वालविवाह विरुद्वका कार्यक्रमहरु सञ्चालन गरि सकेका छौँ, यसबाट निम्तिने समस्याहरु समाजलाई बुझाउन जरुरी छ ।’ उनले थपे ‘बालविवाह न्यूनिकरणका लागी हामीले जस्तोसुकै अवस्थामा पनि कदम चाल्नु आबश्यक देखिन्छ ।’

त्यसो त देशकै कुरा गर्ने हो भने केही बर्ष अगाडिको तथ्याङ्कअनुसार सबैभन्दा बढी बालविवाह बंगलादेशमा हुने गरेको देखिन्छ । बालविवाह गर्नेमा बिश्वभर नेपाल दशौँ स्थानतिर आइपुग्छ । बंगलादेशमा ६७ प्रतिसत, भारतमा ४७ प्रतिसत र नेपालमा ४१ प्रतिसत बालविवाह हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालको सप्तरीमा सबैभन्दा बढी वालविवाह भएको तथ्याङ्कमा देखिन्छ । कानुन अनुसार २० बर्षभन्दा अगाडि विवाह गर्नु बालविवाह हो ।

नेपालमा अहिलेपनि १४ बर्ष भन्दा कम उमेरमा ११.५ प्रतिसत बालविवाह हुने गरेको छ । त्यस्तै १५ बर्ष देखि १९ बर्षसम्मका उमेरका मानिसहरुले २९.५ प्रतिसत विवाह गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालविवाह गर्नेमा पुरुषभन्दा महिला अधिक मात्राले अगाडि रहेका छन् । ‘कम उमेरमा विवाह हँुदा महिलालाई भविष्यमा नकरात्मक रुपमा असर पर्ने देखिन्छ । महिलाको प्रजनन शक्ति विकास नभई सन्तान जन्माउँदा समेत असर पर्ने हुनाले २० बर्ष भन्दा कम उमेरमा सन्तान जन्माउँदा निकै असर पर्ने गरेको छ,’ सामाजिक अभियन्ता समेत रहेका घिमिरे भन्छन् ।

त्यसो त नेपालकै सप्तरी र सुनसरीमा मात्रै पनि वालविवाह भई कम उमेरमै बच्चा जन्माएको धेरै उदाहरणहरु रहेको उनले बताए । बिशेषगरी दलित बस्तीको डुम, चमार, दसाई, सरदार, सदा आदि जातीमा कम उमेरमै बच्चा जन्माउने गरेको पाइन्छ । त्यस्त,ै मधेशी जनजातिमा चन्द्रबंशी, कविरथ, मण्डल, थारु, मुसलमान, यादव, मेहता लगायतका जातीहरुले बालविवाह गरि कम उमेरमै बच्चा जन्माउने गरेको उनको भनाई छ । बालविवाह गरेर कम उमेरमै बच्चा जन्माउँदा स्वास्थ्यमा असर पर्ने, मानसिक असर पर्ने, पढाईमा असर पर्ने, ब्यक्तिगत विकासमा अवरोध आउने, बाल अधिकारको हनन हुने, घरेलु हिंसा निम्तिने जस्ता समस्याहरु उत्पन्न हुने कारणले गर्दा वालविवाह गर्नु अपराध रहेको घिमिरे सुनाउँछन् । यो बिषयमा चाँडै नै राज्यपक्ष र सरोकारवालाहरुको ध्यान जानु आवश्यक रहेकोमा उनको जोड थियो । यता महिला र पुरुष बीचको उमेर भने दश बर्ष भन्दा माथीको हुन नहुने कानुनमा उल्लेख गरिएको घिमिरे बताउँछन् ।

उनका अनुसार परम्परागत रुपमा यहाँका बासिन्दाको पेशा तथा जीविकोपार्जनको आधार माछा मार्ने भएकाले उनीहरुलाई कोशीमा माछा मार्ने छुट भएको उनले बताए । माछा मार्नका लागी उनीहरुले लाइसेन्स पाएपछि कुनै पनि अवारोध नहुने बताउँदै बन्यजन्तुको उचित नियन्त्रण नहुँदा यहाँका बासिन्दामा अहिले पनि उच्च जोखीममा बस्न बाध्य रहेको घिमिरे बताउँछन् । जंगली जीवजन्तुले लगाएको कृषिबाली समेत क्षति पु¥याउने गरेकाले आँफूहरुले पीडा भोग्नुपरेको स्थानीय हरिदेव उराउ बताउँछन् । ‘क्षति त हुन्छ नै तर राहत पाउने कार्यमा भने उति नै झन्झटिलो छ’ उनी भन्छन् । काम गर्ने अवसर पाए पनि निकै चुनौती रहेको उनले बताए ।

कोशीको समेत उच्च जोखीम रहेको उक्त क्षेत्रमा नियन्त्रणका लागि कुनै काम नभएको उनको गुनासो छ । नेपालको एक मात्र अर्ना संरक्षक क्षेत्र, नेपालको सबैभन्दा धेरै प्रजातीको चरा पाइने क्षेत्र, तराईबासी र पहाडे समुदायको बाहुल्यताको ठाउँ रहेको सुनसरीमा अहिलेपनि बालविवाह हुनु अत्यन्त गम्भीर कुरा रहेको छ । बालविवाह विरुद्वको पाईला चाल्नका साथै बालविवाह रोक्नका लागि बिशेष कार्यक्रमको आयोजना गरि जनचेतना फैलाउनु आवश्यक रहेको देखिन्छ ।