तेह्रथुम : तेह्रथुममा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या क्रमशः वृद्धि हुँदै गएको छ ।

जिल्लामा गतवर्षबाट सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै सो सेवा लिनेको संख्यामा वृद्धि भएको हो । हाल आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित १४ वटा स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ ।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३ सय ८४ जनाले मान्यताप्राप्त स्वास्थ्य संस्था र तालिमप्राप्त चिकित्सकहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो वर्ष साउनदेखि पौष मशान्तसम्मको छ महिनाको अवधिमा ३ सय ८४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले बताए । जिल्लामा यो सेवा सुरु भएपछि अहिलेसम्म ७ सय ५ जनाले सेवा लिएका छन् ।

गतवर्ष जिल्लाका ३ सय २१ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । जिल्लालाई २०७७ सालसम्ममा शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउने अभियान सहित सुरक्षित गर्भपतन सुरु भएको छोटो अवधिमा नै त्यतिका धेरै महिलाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । सुरक्षित गर्भपतन सेवा लिनेको संख्या वृद्धि हुनुले असुरक्षित गर्भपतन गर्नेको संख्या समेत घट्दैछ भन्ने संकेत मिल्छ ।
‘सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन, तर असुरक्षित गर्भपतनको विकल्प अवश्य हो, यसकारण पनि सुरक्षित गर्भपतनको दर वृद्धि हुनु राम्रो हो,’ आइपासका जिल्ला संयोजक भण्डारीले भने ।
हाल जिल्ला अस्पताल सहित सक्रान्तिबजार र बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र, चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ, आङबुङ, सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीहरुबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । चालु आर्थिक वर्षको छ महिनामध्ये साउनमा ६३ जना, भदौमा ६८ जना, असोजमा ६७ जना, कात्तिकमा ३९ जना, मंसिरमा ५८ जना र पुषमा ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्लालाई शुन्य असुरक्षित गर्भपतन जिल्ला घोषणा गर्न सबै गाउँसम्म सुरक्षित गर्भपतनबारे सचेतना फैलाउन अभियानकै रुपमा कार्यक्रमहरु भइरहेका छन् । अभियानलाई सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालले रणनीतिक योजना नै निर्माण गरी काम गरिरहेका छन् । जिल्लास्थित जिम्मेवार सरोकारवाला र महिला अधिकारकर्मीहरुले जिल्लालाई असुरक्षित गर्भपतनको समस्याबाट मुक्त जिल्लाको रुपमा चिनाउन तथा मातृ मृत्युदर कम गर्न प्रतिवद्धता समेत जनाइसकेका छन् ।
आइपास नेपालकै सहयोगमा जिल्लामा गतवर्षबाट यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढिकरण परियोजना समेत सन्चालन भइरहेको छ । पहिलो वर्ष बसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङ गाउँमामात्रै सन्चालन भएको परियोजना यो वर्ष भने जिल्लाका सबै गाउँपालिका र नगरपालिकाहरुमा लागू भएको छ ।

परियोजनाको सहजीकरण भने यो वर्ष म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिकामा संमृद्ध तेह्रथुमका लागि अभियानले र मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकामा सामुदायिक बन उपभोक्ता महासंघ फेकोफन तेह्रथुमले गरिरहेका छन् । सरोकारवालाहरुले सुरक्षित गर्भपतन सेवा सबै स्वास्थ्य चौकीहरुसम्म सर्वसुलभ र गोप्य रुपमा उपलब्ध गराइनुपर्ने सुझाव राख्दै आएका छन् ।