धरान(डेस्क): नेपालमै पहिलो पटक आज सुनसरीको चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन हुदैछ । महायज्ञ उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज चतराधाम आउने कार्यक्रम छ ।

दिउँसो करिब एक बजे राष्ट्रपति भण्डारीबाट महायज्ञ उद्घाटन गर्ने कार्यतालिका छ । त्यसपछि, भण्डारी सुनसरीकै श्रीलंका टापु जाने कार्यक्रम रहेको छ । आज उद्घाटन हुने महायज्ञ आगामी फागुन ७ गतेसम्म हुने आयोजकले जनाएको छ । महायज्ञको अवसरमा हिजो शुक्रबार चतराधाममा वृहत कलश यात्रा पनि आयोजना गरिएको थियो ।

हुन त सिचाई आयोजनाको जग्गा कब्जा गरेर धार्मिकस्थल बनाएको र त्यसले आयोजनाको भविष्य अन्योलमा पारेको भन्दै विवाद पनि उठ्ने गरेको छ । चतरास्थित सिचाईको जग्गामा समाधिसिद्ध सद्गुरुदेव महायोगी सिद्धबाबा डा.वैष्णव कृष्णदास जी महाराज र अर्का बालसन्तले आश्रम बनाएका छन् । यी दुवैको आश्रम हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्दै गएको छ । यो महायज्ञ महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्री रामानन्दचार्य सेवा पिठ, चतराधाम हो । आयोजक संस्थाको संरक्षक सिद्धबाबा महायोगी कृष्णदासजी महाराज हुन् ।

के हो तारक ब्रह्म महायज्ञ ?

51459407_1899594046834145_8

यो महायज्ञ नेपालमा अहिलेसम्म भएकै छैन भने भारतमा पनि ७ सय ५ बर्षअघि मात्र एक पटक आयोजना भएको सेवापिठका अध्यक्ष गणेश सुब्बा बताउँछन् । उनका अनुसार यो महायज्ञ अश्वमेघ भन्दा पनि ठुलो हो । यो महायज्ञको लागि तिल ६० हजार किलो, त्यसको आधा चामल ३० हजार किलो, चालमको आधा जौ १५ हजार किलो आवश्यक पर्छ । यस्तै, चिनी १० हजार किलो, ध्यु १० हजार किलो(सुद्ध लोकल गाईको) र विभिन्न जडिबुटी मिश्रम गरेर विधि पुर्वक होम गरिने अध्यक्ष सुब्बाले बताए । '१२ करोड होम, ४ करोड अर्जन गरिन्छ । अनुष्ठानको लागि १ बर्षदेखि १ अर्ब ६० करोड जप गरी सकेका बसेका १२ सय साधकहरु छन्,'उनले भने ।

तारकब्रह्म महायज्ञको महत्व

51998507_1899594196834130_5

यो महायज्ञले आध्यामिक लाभ त मिल्छ नै, साथै बैज्ञानिक महत्व पनि रहेको आयोजकको दाबी छ । महायज्ञमा ती अन्नहरु जलाउदा निस्केको धुवाले प्रचुर अक्सिजन दिने सुब्बा बताउछन् । 'त्यत्रो अन्न जलाउनुको अर्थ यसबाट निस्केको धुवाले प्रचुर अक्सिजन दिन्छ । बाक्लो घनत्व बढेर बायुमण्डलमा प्रवेश हुन्छ, र सुर्यको हानिकारक विकिरण रोक्छ,'उनी भन्छन्,'यसले वातावरण सुद्धि हुन्छ, अनावृृष्टि, अतिवृष्टि हुदैन । जडिबुटी, बाली, बनसपति फष्टाउछ ।'

अध्यक्ष सुब्बाका अनुसार महायज्ञबाट निस्केको धुवा र अक्सिजनले पृथ्वीको ४ हिस्सामध्ये ३ हिस्सामा प्रभाव पर्छ । जुन एक हजार बर्षसम्म वायुमण्डलमा प्रभाव परिरहन्ने उनी बताउँछन । महायज्ञ आयोजना गर्न साधक, चेला, दिक्षित व्यक्तिहरुको सहयोगबाट आयोजना हुने उनले बताए । 'अनुष्ठानमा १२ सय त साधकहरु छदैछन्, कति आउछन् आउछन् । नेपालमा यस्तो यज्ञ फेरी हुदैन,' उनले भने,'भारत जस्तो देशमा त ७०५ बर्षअघि एक पटक भएको थियो, यहाँ त फेरी हुने सम्भावना छैन ।'

51783731_1899594336834116_5