मोरङ : जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् ।

भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् ।

मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसकेको छ । तिनमा सुन्दरहरैंचाको हसिना र वागदेवी सिमसार, उर्लावारीमा रहेका सालबारी, वेतेनी र सुनझोडा सामुदायिक वन सिमसार, पथरीमा रहेका भुल्के, जालपादेवी, श्रीजङ्गा, बाघेखाडी र सुन्दर सामुदायिक वन सिमसार पर्दछन् । मधुमल्लाका कतले बेतिनी र देवीथान सिमसार रहेका छन् । त्यसैगरी वेतना सिमसार (बेलवारी), झलझली सिमसार (डाँगीहाट), कानेपोखरी भलुवा सिमसार (वयरवन), धनपाल गढी सिमसार (कसैनी) रहेका छन् । यसबाहेक बजरङ सिमसार (ग्रामथान तेतरिया), सिमसार (पथरी), राजारानी सिमसार (लेटाङ), र गरापानी सिमसार लेटाङ छन् ।

दिगो संरक्षणका लागि यी क्षेत्र वरिपरिको वन जङ्गल र प्राकृतिक भू–उपयोगलाई विनाश एवं परिवर्तन नगरी हामीले गर्ने भौतिक विकासका क्रियाकलापलाई वातावरणमैत्री कायम गर्दै सिमसारको संरक्षण गरिनु अपरिहार्य भएको छ । विद्यमान कुवा, दह, पोखरी र सिमसारमा जम्मा हुने पानीको मुख्य स्रोतको रुपमा रहेका बेतना सिमसार, हसिना सिमसार, धनपालथान ऐतिहासिक पोखरीलगायतका जिल्लाभरि रहेको सानाठूला पानीका महत्व बोकेका सिमसार क्षेत्रको वरपरको वन जङ्गलको दिगोे संरक्षण र व्यवस्थापनको खाँचो औँल्याइएको छ ।
मोरङ जिल्लाअन्तर्गत रहेका सिमसारको संरक्षण र प्रवद्र्धन गर्नका लागि डम्बर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सिमसार संरक्षण तदर्थ समिति निर्माण भएको छ ।