ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “‘सेटिङ’ मा खोला दोहन” शीर्षकको समाचार छापिएको छ । मापदण्डभन्दा बाहिर गएर खोला उत्खनन् भइरहेको अनुगमन टोलीले फेला पारेको छ । शुक्रबार झापाको मेचीनगर नगरपालिकास्थित निन्दा खोलामा गरेको अनुगमनमा टोलीले नगरपालिका र वडाको सेटीङमा उत्खनन् भइरहेको फेला परेको हो । झापा जिल्ला समन्वय समितिले प्रयोग गरेको अनुगमनमा खोलाबाट डोजर प्रयोग गरेर उत्खनन् गरिरहेको भेटिएको थियो । प्रारम्भिक वातावरणीय प्रशिक्षण –आईईई) गर्दा नै सम्बन्धित निकायले तोकेको मापदण्ड र रेखाङ्कन अनुरुप मात्रै डोजर प्रयोग गर्न पाउने प्रावधान छ । त्यतिमात्रै हाइन, आईईईमा स्पष्टसंग वातावरणविज्ञ राखेर मात्रै निकाल्न पाउने व्यवस्था रहेको छ । तर, निन्दा खोलामा त्यस्तो कुनै पनि प्रकारको मापदण्ड पालना गरिएको छैन । र, सम्बन्धित निकाय मेचीनगर नगरपालिकाले पनि डोजर प्रयोग गरी उत्खनन् गरीरहँदा पनि चासो देखाएको छैन ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “श्रीमतीको जीवन बचाउन राईको आग्रह” शीर्षक अर्को समाचार पनि छापिएको छ । धरान १३ स्थित अमर बस्तीस्थित सुकुम्बासी टोलमा बस्दै आएका चन्द्रबहादुर राईले उनकी श्रीमती कुमारी शुब्बा ्को जीवन बचाइदिन आग्रह गरेका छन् । आफन्त कोही पनि नभएको बताउने सुकुम्बासी बस्तीमा बस्दै आएका चन्द्रबहादुर यतिबेला श्रीमतीको उपचारका लागि छटपट्याइरहेका छन् । मुटुमा ४ वटा प्वाल र मासु पलाएको पाइएपछि नेपाल अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र धरानको सहयोगमा २०७४ माघमा शहिद गंगालाल राष्ट्रिय हृदय केनद्र काठमाण्डौमा शल्यक्रिया गराएर फर्केका राई यतिबेला शल्यक्रिया गर्दा बाधिएको करङ हल्लिन थालेपछी पुनः शल्यक्रियाका लागि खर्च जुटाउन नसक्दा छट्पट्याइरहेका हुन् । सानैदेखि मुटुमा समस्या देखापरेको श्रीमती कुमारीलाई करिब दश वर्ष अगाडि श्वास–प्रश्वासमा समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गर्न लादाँ डाक्टरले मुटुमा चारवटा प्वाल र बाहीरी भागमा मासु पलाएको बताउदैँ काठमाण्डौँ स्थित गंगालाल हृदय रोग केन्द्रमा जान भने पनि आर्थिक अभावका कारण काठमाण्डौँ जान नसक्दा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लादाँ पनि सोही कुरा बताएको थियो ।

नागरिक पूवेर्ली : आजको नागरिक पूर्वेली दैनिकमा “योजना छ कार्यान्वयन छैन” शीर्षकको समाचार छापिएको छ । विराटनगरको फोहोर व्यवस्थापन महानगरका लागि टाउको दुखाइको विषय बनेको छ । नगरमा फोहोर नउठेको देखि लिएर फोहोर फाल्ने ठाउँ अभावमा प्रदुषण फेलिएका गुनासा दिनहुँजसो आउने गर्दछन् । व्यवस्थित ल्याण्डफिलसाइड नभएका कारण फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखिएको छ । महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाटै मोहोर कमाउने योजना पनि नबनाएको हैन । पटक–पटक मोहोर बनाउने योजना ल्याएको महानगरले मोहोर कमाउने भने सकेको छैन । मोहोर बनाउने योजनाले उल्टै मोहोर सिध्याउने गरेको छ । महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि फोहोरबाट उर्जा निकाल्ने योजना ल्याएको पनि धेरै पटक भइसकेको छ । फोहोरबाट उर्जा निकाल्ने विषयमा नै महानगरका प्रमुख भीम पराजुलीको नेतृत्वमा केही दिन पहिलेमात्रै महानगरको टोली चीन पुगेर आएको छ । चीनको भ्रमणपछि उत्साहित बनेको महानगरपालिकाले विराटनगरको मात्रै नभई ग्रेटर विराटनगरअन्तर्गतका गाउँपालिका, नगरपालिका र उपहानगरपालिकाको फोहोर संयुक्त रुपमा व्यवस्थापन गर्ने तयारी थालेको छ ।


उद्घोष : आजको उद्घोष दैनिकमा “सामुदायिकमा विज्ञान र प्रविधि पढाई” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराईने बताएका छन् । राष्ट्रिय युवा परिषदद्धारा शुक्रबार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलनको दोश्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराईने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरीने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले प्रििवधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धी हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भईसकेको जानकारी दिए । दक्ष युवा वैदेशिक रोजगारीमा जाने परिपाटी गर्न सरकारले वातावरण गरिरहेको बताउँदै उनले मुलुकको विकासमा आफ्नो क्षमता, सीप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मुल्यांकन गरिने विश्वास दिलाए ।