झापा: संचार जगतमा नेपालले पछिल्लो एक दशक यता ठुलै फड्को मारेको छ । मोबाइल सेवा प्रदायक कम्पनीहरु नेपालमा थपिएसँगै प्राय धेरै नेपालीका हात हातमा मोबाइल छ । तर सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवाबारे सेवाग्राहीको धारणा निक्कै फरक देखिएको छ ।

बिभिन्न खालका समस्या दोहोरिने तेहेरिने भएका कारण पछिल्लो समय सर्बसाधारणले टेलिकमलाई नगद लिने तर उधारो सेवा दिने निकाय भन्ने गरेका छन् । सरकारी स्वामित्वमा रहेको सबैभन्दा ठूलो संचारप्रदायक निकाय बार्षिक अर्बौ रुपैयाँ मुनाफा कमाउछ तर यसको गुणस्तरमा सर्बसाधारण सन्तुष्ट छैनन् । मोबाइल टेलिफोन सर्वसाधारणको दैनिकी चलाउने एउटा महत्वपुर्ण साधन बनिसकेको छ, तर यसको गुणस्तरमा भने सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । परिणाम स्वरुप पछिल्लो समय नेपाल टेलिकमप्रति सेवाग्राहीको विश्वास घट्दो छ ।

व्यवस्थापकीय कमजोरी र सुस्त कर्मचारी प्रशासनका कारण सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन् । कहिले फोन नलाग्ने, कहिले गलत जानकारी दिने नेपाल टेलिकमको पुरानै समस्या बनिसकेको छ । स्विच अफ नगरिएको अवस्थामा स्विच अफ गरिएको छ भन्नु, त्यसैगरी अति आवश्यक परेका बेला सेवा नै उपलब्ध नहुनु यसका मुख्य समस्या हुन् । पछिल्ला दिनमा निजी दुरसंचार कम्पनीसँग प्रतिष्पर्धामा उत्रन टेलिकमलाई समस्या नहुनुपर्ने हो तर कर्मचारीको अल्छीपना र वेवास्थाका कारण सेवाग्राही मारमा पर्ने गरेका छन् । केहि दिन यता नेपाल टेलिकमको सेवा पूर्वका जिल्ला लगायत अन्य स्थानहरुमा उथपुथल भईरहेको छ । फोन लाग्ने, घरी नलाग्ने समस्या उस्तै छ । टेलिकम भने बर्षेनी मुनाफा बढीरहन्छ, तर सेवाको गुणस्तर जस्ताको तस्तै रहनुका पछाडिका केही खास कारणहरु रहेको हुनसक्ने आशंका सेवाग्राहीको छ ।

आफ््नो एकाधिकार भएको कारण सुस्ताएको टेलिकमले बलियो प्रस्पिर्धी भित्रीरहेका छन् भन्ने हेक्का राख्न आवश्यक छ । अर्काेतर्फ गुणस्तर जाँच संयन्त्रको विकास गर्न तत्काल आवश्यक छ । सेवाग्राहीको असन्तुष्टिको सम्बोधन तत्काल गर्न सक्ने अवस्था र सधै फाइदा भएपनि गुणस्तर सुधार नगरी नगद लिएर उधारो सेवा बाढ्ने क्रम टेलिकमले रोक्नुपर्छ । होइन भने दुरसंचार सधै दुरकै अर्थात जनताको पहुचभन्दा टाढाको संचारमा सिमित हुने निश्चित छ ।