धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्टाफ नर्सको संख्या घट्दै गएर उपचार सेवा नै प्रभावित छ । यो समस्या समाधान गर्नुपर्ने जिम्मेवारी बोकका पदाधिकारीहरु भने आफ्नो पद जोगाउन र अरुलाई पदबाट हटाउने खेलमा नै ब्यस्त छन् ।

पछिल्लो समय वीपी प्रतिष्ठान धरानको अवस्था झनै जटिल बन्दै गइरहेको छ । पदबाट हटाइएको उपकुलपति डा.राजकुमार रौनियारले सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश पाएर पदमा फर्किएका छन् भने स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निमित्त उपकुलपतिको जिम्मेवारी दिएका रेक्टर गुरु खनाल पनि यथावत छदैछन् । मन्त्री, पदाधिकारीहरु पदबाट हटाउने र जोगाउने खेलमा केन्द्रीत हुदा अस्पताल सेवातर्फ भने कसैको पनि ध्यान पुगिरहेको छैन ।

पछिल्लो समय प्रतिष्ठानको जागिर छोड्ने क्रम बढेपछि दरबन्दी अनुसार पनि नर्सको संख्या छैन । प्रतिष्ठानमा नर्सको दरबन्दी नै आवश्यकता भन्दा कम छ । भएका नर्सहरुले पनि काम छोडेपछि उपचारमा नै कठिनाइ भइरहेको चिकित्सकहरुले बताएका छन् । नर्सको अभावले सबैभन्दा बढी असर आकस्मिक कक्ष, आइसियु र डाइलाइसिस सेवामा परेको छ । नर्सिङ सुपरभाईजर हरिकुमारी राईका अनुसार नर्सहरुको अभावले सातामा पाउने एक दिन विदामा पनि काम सिस्टरहरुले काम गरिरहेका छन् । यसले नर्सहरुको स्वास्थ्यमा पनि समस्या देखा पर्न थालेको उनले बताइन् । ‘सिस्टरहरुले विरामी हुँदा पनि विदा बस्न पाइरहेका छैनन्, औषधी खादै डिउटीमा छन्,’सुपरभाइजर राईले भनिन्,‘बच्चा भएका सिस्टरहरुलाई झनै गाह्रो छ, कामको चापले बच्चालाई दुध पिलाउन पनि फुर्सद छैन ।’

दरबन्दी ६०१, संख्या ४ सय पनि छैन

प्रतिष्ठानमा कुल ६ सय १ जना स्टाफ नर्सको दरबन्दी हो । यो दरबन्दी ५ सय बेडको अस्पताल हुँदाको हो । अहिले प्रतिष्ठानमा ७ सय ५० भन्दा बढी बेड संख्या विस्तार भइसकेको छ । त्यसैले यो दरबन्दी संख्या पनि आवश्यकता भन्दा कम हो । तर, प्रतिष्ठानमा हाल नर्सको संख्या भएकै दरबन्दी अनुसार पनि छैन ।

bp-emergency-crowd-1

गत फागुन महिनासम्म ४ सय २ जना मात्र नर्सहरु कार्यरत रहेको तथ्यांक छ । त्यसयता पनि केही नर्सहरुले काम छोडेकोले अझै कम भएको प्रतिष्ठानका मेट्रोन एवं प्रोफेसर गयानन्द मण्डलले जानकारी दिए । ‘इर्मेजेन्सी र आइसियुको लागि धेरै नै समस्या भइरहेको छ । विदा पाएका छैनन्, नर्सहरु आफै विरामी हुन थालेको छ,’मेट्रोन मण्डलले भने,‘मानसिक तनावमा काम गर्नुपर्दा विरामीलाई गुणस्तरीय सेवा प्रवाह प्रभावित छ ।’

मेट्रोन मण्डलका अनुसार प्रतिष्ठानमा ४० वटा वार्ड छ । हाल प्रतिष्ठानमा भएको स्टाफ नर्सको संख्याअनुसार एउटा वार्डमा १० जना मात्र नर्सको संख्या पुग्छ । यो संख्याले इर्मेजेन्सी र आइसियुमा ३ सिफ्टमा चलाउनै नसकिने मण्डल बताउँछन् । प्रतिष्ठानको इर्मेजेन्सीमा क्षमताभन्दा दोब्बर विरामीको चाप हुन्छ । विरामीको अत्यधिक चापले इर्मेजेन्सीमा भुइमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता छ । त्यहाँ ५० जना नर्सको दरबन्दी छ, तर हाल ३८ जना मात्र कार्यरत छन् । त्यसैले त्यहाँ अन्यत्र वार्डबाट नर्सहरुलाई विदा बस्न नदिई डिउटीमा खटाउनु परिरहेको छ । ‘यति संख्याले इर्मेजेन्सी, आइसियुमा ३ सिफ्ट कसरी चलाउनु ? सम्भवै छैन,’उनले भने,‘विदा पनि बस्न नपाउदा र कामको चापले नर्सहरु आफै विरामी छन् । यसरी त उपचार सेवा पनि प्रभावित छ । हामी नै सन्तुष्ट छैनौ भने विरामीहरु कसरी हुन्छन् ?’

bpkihs

विभिन्न विभागले नर्स पुगेन भनेर माग गरिरहेको मेट्रोन मण्डल बताउँछन् । यस्तै, वार्डहरुमा विरामी र तिनका आफन्तहरुले नर्सहरुले राम्रो रेखदेख नगरिदिएको गुनासो दिनहुँ गरिरहेका छन् । यो सबै नर्स संख्या कमीको कारण भएको मण्डलको भनाई छ । उनका अनुसार सामान्यतया एक जना नर्सले मात्र ६ जना विरामी हेर्नुपर्ने हो । तर, प्रतिष्ठानमा एक जनाले कुनैमा १८ जना, कुनै वार्डमा ३४ जनासम्म विरामी हेर्नुपरिरहेको छ । ‘विरामीसँग हरदम र प्रत्यक्ष रहने नर्स नै हो, तर एक जनाको भागमा दोब्बर, तेब्बर विरामी परेपछि कसरी राम्रो काम गर्न सक्छ ?’नर्सिङ सुपरभाइजर राईले भनिन् ।

प्रतिष्ठानमा ८ वटा डाइलाइसिस गर्ने मेशिन छ । नर्स नभएर अहिले ६ वटा मात्र सञ्चालनमा छन् । त्यहाँ ३ सिफट्को लागि कम्तीमा २४ जना नर्स चाहिन्छ, तर अहिले १२ जना मात्र छन् । ती नर्सहरुले चौबिसै घण्टा खटिएर डाइलाइसिस सेवा दिइरहेका छन् । सुपरभाइजर राईका अनुसार विगतमा दिउँसो मात्र डाइलाइसिस सेवा दिइन्थ्यो, अचेल नर्सहरुले रातमा पनि खटिएर सेवा दिइरहेका छन् । ‘जति छौ, दिनरात खटिएर भएपनि सेवा दिइरहेका छौ । एउटा मेशिन कम चल्यो भने २४ घण्टामा ३ जनाले डाइलाइसिस सेवा नपाउनु हो भनेर सिस्टरहरु खटिरहेका छन्,’उनले भनिन् ।
...................................
विवादले नियुक्ती प्रक्रिया रोकियो

नर्सको अभावले अस्पताल सेवा नै प्रभावित हुने अवस्था भएपछि नयाँ नियुक्ती प्रक्रिया अघि नबढेको भने होइन । तर, पदाधिकारीबीचको द्वन्द, स्वास्थ्य मन्त्री र उपकुलपतिबीचको मतभेदले नियुक्ती प्रक्रिया बीचैमा तुहिएको थियो । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दैनिक प्रशासनिक कामबाहेक दीर्घकालिन निर्णय, नियुक्ती, आर्थिक कारोबारलगायत काम नगर्न तत्कालीन उपकुलपनि डा.राजकुमार रौनियारलाई पत्राचार गरेपछि नियुक्ती प्रक्रिया रोकिएको थियो । प्रतिष्ठानमा छानबिन चलिरहेको भन्दै मन्त्री यादवले रौनियारलाई महत्वपुर्ण निर्णय गर्न रोक लगाएका थिए । 

प्रतिष्ठानले भने १ सय २० जना स्टाफ नर्सको माग गरेर फागुन २५ गते लिखित जाँच लिने तयारी गरेको थियो । प्रतिष्ठानमा १ हजार ३ सय ६१ जनाले फारम भरिसकेका थिए । ‘विरामीको उपचारमा प्रत्यक्ष असर पर्ने नर्सको अति आवश्यकता छ, के कसरी हुन्छ, नियुक्ती प्रक्रिया खुलाउनुपर्छ, नत्र झन् समस्या हुन्छ,’मेट्रोन मण्डलले भने । स्वास्थ्यमन्त्री यादवले प्रतिष्ठानमा धेरै समस्या भएको र सुधार गर्नकै लागि सिनेटले बर्खास्तको निर्णय गरेको दाबी गर्दै अब चाडै समस्या हल हुदै जाने बताए । उनले भने,‘अब बिस्तारै सबै ठिक हुन्छ । नर्स पनि लिन्छौ, जे जे समस्या हो, समाधान गर्दै जान्छौ ।’