धरान:खास व्यवसायीलाई साथमा लिएर कपी,झोला र पोशाकमा अभिभावक तथा विद्यार्थीलाई ठुलो आर्थिक भार बोकाएकोप्रति नेपाल विद्यार्थी संघले निजी विद्यालयहरुको संस्था प्याब्सन, एन प्याब्सन र एसिसि धरानको पनि ध्यानाकर्षण गराएको छ ।

नेविसंघ, महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले ३ वटै संस्थालाई पत्र पठाउदै निजी विद्यालय र स्टेशनरी व्यवसायी तथा पुस्तक व्यवसायीहरुको संलग्नतामा विद्यालयको पहिचान खुल्ने शैक्षिक सामग्रीहरु एकात्मकढंगले खास व्यवसायीबाट मात्र बिक्री वितरण भइरहेकोप्रति ध्यानाकर्षण गराएको हो । ईकाई समितिका कार्यवाहक अध्यक्ष दोर्ची शेर्पाले हस्ताक्षरित पत्रमा चैत २७ गते स्टेशनरी तथा पुस्तक व्यवसायी महासंघ,धरान ईकाईसँग त्यसखालको सामग्री उत्पादन तथा बिक्री पुर्णरुपमा बन्द गर्ने सहमति भएको खुलाउदै त्यस्तो कार्य पुर्णरुपमा बन्द गराउन आफुमा आवद्ध विद्यालयहरुलाई आवश्यक निर्देशन दिन पनि अनुरोध गरिएको छ ।

पत्रमा संस्थागत सहयोग र सहकार्यको अपैक्षासहित पठाइएको पत्रमा संघले यो सवालमा जस्तो सुकै परिस्थितिको वावजुद पनि कडाईका साथ अघि बढ्ने पनि उल्लेख गरिएको छ ।‘३ वटै संस्थालाई आज ध्यानाकर्षण पत्र पठाएका छौ, हामी केही दिन उहाँहरुको जवाफ, प्रतिक्रिया पर्खन्छौ,’कार्यवाहक सभापति शेर्पाले भने,‘शैक्षिक विकृतिलाई अन्त्य गर्न धरान उपमहानगरपालिकालाई पनि समन्वयको आग्रहसहित आइतबार पत्र पठाउछौ । त्यहाँ शिक्षा समिति छ, सहकार्य गरेर नै यो बेथितिको अन्त्य हुनुपर्छ ।’

nebi-sangh

यसअघि,बुधबार साँझ नेवि संघ र स्टेशनरी व्यवसायीबीचमा ३ बुँदे सहमति भएको थियो । स्टेशनरी व्यवसायीहरुले विद्यार्थी, अभिभावकलाई आर्थिक भार परेको भन्दै विद्यालयको पहिचान अंकित शैक्षिक सामग्री उत्पादन र बिक्रीतिवरण बन्द गर्ने लिखित सहमति गरेका थिए । स्टेशनरी व्यवसायीहरुसँग सहमति भएपछि नेवि संघले विद्यालय सञ्चालकहरुको पनि ध्यानाकर्षण गराएको हो । विद्यालय सञ्चालकहरुले नयाँ शैक्षिक सत्रमा पुस्तक, कपी र विद्यार्थीको ड्रेस एउटै पसलबाट मात्र खरीद गर्ने सम्झौता गरेर मोटो कमिशन लिदै आएका छन् । यसले अभिभावकहरुलाई आर्थिक मार पर्ने गरेको भन्दै नेवि संघले यो विकृतिविरुद्ध अभियान छेडेको छ ।

निजी विद्यालय र स्टेशनरी व्यवसायीबीच कमिशनको खेलले गर्दा निजी विद्यालयहरुले निश्चित बुड डिपोबाट मात्र कपी खरीद गर्न अभिभावकहरुलाई बाध्य पार्थे । यसको लागि ती विद्यालयको नाम प्रिन्ट भएको कपी खरीद गर्न अभिभावकहरु तोकिएको एउटा स्टेशनरी पसल वा बुक डिपोमै पुग्नुपथ्र्यो । जसले गर्दा अभिभावकहरुले घर नजिकैको पसल वा चोकमा कपी खरीद गर्न पाउदैन थिए । अभिभावकहरु विद्यालयसँग सेटिङ भएको बुक डिपोमै पुगेर भनेको मुल्य तिरेर कपी खरीद गर्नुपथ्र्यो । बुक डिपोबाट विद्यालय सञ्चालकहरुले कमिशन पाउथे ।

नयाँ शैक्षिक सत्र शुरु हुनै लाग्दा निजी विद्यालय सञ्चालक र स्टेशनरी व्यवसायीबीचमा मात्र होइन, विद्यालय र कपडा पसल, पुस्तक प्रकाशन गृहबीचमा पनि सेटिङ र कमिशनको खेल हुन्छ । विद्यालयका सञ्चालकहरुलाई जुन प्रकाशन गृहले बढी कमिशन दिन्छ, त्यसैको पुस्तक विद्यार्थीहरुलाई खरीद गर्न लगाउछन् । यो कमिशनको खेल हरेक बर्ष हुन्छ । त्यसैले हरेक बर्ष प्रकाशन गृह र पुस्तक पनि परिवर्तन हुनेगर्छ । यस्तै, विद्यार्थीहरुको युनिफर्म(ड्रेस) र झोलामा समेत कमिशनको खेल हुन्छ । निश्चित कपडा पसलसँग मिलेमतो भएकोले त्यहीबाट मात्र कपडा किन्नुपर्ने बाध्यता अभिभावकहरुको हुन्छ ।