ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “घर फर्किन खोज्दा नाङ्गै बनाएर यातना” शीर्षकको समाचार छापिएको छ । रोजगारको लागि दुबई गएका मोरङको सुन्दरहरैचाँ नगरपालिका ५ लाटीझोडाका दुइ युवालाई नाङ्गै बनाई त्यहाँको कम्पनीले मान्छे लगाएर यातना दिने गरेको पाइएको छ । करिब ७ महिनाअघि एजेण्ट महेन्द्र तामाङमार्फत् काठमाण्डौँस्थित “बाइटपल मेनपावर” ले दुवई पठाइएका २१ वर्षीय पुष्पमणि गौतम र २३ वर्षीय रविन पराजुलीलाई कम्पनीका मान्छे लगाएर दिनहुँ कुटपिट गरेर शरिरभरी शरीरभरी चोटपटक लागेको फोटो र भिडीयो ब्लाष्टले प्राप्त गरेको छ । विदेश पठाउने एजेण्ट र म्यानपावरले भनेअनुसारको काम र तलब नदिएपछि घर फर्किने भन्दा कम्पनीका मालिकले बन्धक बनाएर कुटपिट गर्ने गरेको उनीहरु बताउँछन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “नागरिकता लिनेको भीड” शीर्षकको समाचार छापिएको छ । नागरिकता वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले लागू गरेको टोकन प्रणालीमै बिचौलिया प्रवेश गरेका छन् । जन्मका आधारमा नेपाली नागरिकता पाएका बाबु–आमाका सन्तानलाई वंशजको नागरिकता बनाउने बाटो खुल्ला भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले भीडलाई व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरेको थियो । तर सो टोकननै किनबेच हुने गरेको तथ्य भेटिएको छ । लामो समयदेखि बन्द भएको नागरिकता वितरण खुलेको केही दिनमै बन्द भएको थियो । तर वैशाख ३ गते सर्वोच्च अदालतको पूर्ण इजलासले रिट खारेज गरेपछि खुला भएको नागरिकता वितरणमा बिचौलियाले टोकन किनबेच गर्ने गरेको तथ्य भेटिएको हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “नेवि सङ्घ र जनता स्कुलबीच सहमति” शीर्षकको समाचार छापिएको छ । इटहरीको जनता माध्यमिक विद्यालय र नेपाल विद्यार्थी सङ्घबीच सहमति भएको छ । जनता माध्यमिक विद्यालयले शुरु गर्न लागेको अङ्ग्रजी माध्यममा हुने शिक्षण प्रक्रियाको विषयमा नेवि सङ्घले विरोध जनाएको थियो । त्यसमा बिहीबार सहमति भएको हो । सहमतिनुसार अब प्रत्येक कक्षामा थप १० जना विद्यार्थीलाई अङ्ग्रेजी माध्यममा भर्ना लिन विद्यालय व्यवस्थापनलाई अनुरोध गर्ने सहमति भएको छ । विद्यालयका प्रध्यनाध्यापक छत्रपति ढुङ्गेल र नेवि सङ्घ सुनसरी जिल्ला सभापति मन्दीप भट्टराईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

औजार : आजको औजार दैनिकमा “धरानको सुपारी बंगालसम्म” शीर्षकको समाचार छापिएको छ । झापा जिल्लापछि सुपारी उत्पादनमा सुनसरीको धरान पानबारी उर्वर भुमिको रुपमा चिनिन थालेको छ । साविकको पाँचकन्यामा किसानले व्यवसायिक रुपमा नै सुपारी खेती गरेर व्यवसायिक बन्न थालेका छन् । परम्परागत रुपमा करेसाबारीमा लगाउँदै आएको सुपारीखेती अहिले भारतसम्म निर्यात हुन थालेपछि किसानहरुले हौसिएर सुपारी खेतीलाई व्यवसायिक रुपमा खेती गर्न थालेका हुन् । पाँचकन्यामा उत्पादन हुने सुपारीलाई भारतसम्म पुर्याएर विक्री वितरण गर्नको लागि धरान ६ पानबारीमा संकलन केन्द्र नै स्थापना भएको छ ।