ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पानी अभावले गाउँ रित्तिँदै” शीर्षकको समाचार छापिएको छ । पानीका मुहान सुक्न थालेपछि उदयपुरका स्थानीय बासिन्दाले तीव्र रुपमा गाउँ छाड्न थालेका छन् । अन्नबाली फलाउन र दैनिक उपभोगका लागि पानी अभाव हुन थालेपछि वर्षेनी गाउँ छाडेर पानीको स्रोत भएका ठाउँतिर बसाइ सर्ने क्र तीव्र छ । उदयपुरको रौतामाई गाउँपालिका ३ का सोरखु, आदामारा, बेलबोटे, चन्ढौटे, विमिरे, सालघारीलगायतका बस्तीबाट हरेक वर्ष बसाइ सरेर जानेको संख्या बढ्दो छ । पानीको मुहान सुकेर धारामा पानी आउन छाडेपछि रौतामाई २ का भुटिया, कमेरे, रामेडाडा र कटारी नगरपालिका १४ का रमाइलो डाँडा, भदौरे, रामा गाउँ र चौदण्डीगढी आसपासका क्षेत्रमा समेत समस्या उस्तै छ । गाउँमा दुइवटा खानेपानी योजनाका धाराहरु छन् । २०५३ सालमा सिप्लिङ खानेपानी योजना र २०५६ सालमा सिमले खानेपानी योजनाबाट गाउँले लाभान्वित भएका थिए । तर भुकम्प र विकासका कामले पानीको मुहान सुक्न थालेपछि अहिले योजनाका ट्याङ्कीमा कमिला खेलिरहेका छन् भने धारामा माकुराले जाल हान्दै छ । 
 
नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “कचनकवलका जनप्रतिनिधि फरार” शीर्षकको समाचार छापिएको छ । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने झापा कचनकवलका जनप्रतिनिधि फरार भएका छन् । जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पक्राउ पुर्जी दिएको थियो । पक्राउ पर्ने डरले सबै जनप्रतिनिधि फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले घटनामा संलग्न भएका अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताए । उनले खोजी जारी राखिएको उल्लेख गरे । अदालतले कचनकवल गाउँपालिका २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासचिव हरिप्रसाद गौतम, वडासदस्य धनबहादुर गुरुङ, कर्मचारी खगेन्द्र प्रसाद खतिवडा तथा स्थानीय कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहाललाई पक्राउ गर्न भनेको थियो । सबैको नाम उल्लेख गरेर प्रहरीलाई पक्राउ पुर्जी थमाएको छ । 
 
औजार : आजको औजार दैनिकमा “चिया मजदुर सडकमै सुतेपछि सडक बन्द” शीर्षकको समाचार छापिएको छ । झापामा आन्दोलनरत चिया मजदुरले आन्दोलनलाई थप सशक्त र आक्रामक बनाइरहेका छन् । मङ्गलबार आन्दोलनको ३८ औँ दिनमा मजदुरले श्रम ऐन लागु गर्न माग गर्दै तातो  सडकमा सुते । सयौं चिया मजदुर भेला भएर विर्तामोडको मुक्ति चोकमा पूर्वपस्चिम राजमार्ग बन्द गरेर उनीहरु सुते । आन्दोलनलाई आक्रामक बनाइरहेका उनीहरुले सडकमा सवारी आवात–जावत बन्द गरेर आन्दोलन सशक्त बनाउने उद्घोष गरेका छन् । सडकमा मजदुर सुतेपछि यातायातका सवारी पनि चल्न पाएनन् । सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपैयाँ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ तोकिएको छ । तर, त्यो पनि कार्यान्वयन भएको छैन । उनीहरुले सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएका छन् ।