खोटाङ : “कतै लडे भने पाठेघर कोक्किएर असह्य पीडा हुन्छ । घाँसदाउरा गर्ने क्रममा झाडी वा बुट्यानले छोए भने उस्तैगरी दुख्छ ।”

यो पीडा खोटाङको रावाबेंसी गाउँपालिका ५ दुबेकोलकी फुलमायाँ नेपाली (परिवर्तन नाम) को हो । पाठेघर खस्ने समस्याले तेस्रो चरण पार गरेपछि उनी कहालीलाग्दो पीडा खेप्न बाधय छिन् । पाठेघर खसेको १५,१६ वर्ष बिते पनि उनले सामाजिक अन्धविश्वासका कारण हालसम्म उपचार गराएकी छैनन् ।

यस्तै रावाबेसी गाउँपालिकाकै २३ वर्षीय कल्पना (परिवर्तित नाम) पहिलो बच्चा जन्माएलगतै पाठेघर खस्ने समस्याबाट पीडित बनेकी छिन् । उमेर छदै पाठेघरले दोस्रो चरण पार गरेपछि उनलाई शारीरिक पीडा त छदै छ, अन्य सन्तान नहुनेमा उत्तिकै चिन्ता छ । तर समाजले थाहाँ पाए लाज हुने, घृणा गर्ने र पाठेघर खसेका महिलालाई “उपनाम” लगाएर बोलाइने भएकाले उनीहरु हालसम्म आफ्नो समस्या लुकाउन बाध्य छन् । वातावरणीय कृषि तथा विकास केन्द्र केड को सहयोगमा हलेसी विकास मञ्च खोटाङले सञ्चालन गरिरहेको महिला प्रजनन् अधिकार कार्यक्रमका अनुसार दुबेकोलका एक सय ३ घर र वडा ४ डुम्रेधापानीका १ सय ६३ घरमा गरिएको सर्वेक्षणका क्रममा २० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । महिलामाथि हुने सामाजिक भेदभाव र परम्परागत अन्धविश्वासका कारण पाठेघर खसेका धेरैजसो महिला उपचार गर्नुको सट्टा रोग लुकाएर पाल्न बाध्य बनेको पाइएको कार्यक्रम संयोजक वीरेन्द्र मगरले बताए ।
–नागरिक दैनिकबाट