धरान: धरान १६ स्थित रहेको नाष्ट कलेजमा डिप्लोमा इन फुड एण्ड डेरी अर्थात् आई टेक विषयको पढाई हुन्छ । यो बिषय ३ वर्षे कोर्ष छ । प्राविधिक बिषय पढ्न र स्वाबलम्बी एवं स्वरोजगार बन्न चाहनेहरुको लागि यहाँ धमाधम भर्ना भइरहेको छ ।

नाष्ट कलेजमा सिटिईभिटीबाट सम्बधनलिई वि.स. २०५७ सालदेखि आई. टेक.(फुट टेक्नोलोजी) विषयमा अध्ययन हुँदै आएको छ । नेपालमा आईटेक विषयमा अध्ययन हुने दुई वटा कलेजहरु छन् । यी दुईमध्ये एक धरानमा रहेको नाष्ट कलेज हो । अर्को राजधानीमा छ ।

यो कलेजको मुख्य लक्ष्य भनेको मध्यमस्तरको स्वावलम्बी र दक्ष खाद्य प्रविधि जनशक्ति उत्पादन गर्नु हो । नेपाल लगायत धेरै विकासोन्मुख तथा अविकसित मुलुकहरुमा खाद्य असुरक्षा बढ्दै गइरहेको अवस्थामा मध्यमस्तरको खाद्य प्रविधि जनशक्ति उत्पादन ज्यादै भएको छ । नाष्ट कलेजमा सञ्चालित डिप्लोमा इन फुड एण्ड टेक्नोलोजि आफैमा एउटा विशिष्ट प्रकारको कार्यक्रम हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ–सपंस्थाहरुबाट यस्ता जनशक्तिको माग भैरहेता पनि यो माग आपूर्ति गर्न नसकिएको अवस्था छ । विकाउ र महत्वपूर्ण विषय भएपनि प्रचारप्रसारको कमीले विद्यार्थीहरु अन्य कार्यक्रमहरुको तुलनामा कमै आकर्षित छन् । यद्यपी, नाष्ट कलेजबाट हालसम्म १५ व्याचले ३ वर्षे कोर्ष सकेर सत प्रतिशत रोजगारमुखी हुन सफल भएका छन् ।

मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको थियो । प्रदेश १ मा एउटै मात्र ठाउँमा पढाई हुने भएकोले पनि यस विषयको महत्व जनमानसमा पुग्न नसकेको नाष्ट कलेजका प्रिन्सिपल टोम प्रसाद आचार्यले बताए । उनले भने,'सत प्रतिशत रोजगारीको ग्यारेण्टी छ । स्थानीय तह, सरकारी तथा गैरसकारी संस्थामा खाद्य निरीक्षक, विश्लेषक राख्ने भएकोले अहिले यसको महत्व झनै बढ्दै गएको छ ।'

naast-collage

यो बिषय पढेका जनशक्तिले सरकारी एवं गैरसरकारी क्षेत्र संघ संस्था साथै नगरपालिका, उपमहानगरपालिकाहरुमा खाद्य विष्लेषकको रुपमा काम गर्न पाउने छन् । यस्तै, शैक्षिक संस्थाहरुमा प्रयोगशाला सहायक, लोकसेवा आयोगमा प्राविधिक सहायकमा काम गर्ने जनशक्ति माग छ । यस विषयमा पढाई हुने मुलुकको दुईवटा संस्थाले उत्पादन गरेका प्राविधिक माग धान्न नसकिरहेको आचार्य बताउँछन् ।

अचेल व्यवसायिक शिक्षाको महत्व बढ्दै गइरहेको छ । स्वरोजगार हुनसक्ने पनि त्यतिनै अवसर छ भने रोजगारीको ग्यारेण्टी भएको यो कार्यक्रम आफैमा विशिष्ट छ । कलेजका कोर्डिनेटर सुर्य रिजालका अनुसार आइटेकमा ३ वर्षे कोर्ष सकेपछि उच्चशिक्षासम्म पढ्न पाईने यसको अर्को विशेषता हो । बि.टेक, एम.टेक साथै अन्य विषयहरु विएससी लगायतमा अध्ययन गर्न पनि पाईने छ ।

फुड एण्ड डेरी टेक्नोलोजी पढ्नका लागि एसइई परिक्षामा अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै २ विषयमा सी र बाँकी १ मा डी प्लस ग्रेड ल्याए पुग्ने तर सीटीइभीटी बाट लिइने प्रवेश परिक्षामा भने अनिवार्य रुपमा सम्मिलित भएको हुनुपर्ने छ । नाष्ट कलेजले आफ्नै कलेज भवनमा अनुभवी र प्रख्यात प्राध्यापकहरुद्वारा डिप्लोमा इन फुड एण्ड डेरी अर्थात् आई टेक विषयमा अध्ययन अध्यापन गराउँछ भने अत्याधुनिक वैज्ञानिक उपकरणसहितको प्रयोगशाला तथा सुव्यवस्थित पुस्तकालयमा अध्ययन अध्यापन गराउँछ । साथै नाष्ट कलेजमा विज्ञान तथा कमर्स विषयमा समेत अध्ययन गराईन्छ ।