इटहरी : वर्षेनी बाढीका कारण सुनसरीमा हजारौँ घरपरिवार विस्थापित हुने गरेका छन् । दुई साल अगाडि इटहरीमा मात्रै बाढीका कारण ८ जनाको निधन भएको थियो भने हजारौँ परिवार बिस्थापित भए ।

केही दिनयता लगातार परेको वर्षाका कारण सुनसरीमा दुई जनाको निधन भएको छ भने यहाँका तीन सय घर परिवारका हजार भन्दा बढी मानिस विस्थापित बन्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार सुनसरीका ३ सय १० घरपरिवारका १५१९ जना विस्थापित बन्नुपरेको छ । फुयाँलले भने, ‘अहिलेसम्म सुनसरीमा तीन सय १० घरका १५१९ जना विस्थापित भएका छन्, पानीको बहाब क्लियर गर्नका लागि शनिबार राती ५६ वटा नै ढोका खुल्ला गरिएको थियो ।’ उनका अनुसार अहिले पानीको बहाब घट्ने क्रममा रहेको छ । उनले स्थानीय मानिसहरुलाई सतर्कता अपनाउन आग्रह गरे । सप्तकोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाब पुग्दा खतरा मानिन्छ । अहिले कोशी ब्यारेजमा रातो झण्डा फहराइएको छ ।

त्यस्तै कोशीको पुलको आयु सकिएको १० बर्ष बितिसकेको भएपनि तत्काल डराउनु पर्ने अवस्था नरहेको इन्जिनिएर लालदास शाहले बताए । उनले भने, ‘पुलको केही खतरा छैन, तत्काल आत्तिनुपर्ने अवस्था छैन, अझै १ सय बर्ष पुल भत्कने अवस्था छैन ।’ उनका अनुसार पुल भत्कने खतरा भनेर हल्ला फिजाँइएको बताउँदै डराउनुपर्ने अवस्था रहेको छैन । उनले पुलको आयु नसकिएको जिकिर गर्दै अझै सय बर्ष सम्म पुल केही नहुने तर्क गरे ।

त्यस्तै, सुनसरीका हजारौँ बिगाहा खेतीयोग्य जमीन बगरमा परिणत भएको छ । कोशी तटीय क्षेत्र नजिक रहेका सयौँ मानिसका हजारौँ बिगाहा खेतीयोग्य जमीन बगरमा परिणत भएको हो । धान रोप्नका लागि बिउ समेत बाढीले बगाएका कारण समस्या रहेको स्थानीयको गुनासो रहेको छ ।

कोशी ब्यारेजमा प्रहरी सहायक निरीक्षक इश्वरी दाहालले साँझ साढे ६ बजेसम्मको पानीको मात्रा २ लाख १३ हजार १ सय ३० भएको छ । उनले भने, ‘सबैभन्दा बढी अहिलेसम्म ३ लाख ७१ हजार २ सय १० पुगेको थियो, अहिले पानीको मात्रा घटेको हो, डराउनुपर्ने अवस्था छैन ।’ उनका अनुसार अहिले ५६ वटा ढोकामध्ये २७ वटा मात्र ढोका खुल्ला गरिएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले यहाँका होचो भू–भागमा रहेका घरहरुका मानिस विस्थापित हुनुपरेको बताए । उनले भने, ‘होचो भूभागमा बनेका घरहरुमा क्षती भएको छ, अहिले सुरक्षित ठाउँमा सरेको अवस्था छ, ८ घर चैँ पूर्ण रुपमा ड्यामेज भएको छ ।’ बाढीपीडितलाई तत्काल स्थानीय सरकारले राहत बितरण गरेको उनले बताए । उनका अनुसार कुनै एउटा क्षेत्रमा मात्रै क्षती नभएको र विभिन्न ठाउँमा क्षती भएको छ । खेतीयोग्य जमीनमा पनि क्षती भयो नि भन्ने प्रश्नमा गिरीले भने, ‘पहिला मान्छे बाँच्नुपर्यो, जमीन त हुँदै गर्छ ।’

शनिबार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, वन तथा पर्यटनमन्त्री जगदिश कुशियत लगायतले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

तस्वीर: विवेक/ आइतबार सप्तकोशी नदीमा देखिएको पानी र डुबानमा खेतीयोग्य जमीन ।

3 1

2 7

1 11

Koshibayarej