झापा : झापा दमककी साबित्रा चापागाई । उमेरले ५२ बसन्त पार गरिन् उनले । जति बुढेशकाल लाग्दैंछ त्यतीनै उनलाई पीरका पहाडले थिचिरहेको छ । घरमा काम गर्ने लाठे कोही छैनन् । उनका एक छोरा वैदेशिक रोजगारीमा छन् । घरमा भएकी बुहारीलाई घरधन्दाले छाड्दैन । आफै खेतमा घोटिनुपर्ने उनको रहर हैन बाध्यता बनिरहेको छ । उनि भन्छिन्, “खेतीले मात्र घर खर्च चलाउन कहाँ पुग्दो रहेछ र ? केटाकेटी पढाउनैपर्यो । त्यै भएर छोरो विदेश हानियो । घरमा बुहारी छिन्, उनलाई घरकै चुलो चौकाले घेरिरहन्छ । अनि म बुढेशकाल लाग्दै गएपनि खेतमा काम गर्न विवश छु ।”

साबित्रामात्र हैन दमककै कृष्णप्रसाद गुरागाईको पनि ब्यथा उस्तै छ । उमेर उनी ७० बर्षका भए । तर उनी काधमा फरुवा बोकेर खेतीतिर बिहानै निस्किन्छन् । उनका छोराचाहि विदेशमा छैनन् । तर उनका छोराहरु दमक चोकमा व्यवसाय गरेर बस्ने गरेका छन् । “गाउँघरमा भएका लाठेजति विदेश तिर । भएका नगन्य युवा पुस्ता ब्यापार व्यवसायमा । भएको अलिकता जग्गा बाझै राख्न यो बुढो शरिर भएपनि कहा मान्दो रहेछ र ? अनि बसेर नातीनातीना खेलाउने उमेरमा पनि यो बर्खामा खेतमा नछिरी मनै मान्दैन, भन्छन् कृष्णप्रसाद ।”

“सरकारले कृषिलाई व्यवसायीकरण गर्न भन्दै बिभिन्न योजनाका ठेली बनाउछ । तर कार्यान्वयन पक्ष भने फितलो । अनि हुन्छ समस्या । एकातिर कृषि मजदुर नपाउने अवस्था अनि अर्को्तिर मल बिउको अभाव हरेक बर्खामा । कसरी हुन्छ कृषकको प्रगती ? बल्ल बल्ल जसोतसो रोपाई गरेर अलिकता अन्न तुल्यायो । बजार भाउ सुन्दै कृषकलाई त्यसै त्यसै रिङ्गटा लाग्ने ।”

1 13

झापा दमककै अर्का कृषक लयप्रसाद दाहालले गुनाशो पोखे । उनको पनि पीर उस्तै उस्तै नै छ । असार सकिएर श्रावण लागिसकेको छ । यो बेलासम्ममा झापामा ४३ प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शालिकराम भट्टराईले जानकारी दिएका छन् । गत साल यो अवधीमा ५५ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ ।