धरान : नेपाली अदुवाले अहिलेसम्मकै उच्च मुल्य पाएको छ । गत बर्ष सन्तोषजनक मात्र मुल्य पाएको अदुवाले यसपाली भने उच्च पाएको छ ।

आफ्नो उत्पादनले उच्च मुल्य पाएपछि किसानहरु उत्साहित छन् । अदुवाको मुल्य प्रतिमन ८ हजार बढी पुगेको छ । यो गत वर्षको तुलनामा दुई गुणा बढी हो । थोक बजारमा अदुवाको मुल्य प्रतिकेजी २ सय १० रुपैयाँसम्म पुगेको छ । खुद्रा मुल्य प्रति पावा ६० रुपैयाँ छ । यसपटक उत्पादनमा भने ५० प्रतिशत कमी छ । अदुवाका किसानले पटक–पटक घाटा व्यहोर्नुपरेकोले कारण पनि अदुवा रोप्न छोडेकोले उत्पादनमा कमि आएको व्यापारीहरु बताउँछन् ।

अदुवाको मुल्य उच्च हुदा कृषकहरु भने दंग छन् । तीन वर्ष अगाडी धरान–१३ स्थित कृषि बजारमा अदुवा बिक्री गर्न झरेका धनुकटाको साँगुरीगढी गाउँपालिका–७ का बेलेन्द्र राईले गाडीभाडा समेत आफ्नै खल्तीबाट हाल्नुपरेको तीतो अनुभव सुनाउदैे भने,‘यस पटक अदुवाको मुल्य राम्रो पाइयो ।’ उनले खुशी हँुदै थप भने,‘५०–६० हजार रुपैयाँ थाप्दै आएको एउटा सामान्य किसानले अढाइ लाखसम्म थाप्न पाउनु खुशीको कुरा हो ।’

अर्का व्यापारी विनोद कुलुङ राई अदुवा उत्पादनमा गतबर्ष भन्दा ५० प्रतिशत कम भएको छ । यही बेला भारतमा नेपाली अदुवाको माग उच्च भएको कारण कृषकले अदुवाको भाउ राम्रो पाएको उनले बताए । ‘यसपटक अदुवाको उत्पादन कम भयो, तर इण्डियामा नेपाली अदुवाको माग बढी छ, त्यही भएर राम्रो भाउ छ,’उनले भने । कृषि उपज बजारको व्यावस्थापन सदस्य समेत रहेका राई करिब अढाई दशकदेखि व्यापारमा संलग्न छन् । ‘हामीले अदुवाको कारोबार करिब २०५०र५२ सालदेखि गरेको हो, यो सालको जस्तो उच्च भाउमा अहिलेसम्म भएको थिएन,’उनले भने ।

aduwaa

कृषकले अदुवाको बजार मुल्य उच्च पाउदा व्यापारीलाई भने लगानी जुटाउन गाह्रो भएको उनी बताउछन् । ‘अदुवाको मुल्य उच्च छ, कृषकलाई फाइदा छ, तर व्यापारीलाई लगानी जुटाउनु गाह्रो भयो,’उनले भने,‘हामीलाई त जति सस्तो भयो पुँजी कम लाग्छ, सामान धेरै लिन पाइन्छ, तर, अहिले पुँजी धेरै फसाउनु पर्यो हाइ रिक्समा लगानी गर्नुपरेको छ ।’

उनले यसपटक उत्पादन कम हुँदा बेलैमा बजारमा अदुवा सकिने बताए । ‘मैले ३ हजार मेट्रिकटन कारोबार गरिसके,’उनले भने,‘अदुवा कम उत्पादन भएकोले बेलैमा अदुवा सर्टेज भयो, अहिले पाइनै छाड्यो ।’ पूर्वी पहाडी जिल्लामा ग्रामिण सडक बर्षातको कारण अबरुद्ध हुँदा अदुवा आउन नसकेको बताए । भारतले पनि गत वर्षदेखि अदुवा निकासीमा कुनै समस्या नदिएको उनी बताउछन् । ‘भन्सारमा हामीलाई क्वारानटाइन टेस्ट भन्दै २०–२२ दिनसम्म झुलाइदिन्थ्यो’ उनले भने ‘पोहोर सालदेखि त्यस्तो समस्या छैन ।’

धरान–१३ स्थित कृषि उपज बजारले यसपटक ६ हजार मेटिक टन कारोबार हुने अनुमान गरेको जनाएको छ । आर्थिक कारोबारको हिसाबले ९० करोड हुन्छ । कृषि बजारको तथ्याङक अनुसार गत वर्ष ९ हजार ६ सय मेट्रिक टन नेपाली अदुवाको कारोबार भएको थियो । गत वर्ष उत्पादनमा बढी भएपनि मुल्य कम थियो । प्रतिमन २ हजार रुपैयाँ थियो । कृषि उपज बजारका बजार व्यावस्थापक लक्ष्मण भट्टराईले इतिहासकै अदुवाको मुल्य उच्च रहेको बताए । ‘कृषि बजारको रेकर्ड अनुसार अदुवाको कारोबार यो नै उच्च हो,’ उनले भने,‘प्रतिकेजी १ सयदेखि शुरुभएको यसपटकको बजार आजसम्म अदुवाको मुल्य प्रतिकेजी २ सय १० रुपैयाँसम्म छ ।’

कृषि बजारको रेकर्ड अनुसार आर्थिक वर्ष २०७०/७१ मा थोकमा प्रतिकेजी १६० रुपैयाँसम्म पुगेको थियो । ‘५ बर्ष अगाडी अदुवाको मुल्य प्रतिकेजी १६० रुपैयाँसम्म पुगेको थियो, त्यो भन्दा ५ वर्ष अगाडी पनि १ सय ४० सम्म पुगेको थियो,’उनले भने,‘४–५ वर्षको फरकमा अदुवाको मुल्य घडबढ भइरहेको रेकर्डले देखाउछ ।’

तर, तीन वर्ष अघि कृषि बजारमा अदुवाको कारोबार थोकमा प्रतिकेजी ४० रुपैयाँदेखि झरेर १० रुपैयाँमा पुगेको थियो । अदुवामा गानो कुहिनो रोग लाग्नु र भारत निकासीमा समस्या भएको कारण मुल्यमा भारी गिरावट आएको उनको भनाई थियो । ‘शुरुमा प्रतिकेजी ४० रुपैयाँ थियो, पछि झदै–झदै १० रुपैयाँ पुग्यो’ बजार व्यावस्थापक भट्टराईले भने ‘यसरी अदुवाले मुल्य नपाउदा कृषक बढी मार परे ।’

aduwaa1

माउ अदुवाको कारोबार जेष्ठबाट साउनसम्म हुने उनी बताउछन् । ‘जेष्ठदेखि साउनसम्म माउ अदुवा आउछ अदुवाको मुख्य कारोबार यही बेला हो’ उनले भने ‘साउन पछि अदुवाको बच्चा आउन शुरु हुन्छ, त्यो ठिकै मात्र कारोबार हुन्छ, किनकी कुहिने डर हुन्छ ।’ गत वर्षदेखि भारतमा अदुवा निकासीमा सहज हुनथालेपछि ओरालो गतीमा लागेको नेपाली अदुवाको केही हदसम्म बढेको थियो । तर, यसपटक नेपाली अदुवाको उत्पादनमा ५० प्रतिशत कमि आउदा मुल्य उच्च भएको उनी दाबी गर्छन । ‘तीन वर्ष अगाडीसम्म भारतले क्वारानटाइन टेस्टलगायत भन्दै नेपाली अदुवा छिर्न दिदैन्थ्यो, त्यसैको असर व्यापारी हुदै कृषकसम्म पुग्यो’ उनले भने ‘तत्कालिन कृषि राज्यमन्त्री राधिका तामाङलाई अदुवा निकासी समस्याको विषयमा हामीले जानकारी गरएपछि त्यो समस्या हल भयो, अहिले कुनै झन्झटबिना नेपाली अदुवा भारतीय बजारमा पुग्छ ।’ उनले थपे ‘अहिले त्यस्तो झन्झट केही छैन, निर्वाध रुपमा निकासी भइरहेको छ ।’

नेपालको काकडीभिट्टा, विराटनगर जोगबनी, भैरहवानाका हुँदै भारतको नयाँ दिल्ली, मुम्बइसम्म सिधै नेपाली अदुवा पुग्ने गरेको उनी बताउछन् । कृषि बजारमा अदुवाको स्रोत धरानको विष्णुपादुका, पाचकन्या, मोरङको उत्तरी भेग, धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, पाचथरलगायत रहेको छ । धनुकटाबाट ५० प्रतिशत अदुवा कृषि बजार भित्रिने उनी बताउछन् । नेपाली अदुवा १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी ९० प्रतिशत भारत निकास हुने बताउदै उनी भन्छन्,‘ग्रेडिङ, प्याकेजिङ, लेवलिङ, खाद्यय परिक्षणलगायतमा सरकारले ध्यान दिनुपर्छ, नेपाली अदुवाले विदशी बजार पिट्छ ।’