इटहरी: इटहरीमा सर्पदंशका बिरामी बढेका छन् । सामूदायिक सर्पदंश उपचार केन्द्रका अनुसार साउनको १५ दिनमा मात्र करिब डेढ सय बढीको उपचार भएको छ ।

केन्द्रका अध्यक्ष दिवस पोखरेलका अनुसार यो एक बर्षमा १ हजार ४ सय बढीको उपचार भएको हो । ‘यहि १५ दिनभित्रमा मात्रै १ सय ४० बढीको उपचार भइसकेको छ,’ पोखरेलले भने । उनका अनुसार पहाडी जिल्ला, भोजपुर, तेह्रथुम, धनकुटा लगायत जिल्लाबाट अधिक बिरामी यहाँ आउने गरेका छन् । भारतको जोगबनी तथा अन्य ठाउँका समेत बिरामी आउने गरेको केन्द्रले जनाएको छ । पोखरेले भने,‘प्रदेश १ का अधिक ठाउँबाट सर्पदंशका बिरामी आउँछन्, अहिलेसम्म सबै बिरामीको उपचार सफल भएको छ ।’

सर्पदंशका विरामीहरु बिषालु सर्प र बिषविहिन सर्पले डसेका उपचारको लागि आउने गरेका छन् । ढोडिया, हररालगायत सर्पमा बिष हुुदैन भने गोमन, करेट, धामन लगायतका सर्पमा बिष हुन्छ । दुवै खाले बिरामीको संख्या बढ्दै गएको पोखरेलले बताए । पोइजनका बिरामीको उपचार गरेको दुई हजार रुपैँया र नन पोइजनको उपचार गरेको एक हजार रुपँया शुल्क लिने गरेको उनले बताए । उनले भने,‘यो एक, दुई हजार रुपैँया केही पनि होइन, अन्य ठूला अस्पतालहरुमा धेरै प्रक्रिया पुर्याउँदा पनि २० देखि २२ हजार रुपैँया खर्च हुन्छ ।’

इटहरीमा रहेको पूर्वी पृतना हेडक्वाटरमा नेपाली सेनाले सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ । विशेषगरी बर्खायाममा सर्पदंशका बिरामी बढेको पृतनाले जनाएको छ । २०६९ सालमा स्थापना भएको सामूदायिक सर्पदंशमा केन्द्रमा गत असारमा मात्रै २ सय ३६ जनाले उपचार गराएका थिए । हाल प्रदेश १ मा इटहरी सहित तीन ठाँउमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेको छ । झापामा नेपाली सेनाको चारआली ब्यारेक, दमक रेडक्रस र इटहरीमा सर्पदंशको उपचार हुदै आएको छ ।

नेपालमा अनुमानित आँकडा अनुसार हरेक वर्ष करिब २० हजार सर्पदंशका घटना हुने र त्यसमा करिब तीन सय जनाले ज्यान गुमाउने अनुमान गरिएको छ । सर्पको डसाईबाट मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाई, औषधिको अभाव र झारफुकमा लागेका कारण सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । अझै पनि दुर्गम ठाउँमा सर्पले डसेमा झारफुक गर्ने, टोकेको ठाँउमा ब्लेडले चिरेर रगत निकाल्ने जस्ता कार्यले मृत्युदर बढ्ने गर्छ ।