झापा : झापामा जडीबुटी उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले छ वटा स्थानीय तहमा जडीबुटी पकेट क्षेत्र निर्धारण गरिएको छ । सरकारको जडीबुटी विकास कार्यक्रम अन्तरगत जिल्लाका कमल गाउँपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकामा जडीबुटी पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यक्रम अन्तरगत कमलमा हर्वाे, वर्राे, अमला, बेल, भद्रपुरमा सिट्रोनेला, लेमनग्रास, कनकाईमा अश्वगन्धा, सर्पगन्धा, मेचीनगरमा पचौली, रुद्राक्ष, गुर्जा, अर्जुनधारामा पचौली, बेल र बिर्तामोड नगरपालिकामा निमको पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । कृषक, उद्यमी तथा सामुदायिक वनलाई कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५÷०७६ मा रू ४० लाख ९६ हजार अनुदान दिइएको उहाँले बताउनुभयो । कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेर उत्कृष्ट कृषक, उद्यमी, सामुदायिक वन छनोट गरेर अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

झापामा संघीय सरकारबाट जडीबुटी विकासका चालु आवमा पनि कार्यक्रम आउन लागेको छ भने प्रदेश नं. १ सरकारले समेत यो वर्ष जडीबुटी उत्पादन, प्रचार–प्रसार, तालिम तथा लाहा खेती प्रबद्र्धनका लागि बजेट विनियोजन गरेको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए ।
जडीबुटी खेतीसँगै झापामा गैरकाष्ठ वन पैदावार खेती विस्तार हुँदै गएको छ । रुद्राक्ष, तेजपात, सिट्रोनेला लगायतका गैरकाष्ट वन पैदावारको खेती बढ्दै गएको कार्यालयले जनाएको छ ।

जडीबुटीको बजार राम्रो हुनुका साथै जिल्लामै जडीबुटी प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएकाले पनि खेती विस्तार भएको हो । अन्नबाली तथा तरकारी खेतीभन्दा सहज हुनुका साथै एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि गैरकाष्ठ वन पैदावारको खेतीमा आकर्षण बढ्दै गएको हो ।
डिभिजन वन कार्यालय झापाले विभिन्न प्रजातिका जडीबुटीको बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आएको छ । झापामा रहेका ५९ वटा सामुदायिक वन र ४२३ निजी वनमा रहेका छन् । जसमा पछिल्लो समय जडीबुटी र गैरकाष्ठ वन पैदावारको खेती गर्ने क्रम बढेको छ ।