धरान: दाँतको उपचार गर्दा प्रयोग हुने मर्करी(पारो)युक्त डेन्टल अमल्गम मानव स्वास्थ्य र वातावरणको लागि अत्यन्तै हानीकारक रहेको छ । तरपनि, दाँतको उपचारमा यसको प्रयोग हुन भने छोडेको छैन ।

मानव स्वास्थ्यको लागि हानिकारक भएर पनि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित डेन्टल कलेजमा पनि दाँचको उपचारमा मर्करी डेन्टल अमल्गमको प्रयोग हुने गरेको छ । चिकित्सकहरुका अनुसार विश्वभरबाट मर्करीको प्रयोग हटाउन संयुक्त राष्ट्रसंघ र विभिन्न मुलुकहरुले नै अभियान चलाइरहेको छ । नेपालमा पनि मर्करीयुक्त स्वास्थ्य उपकरणहरुको प्रयोगमा सरकारले प्रतिबन्ध लगाए पनि पुर्णरुपमा लागुहुन सकेको छैन ।

मर्करी प्रकृतिमा पाइने एउटा बिषालु गह्रुँगो धातु हो । यो साधारण तापक्रम वा दबाबमा तरल अवस्थामा रहन्छ । थर्मोमिटर, रक्तचाप नाप्ने यन्त्र, दाँतमा चाँदी भर्नको लागि मात्र होइन, दैनिकरुपमा घरमा प्रयोग हुने ट्युबलाईट, सिएफएल चिम, विजुली एवं मेशिनको स्वीच, ब्याष्ट्री आदिमा पनि मर्करी प्रयोग भएको हुन्छ । यस्तै, कतिपय मुर्ति, माला, कप, गरगहनाको जलप र अधिकांश आयूर्वेदिक औषधीहरुमा पनि यसको प्रयोग हुने गरेको छ ।

मर्करीयुक्त उपकरण नांगो हातले छोएमा, खेलेमा वा सुँघेमा स्नायु प्रणाली र मृगौलासम्म पुगेर बिषाक्त प्रभाव पार्नसक्ने चिकित्सक तथा विज्ञहरु बताउँछन् । ‘गर्भमा रहेको बच्चा, नवजात शिशु, गर्भवती महिलाहरुलाई बढी असर गर्छ,’जनस्वास्थ्य एवं वातावरण प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित साहले भने,‘शरीरको संवेदनशील अंगहरु मस्तिष्क, फोक्सो, मृगौलासम्म सजिलै पुगेर हानी गर्छ ।’

mercury21

यस्तै, एक थोपा मर्करीले ८ हेक्टर भन्दा ठुलो पोखरीमा भएको माछालाई खान नहुने गरी पानीलाई प्रदुषित पर्छ । मर्करीयुक्त स्वास्थ्य सेवाबाट सृर्जना भएको फोहोरले हावा, पानी, माटो प्रदुषित बनाउने र वातावरणमा मर्करी बिष फैलाउने गर्छ । मानव स्वास्थ्य र वातावरणलाई हानिकारक भएर पनि यसको प्रयोग पुर्णरुपमा अन्त्य हुन भने सकेको छैन । विश्वमा प्रयोग हुने मर्करीयुक्त सामानहरुमध्ये एकतिहाई अंश स्वास्थ्य क्षेत्रमा रहेको छ । त्यसमा पनि १० प्रतिशत प्रयोग दन्त चिकित्सा उपचारमा हुने गरेको चिकित्सकहरुको भनाई छ ।

वातावरण तथा जनस्वास्थ्यबारे काम गर्दै आएको कायाकल्प एकेडेमी फर रिसर्च डेभलपमेन्टका कार्यकारी निर्देशक सुनिल नेपालले निरन्तर अभियान चलेपछि अस्पतालमा प्रयोग हुने मर्करीयुक्त उपकरणमा कमी आएको तर डेन्टलमा भने केही मात्रामा प्रयोग भइरहेको बताए । ‘यसलाई कुन विधि र कसरी हटाउने भनेर यो गोष्ठीले महत्वपुर्ण समाधान निकाल्नेछ,’उनले भने । मर्करीयुक्त उपकरण तथा दन्त चिकित्सालाई कसरी हटाउने बिषयमा शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोष्ठी भएको थियो । उक्त गोष्ठीमा मर्करीयुक्त उपकरणको प्रयोग हटाउने, हटाउदा आइपर्ने समस्यालगायतको बिषयमा छलफल, कार्यपत्र प्रस्तुत भएको थियो ।

तीन बुँदे सहमति

नेपाल डेन्टल एशोसिएशन सुनसरी धरान शाखाकी अध्यक्षसमेत रहेकी विपी प्रतिष्ठानकी दन्त चिकित्सक डा.ज्योत्सना रिमालका अनुसार मर्करी डेन्टल अमल्गम दाँतमा चाँदी भर्न प्रयोग हुने र यो वलियो भएकोले अहिलेसम्म उपचारमा प्रयोग भइरहेको बताइन् । तर, शुक्रबारको गोष्ठीमा अबदेखि मर्करीयुक्त उपकरण प्रयोग गर्ने बिषयमा ३ बुँदे सहमति भएको उनले जानकारी दिइन् । उक्त सहमतिमा डा.रिमाल र जनस्वास्थ्य एवं वातावरण प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित साहले हस्ताक्षर गरेका छन् ।

mercury11

सहमति अनुसार मानिसको झरेर जाने दुधे दाँतमा, १५ मुनिका बालबालिकाहरुको दाँतमा र गर्भवती महिला वा शिशुलाई दुध खुवाउदै गरेका महिलाहरुको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पुर्णरुपमा प्रतिबन्ध लगाउने सहमति भएको छ । यस्तै, अन्य उमेर समुहको हकमा भने विरामीको खास आवश्यकताको आधारमा दन्त चिकित्सकको सल्लाहमा दाँतको उपचारमा प्रयोग गर्नैपर्ने अवस्थाबाहेक पहिलो प्राथमिकता नदिने सहमति छ भने तेस्रो बुँदामा एशोसिएशनले विश्वविद्यालय, कलेज एवं पाठ्यक्रम विकास बोर्डसँग सहकार्य गरेर अन्र्तराष्ट्रिय अभ्याससँग मेल खाने गरी दन्त चिकित्सा पाठ्यक्रममा सुधार गर्न पहल गर्ने पनि सहमति भएको छ ।

नेपालमा २०६९ चैत १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयले पनि आर्थिक बर्ष २०७०÷७१ देखि मर्करीयुक्त उपकरण खरीद र उपयोग बन्द गर्ने निर्णय गरेको थियो भने निजी क्षेत्रलाई पनि खरीद र उपयोग नगर्न अनुरोध गर्ने निर्णय भएको थियो । यस्तै, नेपाल डेन्टल एशोसिएशनले पनि २०७५ फागुन १८ गतेदेखि नै मर्करी डेन्टल अमाल्गमको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो ।