इटहरी: साबिक हाँसपोसा गाविस(हाल इटहरी उपमहानगर १७ )की गुध्री चौधरी सोमबार इटहरीको आईतबारे जाने बाटोमा निराश मुद्रामा थिईन् ।

पकलीबाट इटहरी हिड्दै आउँनका लागि करीब २ घण्टा भन्दा बढी समय लाग्छ । सफारीमा आउँदा झण्डै २० मिनेट लाग्छ । ‘घरमा ५ पैसा पनि थिएन, छिमेकीसँग मागेर सफारी भाडा तिरेँ,’चौधरीले भनिन्,‘यहाँ आएको बिहान ९ बजे नै हो, अहिलेसम्म पालो आएको छैन ।’ उनले बृद्धभत्ता लिन आएको भएपनि लामो समयसम्म लाईन लाग्नुपर्ने भएका कारण समस्या हुने सुनाईन् । झरीमा बाहिर उभिनुपरेको उनले दुखेसो पोख्दै भनिन्, ‘घरमा बिजोग छ, बृद्धभत्ताको पैसाले केही महिना चामल खान पुग्थ्यो ।’

उनले बर्खाको समयमा लामो बाटो आउनुपर्ने र समयमा पैसा नपाएकोले झनै समस्या भएको बताइन् । चौधरी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै यहाँका सयौँ बृद्धाहरु भत्ता लिनको लागि लाईनमा बसेर पालो पर्खनु पर्छ । अम्बिमाया तामाङले पनि बृद्धभत्ता लिन ५ घण्टा लाइनमा बस्नुपरेको गुनासो पोखिन् । ‘पानी परिराखेको छ, धेरै गाह्रो भयो,’उनले बहकिदैं भनिन्,‘पहिला चुनावमा घरमै बृद्धभत्ता आउँछ भन्ने सुनेको थिएँ, खोई त आको ?’

उनले २०७४ सालमा भएको स्थानीय तहको चुनावको समयमा भोट माग्दा घरमै बृद्धभत्ता ल्याईदिने बाचा गरेका उमेद्वारहरुले अहिले बेवास्ता गरेको बताईन् । इटहरी १७ कै कुश्मी रामले पनि बृद्धभत्ता पाउन सास्ती खेप्नु परेको सुनाइन् । ‘पानीमा भिज्दै आउँनु पर्यो, सफारी भाडा मात्रै २ सय रुपैँया लाग्छ,’उनले भनिन्,‘पैसा झिक्न निकै समस्या रहेको छ, बिमारी छु, भित्र जान दिदैन । भित्र गएपनि हप्काउने, काम नै नगर्ने गरेका छन् ।’

old-age-allounc

कर्मचारीहरुले सहजै काम नगर्ने, अल्झाउने जस्ता काम गर्ने गरेको उनको दुखेसो पोखिन् । ‘घर–घरमा लगेर दिए हुन्थ्यो पैसा,’उनले भनिन्, ‘झरीको बेला अझै समस्या छ हामीलाई ।’ उनले विहानको ८ बजेदेखि दिउँसो १ बजेसम्म लाईन लाग्दा पनि पैसा झिक्न नपाएकोमा चिन्ता व्यक्त गरिन् । इटहरी १७ का करीब ६ सय बढीलाई बृद्धभत्ता वितरण गर्नुपरेको इटहरीको गुडबिल फाइनान्सका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार यहाँका करीब ६ सय बढी बृद्धबृद्धालाई यहाँबाट भत्ता दिने गरिएको छ । इटहरी १७ नं. वडाका मात्रै ६ सय बढी बृद्धबृद्धाले इटहरीको गुडबिल फाइनान्सबाट भत्ता लिदै आएका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. १७ का भगवानलाल शाहले भने सरकारले नै स्थानीय सरकारमार्फत भत्ता वितरण गर्न रोकावट गरेको बताए । ‘सरकारले नै दिदैन, बैंक मै जा भन्छ,’ उनले टेलिफोन सम्पर्कमा भने,‘बिरामीका लागि भने हामीले सिफारिस गरिदिदाँ छोराछोरीलाई पनि भत्ता दिन्छ तर जोखिम रहेको छ ।’ उनले बृद्धबृद्धाका लागि आफूले काम गर्न चाहेर पनि नसकेको बताउँदै संघीय सरकारले नै बंैकमार्फत भत्ता वितरण गरेको प्रतिक्रिया दिए । चार–चार महिनामा वितरण हुँदै आएको बृद्धभत्ता लिनका लागि निकै झन्झटिलो प्रक्रिया रहेका कारण बृद्धाहरु समस्यामा पर्दै आएका छन् । स्थानीय सरकारले बृद्धबृद्धालाई घरमै भत्ता पुर्याउँने हो भने सकारात्मक प्रभाव पर्ने अनुमान लगाउँन सकिन्छ ।