धरान: घटस्थापनासँगै वडा दशैं शुरु भइसकेको छ । योसँगै धरानमा नवरात्र मेला पनि प्रारम्भ हुन्छ ।
नेपालीहरुले वडा दशैंमा शक्तिपिठमा गएर पुजाआराधाना गर्छन् । घटस्थापनाको दिन सर्वसाधारणहरुले जमरा पनि राख्छन् ।

धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिर प्रख्यात शक्तिपिठ हो । घटस्थपनाको दिनदेखि ९ दिनसम्म शक्तिरुपी देवीको अलगअलग ९ रुपको पुजाआराधाना गरिन्छ । वडा दशैं शुरु भएपछि धरानमा नवरात्री पनि शुरु हुन्छ । नवरात्री मेलाको चलन नेपालमा धरानमा मात्र हो । घटस्थापनादेखि ९ दिनसम्म युवायुवतीहरु मध्यराती नै दन्तकाली मन्दिर पुग्छन् । नवरात्री भरि युवायुवतीहरुको बिशेष मेला नै लाग्ने गरेको छ । बिहानै उनीहरु धरानको विजयपुरमा अवस्थित मठमन्दिरहरुमा साथीभाइ मिलेर घुम्न जाने गरेका छन् । युवायुवतीहरु मन्दिर दर्शन गर्ने वहानामा रमाइलो गर्ने, साथीभाईसँग घुम्ने मौका पाउछन् । यस्तो नवरात्री मेला नेपालका अन्य शक्तिपिठहरुमा भने पाइदैन ।

dantakali-temple

यसपाली भने नवरात्रीको रौनक त्यति छैन । विगतमा भन्दा कम संख्या मात्र युवायुवतीहरु मठमन्दिरमा पुगेका छन् । पानी परेको कारण पनि संख्या कम भएको हुनसक्ने धरान १ का युवा युनिस राना मगरले बताए । ‘पहिला त हामी २, ३ बजे तिर नै साथीहरुसँग आउथ्यौं, संकटकाल लागेपछि अलि कम हुन थालेको थियो,’उनले भने ।

धरान १४ का समाजसेवी एवं रुद्राक्ष व्यापारी प्रेमप्रसाद पराजुली पनि नवरात्रको महत्वबारे पछिल्लो पुस्तालाई बुझाउन नसक्दा संख्या घट्दै गएको बताउँछन् । धार्मिक मानिसहरुलाई आकर्षित गर्ने अनुष्ठान, तीर्थयात्रीहरुलाई सविधा दिने लगायतको कामहरु हुन आवश्यक भएको उनको सुझाव छ । ‘दन्तकाली दर्शन गर्न किन जाने ? नवरात्रीको महत्व के हो ?भनेर विज्ञापन गर्ने वा जानकारी दिने गर्नुपर्छ,’पराजुलीले भने ।

dantakali1

मन्दिरका पुजारी विश्वराज खनालका अनुसार अबको ९ दिनसम्म हरेक दिन शक्तिरुपी देवीको ९ वटा अलगअलग रुपको पुजाआराधाना गरिन्छ । ‘नवरात्री पनि आजैदेखि शुरु भयो । विधिपुर्वक मन्दिरभित्र घटस्थापना गरेर जमरा छरिएको छ । अखण्ड दियो पनि राखिएको छ,’खनालले भने,‘अब ९ दिनसम्म दन्तलकाली मन्दिरमा पुजारीबाहेक कोही पनि प्रवेश गर्न पाउदैनन्, पुजारीले हरेक दिन अलग अलग देवीको बिशेष पुजा आराधाना गरिन्छ ।’

घटस्थापनाको दिन धान, गहुँ, मकै, मासा, मुङलगायत ७ किसिमको अन्न मिसाएर जमरा राखिन्छ । सप्तमीको दिन फुलपाती भित्र्याइन्छ भने दशमीको दिन अपराजिता देवीको पुजा आराधाना गरेर विर्सजन गरेपछि प्रसादकोरुपमा बाडिन्छ । नौं दिनसम्म मन्दिर परिसरमा पण्डितहरुले निरन्तर चण्डी पाठ पनि गरिरहन्छन् । शक्तिरुपी देवीले ९ वटा रुपको अवतार लिएर दानवहरुको विनास गरेको विश्वास गरिन्छ । वडा दशैंको पहिलो दिन घटस्थापनामा शैल पुत्रीकोरुपमा पुजा गरिन्छ भने दोस्रो दिन ब्रह्मचरिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालपात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धदात्री देवीको पुजा आराधाना गरिन्छ ।

budhasubba5 budha-subba6 dantakali3