गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी खानपानमा सचेत हुने हो भने आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भवतीले कुन खानेकुरा खाने वा नखाने भन्नेमा विश्वभर नै विभिन्न मान्यता छन् । वैज्ञानिक र चिकित्सकले पनि यो विषयमा खोज गरिरहेका हुन्छन् ।

के खाने ?

सामान्यतया गर्भवती महिलाले साबिकभन्दा दुई सय बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । यसमा दैनिक रूपमा चार या पाँचचोटि खाना खानु उपयुक्त हुन्छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुराका साथै दूध र दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त मात्रामा खानुपर्छ । त्यस्तै कार्बोहाइडेटयुक्त खानेकुरा र उपयुक्त मात्रामा चिल्लो खानेकुरा खानु आवश्यक हुन्छ ।

चिल्लो खानेकुराले तौल बढाउन सक्ने भएकाले घिउजन्य वस्तु सन्तुलित मात्रामा नियमित सेवन गर्नुपर्छ । जसमा अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, यो गर्भवतीका लागि एकदमै आवश्यक हुन्छ । प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ, खानेकुरामा कम्तीमा पाँच भागको एक भाग फलफूल वा तरकारी समावेश गर्नुपर्छ । यस्तै गर्भवती महिलाले प्रशस्त पानी पिउनुपर्छ । जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्छ ।

फास्टफुड र ड्राई फुड सकेसम्म खानुहुँदैन । अल्कोहलयुक्त पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्छ । यसबाहेक काँचो मासु र काँचो अण्डा पनि हानिकारक हुन्छ । गर्भावस्थामा रोगप्रतिरोधात्मक क्षमता एकदम कम हुने भएकाले ब्याक्टेरिया र भाइरसले सजिलै आक्रमण गर्ने सम्भावना रहन्छ । त्यसैले दैनिक प्रयोगमा ल्याउने खानेकुरामा अतिरिक्त ध्यान पुयाउनु आवश्यक छ ।

कतिपय मानिस मेवा, भुइँकटहर, अंगुरजस्ता खानेकुरा हानिकारक हुने ठान्छन्, जुन कुरा सत्य होइन । गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूलहरू सेवन गर्न सक्छन् । तर, जुनसुकै खानेकुरा खाँदा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ ।

के नखाने ?

गर्भावस्थामा कतिपय खानेकुरा खानुहुँदैन । फास्टफुड र ड्राईफुड सकेसम्म खानुहुँदैन । अल्कोहलयुक्त पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्छ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक हुन्छ । यस्ता खानेकुराले नोक्सान पुर्याउन सक्छ । यसका अतिरिक्त गर्भावस्थामा चिक्तिसकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ ।

आफैँले जथाभावी औषधि सेवन गरे गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्छ । एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धा्रित औषधि तोकिएको हुन्छ ।

प्रा.डा. जागेश्वर गौतम, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ परोपकार प्रसूतिगृह