झापाः उसै त ठाँउ ठाँउमा फाटेर टालटुल गरेको मुलुकलाई पूर्व पश्चिम जोड्ने मुख्य राजमार्ग । त्यसमाथि पनि छाडा पशुको मुख्य राजमार्गमा नै राज । अनि पछिल्ला दिनमा थपिदै गएका अटो र सिटी रिक्साको बिगबिगी ।

अब आफै कल्पना गर्नुहोस, हाम्रो मुख्य राजमार्गको अवस्था कस्तो होला । यी मुख्य राजमार्गमा यात्रा गर्दा दैनिक देखिने गरेका दृष्यहरु हुन् । त्यही राजमार्ग भएर यात्रामा निस्कनेहरुलाई थाहा हुन्छ, हाम्रो मुख्य राजमार्गमा कति पीडा छ भनेर । पूर्व पश्चिम मुख्य राजमार्गको झापा, मोरङ खण्डमा पर्ने सामुदायिक तथा आयोजना क्षेत्रका बन जंगलका कारण अहिले पनि मुख्य सडकमा नै छाडा चौपायको राज चल्ने गरेको छ । यो समस्या आजको मात्र होइन, जब मुख्य राजमार्ग संचालनमा आयो, त्यही समयदेखि नै यो समस्याको शुरुवात भएको हो ।

विगत लामो समयदेखि राजमार्ग आसपासका स्थानीयबासीहरुले पालेको चौपाय चरनकालागि खुल्लम खुल्ला जंगल क्षेत्रमा छोडि दिदा अहिले पनि राजमार्गमा चौपायको राज चलिनै रहेको छ । खास गरि मोरङको कानेपोखरी, पथरी, झापाको रतुवामाई बृक्षारोपण आयोजना क्षेत्रमा अन्र्तगतको सडक खण्डमा पर्ने मुख्य राजमार्गमा छाडा चौपायको राज चल्ने गरेको छ । जसका कारण यस क्षेत्रमा हुने अधिकांश दुर्घघटनाको कारण पशु छाडा चौपाय नै बन्ने गरेका छन । धेरैले आस गरेका थिए, लामो समयपछि बनेको स्थानीय सरकारले यो समस्याको समाधान गर्ला । तर त्यो पनि एका देशको कथा जस्तै बन्न पुग्यो ।

पुरानै र जिर्ण सडक संरचना, थपिदा सवारी साधन अनि बढ्दो जनसंख्या, त्यही एउटा राजमार्गको भर आवत जावत गर्नेको लर्को उस्तै । भयावह बन्दै गएको मुख्य राजमार्ग त्यसमाथि छाडा चौपायको पनि यहि मुख्य राजमार्ग आवत जावत गर्ने झुण्ड कहा कति बेला के हुन्छ भन्ने नसक्ने अवस्था सृजना भएको छ । मुख्य राजमार्गको सुरक्षा दिने र सवारी व्यावस्थापनलाई सहज बनाउने निमायक निकायहरु पनि नभएका भने हैनन तर पनि अवस्था उस्तै । अब कहिले सम्म चल्ला मुख्य राजमार्गमा पशुको राज ।

अटो र सिटी रिक्साको विगविगी

highway1

मुख्य राजमार्गसँग जोडिएर बनेका र बन्दैगरेका पुराना तथा नयाँ शहरहरु अनि तिनै शहरलाई लक्षित गरि गाँउ र शहरलाई जोड थपिदै गएका अटो र सिटी रिक्साको पनि मुख्य आर्कषण यही राजमार्ग बनेको छ । अहिले मुख्य राजमार्गमा अटो र सिटीको बिगविगी बढदैगएको छ । जसका कारण पनि अहिले मुख्य राजमार्ग अस्तब्यस्त देखिन थालेको छ । साना तीन पांग्रे सवारीले मुख्य राजमार्गमा पनि यात्रु ओसार्न हानथाप गर्दै तिव्र गतिका सवारी दौडाई दिदा कति बेला दुर्घटना हुन्छ कसैलाई पत्तो हुन्न । युवाहरु सस्तो र विना कडा परिश्रम राम्रो कमाई हुने भएकाले पनि अहिले धेरै युवाहरुको आर्कषण साना तीन पाग्रे सवारीमा पर्ने गरेको छ । विना पूर्वाधारको मुख्य राजमार्गमा यी साना तिन पाग्रे सवारी साधनहरु पनि अहिले सवारी व्यवस्थापनमा अर्को टाउको विषय बनेको छ ।

विशेष गरे बैदेशीक रोजगारीबाट सानो पुजी लिएर फर्किका युवाहरुको पहिलो रोजाईको व्यावसाय पनि अटो र सिटी सिक्सा बनेको छ । यस्ता सवारी साधनहरुको संचालनका लागि स्थानीय सरकारहरुले निश्चित मापदण्ड बनाउन नसक्दा साना तिन पाग्रे सवारीहरुले पनि मुख्य राजमार्गलाई नै आफनो व्यावसायको थलो बनाउने गरेका छन ।

मदिराको बिक्रि बितरण सर्वसुलभ

पछिल्ला दिनहरुमा यहि मुख्य राजमार्गलाई लक्षित गरि मदिरा पसलहरु खुल्ने क्रम पनि तिब्र बन्दै गएको छ । युवा पुस्तामा बढदो मदिरा सेवनको मोह अनि यसको बिक्रि बितरण सर्बसुलभ हुदा मादक पदार्थ सेवन गरि सवारी चलाउनेहरु पनि यहि राजमार्गमा थपिने गर्दछन । मदिरा सेवन गरि तिव्रगतिमा सवारी चलाउने चालक आफु त जोखिममा परेको हुन्छ नै, उसले अन्य धेरै निर्दोष यात्रुहरुको जिवनलाई पनि जोखिमा पारिरहेको छ । अहिले मुख्य राजमार्गमा जोडिएका घरहरु देखी जंगलक्षेत्र आसपासका साना तिना चौकहरुमा पनि सेउलाको छाप्रोमा पनि मदिरा कै बिक्रि बितरण हुने गरेको छ ।

किराना पसलदेखी होटल अनि साना तिना खाजाहरुमा सर्बसुलभ रुपमा किनबेच हुन सजिलो बस्तु मदिरा बनेको छ । यात्रामा निस्केका जो कोहीलाई पनि जुन सुकै समय मदिरा सेवन गर्न मन लागे मुख्य राजमार्गका ठाँउ ठाँउमा उपलब्ध हुने बस्तु पनि मदिरा बन्दै गएको छ । मदिरा कहाँ र कसरी विक्रि बितरण गर्ने भन्ने सम्मको पनि मापदण्ड पुरा हुन नसक्दा मुख्य राजमार्गका औषधी पसल, खाजा घर किसाना पसलदेखी पान पसलबाट पनि मदिराको बिक्रि बितरण हुने गरेको छ ।

जनचेतनाको पनि अभाब

highway2

मुख्य राजमार्गमा यात्रा गर्दा होस या त क्षेत्रीय तथा शाखा सडकहरुमा होस सर्वसाधारणहरुले यात्रा गर्दा पालना गर्नुपर्ने सामान्य भन्दा सामान्य नियमको पनि पालना गरेको पाईदैन । मुख्य राजमार्गको उपयोग गर्दा नागरिकहरुले अपनाउनु पर्ने नियमको पनि पालना गरेको पाईदैन । धेरै यात्रु तथा सवारी चालकहरु पनि सवारी नियमको वारेमा जानकारी नहुदा बारम्बार उल्लंघन गर्ने गरेका छन । कतिपयले थाह पाएर पनि सवारी नियमको उल्लंघन गरि नै रहेका छन् । मुख्य सडक भएर यात्रा गर्दा अपनाउनु पर्ने सवारी साधनको गति, सडक काटदा अपनाउनु पर्ने उपायहरुको पनि उपयोग तथा प्रयोग गरेको देखिदैन । अनि सडकको कुन लेन आफुले प्रयोग गर्नुपर्ने हो भन्नेसम्मको पनि हेक्का राखेको पाईदैन ।

विशेष गरि पैदल यात्रुहरुले पनि आफु अनुकुल जहाँ पायो त्यहीबाट सडक पार गर्ने गरेको पाईन्छ । मुख्य राजमार्गमा निर्माण भएका जेव्रा क्रसको कमैले मात्र बुझेर या नुबुझी नै प्रयोग गर्ने गर्दछन भने धेरैले आफु अनुकुल सडक पार गर्ने गरेका छन् । जसका कारण पनि अकल्पनिय दुर्घटना हुदा मानवीय तथा भौतिक क्षती हुने गरेको छ ।

नियमक निकाय मौन

मुख्य गरेर राजमार्गको भौतिक रक्षाको जिम्मा पाएको सडक विभाग र सवारी व्यावस्थापनको जिम्मा लिएको ट्राफिक प्रहरीले पनि सवारी व्यावस्थापन राजमार्ग सुुधारमा खासै प्रगति गर्न सकेको पाईदैन । बर्षाै पुरानो उही क्षमताको मुृख्य राजमार्गको उचित रेखदेख हुन नसक्दा कालोपत्रे उप्किएर खाल्डा बन्दै छ । यसको व्यवस्थापनमा सडक बिभागको टालटुले प्रबृतीमा प्रगति हुन नसक्दा प्रत्येक वर्ष उहि एउटै समस्याले सडक जिर्ण बन्दै गएको छ । यता ट्राफिक प्रहरीले पनि नत कडा नियम नै सडकमा लगाउन सकेको छ नत जनचेतनाको बिकाश नै गर्न सकेको छ ।