धरान: सही उपचार र औषधी पाउने आशामा पुर्वका अधिकांश विरामीहरु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउछन् । तर, यहाँका अधिकांश डाक्टरहरुमा चिकित्सा पेशा र विरामीहरुप्रति इमान्दारिता पाउन भने गाह्रो छ ।

वीपीका डाक्टरहरु कमिशनको लोभमा औषधी भन्दै विरामीहरुलाई अनावश्यक र प्रतिबन्धित 'फुड सप्लीमेन्ट' पनि खरीद गर्न बाध्य गराउने गरेको पाइएको छ । कमिशनको लोभमा बाहिरका निजी क्लिनिकतिर विरामीको जाँच गराउन पठाउने त पुरानै रोग हो । तर, कमिशनको लोभमा विरामीहरुलाई आवश्यक नै नपर्ने फुड सप्लीमेन्ट किनाएर विरामीको हजारौं रुपैया खर्च गराउने अनौठो चलन देखेर अनुगमनमा आएको औषधी व्यवस्था विभागका अधिकारीहरुसमेत अचम्मित भएका छन् ।

विभागले शुक्रबार वीपी प्रतिष्ठान बाहिरको औषधी पसलहरुमा अनुगमन गर्ने क्रममा प्रायः सबै पसलमा प्रतिबन्धित फुड सप्लीमेन्ट बिक्री हुने गरेको भेट्यो । पसल सञ्चालकहरुले वीपीका डाक्टरहरुले नै प्रेसक्रिप्सनमा ती सप्लीमेन्ट लेखिदिने गरेकोले आफुहरु बेच्न बाध्य भएको जानकारी विभागका अधिकारीहरुलाई गराए ।

food-suplement2

विभागका प्रमुख सञ्जीव कट्टेलका अनुसार प्रतिबन्धित फुड सप्लीमेन्ट खान सिफारिश गरेको धनकुटाका एक विरामी र पुर्जा पनि प्रमाणकोरुपमा फेला परेको थियो । ती विरामीलाई ७ वटा औषधी लेखिएकोमा २ वटा मात्र औषधी थियो । बाँकी ५ वटा अनावश्यक र प्रतिबन्धित फुड सप्लीमेन्ट थिए । नियमित ६ महिनासम्म खान भनेर लेखिएको सप्लीमेन्ट एक महिनाको खर्च हिसाब गर्दा १० हजार बढी थियो । त्यसहिसाबले ती विरामीको अनावश्यक ६० हजार रुपैया खर्च हुन्थ्यो । ‘विभागमा दर्ता नै नभएको, प्रतिबन्धित फुड सप्लीमेन्ट डाक्टरहरुले नै लेखिदिने रहेछन्, यो त ठुलो लापरवाही हो,’प्रमुख कट्टेलले भने,‘यो सबै कमिशनको खेल हो, जुन अत्यन्तै खेदपुर्ण छ ।’

विभागले डेढ सय भन्दा बढी प्रकारका प्रतिबन्धित फुड सप्लीमेन्ट औषधी पसलबाट भेटे पनि व्यवसायीहरुको विरोध र अवरोधले जफत गर्न सकेन । ती सप्लीमेन्ट हटाउन विभागले एक साताको अल्टिमेटम दिएको छ । साथै, वीपी प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई पनि भेटेर यसबारेमा जानकारी गराएको कट्टेलले बताए ।

food-supplement1