इटहरी । गर्मी मौसम सुरु भएसँगै डेंगु देखापर्न थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा लाग्ने यो रोगका बिरामी धरानमै ३ जनामा फेला परिसकेका छन् । अघिल्लो बर्षपनि डेंगुको इपिसेन्टर मानिएको धरानमा पुनः नयाँ बिरामी देखा परेका हुन् ।

धरान-७ स्थित होटेल सन्ध्या इनका सवारी चालकमा डेंगु भएको पुष्टि भएको छ । गतबर्ष पनि धरानबाट सुरु भएको डेंगु (डेन २) को सङ्क्रमण प्रदेश १ का सबै सहरहरूमा फैलिएको थियो । करिब ३ महिना वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार बढीले डेंगुको जाँच गराएका थिए । त्यसमध्ये २१ सय जना भन्दा बढी सङ्क्रमित पाइएको थियो ।

डेंगुको उद्गम स्थल मानिएको धरान लगायत पूर्वका सहरहरू बढी जोखिममा छन् । डेंगु ज्वरो एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । इटहरी अस्पतालका अनुसार अघिल्लो वर्ष ३९९ जनाको परीक्षण भएको मध्ये १०७ जना सङ्क्रमित पाइएका थिए । त्यो सङ्ख्या यस पटक बढ्ने देखिएको छ ।
इटहरी चौकमा गत मङ्सिरमा खनिएका सडकका खाल्डाहरू अहिलेसम्म पुरिएका छैनन् । ६ लेन सडक बिस्तारको क्रममा ड्रेन निर्माणको काम रोकिएको छ । समयमै पैसा नआएको भन्दै ठेकदारले काम अगाडी बढाएको छैन । जथाभाबी निर्माण सामाग्री राख्ने र समयमै निमार्णकार्य पुरा नगर्दा सङ्क्रमणको सम्भावना बढिरहेको छ । गर्मी मौसम बढ्दै गइरहेको अवस्थामा एडिस एजिप्टाइ नामक लामखुट्टेको सक्रियता बढ्ने गर्छ । कालो, सेतो रङ्गको लामखुट्टे सफा जमेको पानीमा मात्र उत्पन्न हुन्छ जुन दिउसोको समयमा बढी सक्रिय हुन्छ ।

dengue-4

डेगुं सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको सङ्क्रमण हुन्छ । डेंगु सङ्क्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन । लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र सङ्क्रमण हुने गरेको वीपी प्रतिष्ठानका डाक्टर विकास शाहले बताए ।

उनका अनुसार सङ्क्रमितलाई कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेशी र हड्डी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखा पर्छन् । डेंगुको शङ्का लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गराउने र कम्तीमा ७ दिन सम्म झुल भित्रै आराम गर्न उनले सुझाएका छन् ।