धरान : लगातारको लकडाउनका कारण अति आवश्यक औषधि समेत अभाव हुने सम्भावना बढेर गएको छ ।

भारत सरकारले अत्यावश्यक २३ प्रकारका औषधि आयात गर्न दिने भने पनि यस्ता अत्यावश्यक औषधिहरुकाे उपलब्धता कमहुँदै गएको औषधि व्यवसायीहरु बताउछन् ।

विशेष गरेर शल्यक्रियामा प्रयोग हुने, आइसियु र सिसियुमा प्रयोग हुने अत्यावश्यक औषधिहरु विस्तारै अभाव हुन थालेको र सरकारले यसतर्फ ध्यान नदिए बिरामीले यस्ता औषधि नपाउदा समस्या भोग्नुपर्ने औषधि व्यवसायीहरु बताउछन् ।

धरानस्थित बीपी कोइराला विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दर्जनौ विभिन्न रोगका शल्यक्रिया हुने र सिकिस्त विरामीलाई सघन उपचार सेवा (आइसियु) र बच्चालाई सिसियुमा राख्दा अत्यावश्यक औषधि प्रयोग गर्ने गर्दछ । यी औषधि तत्काल नभए बिरामीको ज्यान समेत जान सक्ने जोखिम हुन्छ । यस्ता औषधिहरु अहिले आयात हुन नसक्दा स्टकमा रहेका औषधिहरु समेत सकिदै गएको औषधि व्यवसायीको भनाई छ ।

धरान-१८ स्थित बीपी क्याम्प अगाडि अनिता मेडिकल हलका संचालक वीरेन्द्र गुप्ताले बीपीमा शल्यक्रिया तथा आइसियुमा बिरामी राखेर उपचार गराउदा प्रयोग हुने औषधि सकिदै गएको  बताएका छन् । उनले निरन्तर पाइने औषधि अहिले पनि प्रसस्त भए पनि शल्यक्रिया तथा आइसियुमा प्रयोग गरिने मनोदिपक र जीवन रक्षक औषधिहरु  अभाब हुँदै गएको बताए ।

अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि व्यवसायी संघले सरकारलाई ध्यानाकर्षण समेत गराएको छ । यस्ता गम्भीर प्रकारका औषधि जो अत्यावश्यक छन् ती औषधि नभए बिरामीले धेरै जोखिम मोल्नुपर्ने अवस्था आएको औषधि व्यवसायीहरु बताउछन् । नेपाल औषधि व्यवसायी संघ सुनसरीका महासचिव सुवास पौडेलले यस्ता औषधि आइसियु तथा शल्यक्रियामा प्रयोग हुने औषधि सटेज हुदै गएकोले समयमै आपूर्ति गर्न नसके यसले ठूलो समस्या निम्त्याउन सक्ने बताए ।

लगातारको बन्दले एकातिर बीपी प्रतिष्ठानका आकस्मिक बाहेकका सम्पूर्ण सेवा हुदा विरामीहरु मारमा परेका छन् भने अर्कोतर्फ शल्यक्रिया तथा आइसियुमा प्रयोग हुने औषधि समेत सकिदै जादा यसले झन ठूलो समस्या निम्त्याउने देखिएको छ ।

औषधि आयातमा नेपाल सरकारले सहज वातावरण बनाउन जरुरी भएको छ ।