धरान : धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको लकडाउन प्रभावकारी भएको छैन।

दैनिक ५० भन्दा बढीमा कोरोना सङ्क्रमण र दिनहुँ जस्तो कोरोनाबाट धरानमा मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको बेलामा धरान प्रहरीले सर्वसाधारणलाई हिँडडुल नगर्न भने पनि बिहान ७ बजे देखि ९ बजे सम्म अत्यावश्यक पसलहरू खुल्ला गर्ने निर्णय गरेको समय पछि पनि धरान बजारमा सर्वसाधरणहरुको बाक्लो भिड देखिने गरेको छ ।

यसले धरानमा कोरोना सङ्क्रमणको जोखिम लकडाउनमा पनि बढेको स्वास्थ्य विज्ञहरूको भनाई छ। धरानको मुख्य बजारको सडक किनारामा दैनिक सयौँ मोटरसाइकल र गाडी समेत पार्किङ गरिएको पाइन्छ। यो सँगै सडक किनारामा हिँडडुल गर्ने सर्वसाधारणको पनि बाक्लै सङ्ख्या देखिन्छ। यसले गर्दा धरानमा लकडाउन प्रभावकारी नभएको देखिन्छ।

धरानमा २४ दिनको अवधिमा ४५१ जना कोरोना सङ्क्रमित भइसकेको र यही अवधिमा ४ जनाको मृत्यु भएको छ । त्यसैले धरानमा कोरोना सङ्क्रमण फैलिन नदिन प्रशासनले लकडाउन घोषणा गरेको हो ।

यसलाई सबै धरान नगरवासीले कार्यान्वयन ल्याउन सहयोग गर्न धरानका मेयर तिलक राईले आग्रह पनि गरेका छन्। तर पनि लकडाउन लकडाउन जस्तो आफूलाई पनि महसुस नभएको भन्दै मेयर राईले भने, कार्यान्वयनका लागि समन्वय गरेर अघि बढ्छौ ।

धरान प्रहरीले कडाइ गर्ने 

धरान प्रहरीले लकडाउनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने बताएको छ ।

धरानमा सर्वसाधारणको अटेरीपन बढ्दै गएको र लकडाउनमा पनि घर बाहिर निस्किएर सर्वसाधारण हिँडिदिने र सवारी साधन चलाई दिने क्रम बढेकोले आज देखि सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर ३ दिन पछि मात्रै सम्बन्धित सवारी धनीलाई दिने गरी आज देखि कारबाही अघि बढाउने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। लकडाउनको समयमा हिडनेलाई पनि होल्डीङ एरियामा नियन्त्रणमा लिएर राख्ने डिएसपी बस्नेतले बताए ।

लकडाउनलाई कार्यान्वयनमा ल्याउन के गर्ने ?

विश्वभर महामारीकोरुपमा देखा परेको कोरोना भाइरसले यहाँ मात्रै होइन विश्वलाई नै आक्रान्त पारेको छ ।

कोरोना सङ्क्रमण मानिस मानिस बिचको घुलमिल र भिडभाडमा बढी फैलिने भएकोले विश्वका अधिकांश देशहरूले कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गरेका छन् । यसो गर्दा मानिस घर भित्रै बस्ने र बाहिर नआउनाले सङ्क्रमण हुँदैन । तर धरानको हकमा लकडाउन पुर्णरुपमा कार्यान्वयनमा ल्याउन समस्या देखिएको छ ।

यहाँ रोजीरोटीका लागि लडिरहेकाहरूका लागि रोग भन्दा भोक ठुलो समस्या बनेको छ। त्यसैले त्यस्ता समुदाय र वर्गको पहिचान गरी सरकारले १५ दिन सम्म खान पुग्ने खाद्यान्नको जोहो गरिदिएर कम्तीमा १५ दिन मानिसको आवत जावतनै हुन नदिने गरी लकडाउन गर्न सक्यो भने कोरोना सङ्क्रमण दर रोकिने डा. राजेन्द्र शर्मा बताउँछन् । उनी भन्छन्-'कोरोना सङ्क्रमण आवागमन बढी हुनाले हुने भएकोले यसलाई रोक्न राहत प्याकेज लिएर नियन्त्रणमा सरकार लाग्नुपर्छ।'