धरान : धरानमा पछिल्लो समय कोरोना सङ्क्रमित पुष्टि भएका व्यक्तिहरू बजार तथा सार्वजनिक स्थलमा खुलेआम हिँडडुल गर्न थालेकाले कोरोना सङ्क्रमण दर उच्च भएको बताइएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा कोरोना सङ्क्रमित घर बाहिर हिँडडुल गरेको भन्दै सङ्क्रमित भएको छिमेकीले फोन गरी जानकारी दिने गरेको महाशाखा प्रमुख उमेश मेहेता बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को अनुसार सङ्क्रमित पुष्टि भएका मानिसहरू कम्तीमा १४ दिन सम्म आइसोलेसन बस्नु पर्ने हुन्छ ।

यसले गर्दा भाइरसको सङ्क्रमण अरूलाई समुदायमा सर्दैन भनेर पटक पटक भनिँदै आएको छ । तर, कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा नवसेर खुलेआम डुल्नुले धरानमा कोरोना सङ्क्रमण बढ्दै गएको बताइन्छ । कम्तीमा पनि १४ दिन होम आइसोलेसनमा बस्नु पर्छ । त्यस पछि कोरोना आफै निको हुने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

तर यहाँ होम आइसोलेसनमा बस्नेहरूले स्वास्थ्य मापदण्ड नअपनाईदिदा कोरोना संक्रमणदर बढ्दै गएको छ। 'मलाई केही विराम छैन सामान्य छु' भन्दै बजार र भिडभाडमा कोरोना सङ्क्रमित व्यक्ति घुम्दिनाले संक्रमणदर समुदायमा ह्वात्तै बढेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताको भनाई छ । उनी भन्छन् 'धरानको सभागृहमा एन्टिजेन टेस्टमा आएकी एक महिलाको रिपोर्ट कोरोना पोजेटिभ आयो । उनले अव के गर्ने ? भनेर महाशाखा प्रमुख मेहेतालाई सोधे । मेहेताले भने  कम्तीमा अव १४ दिन घरमै होम आइसोलेसनमा बस्नुपर्छ । यसो भन्दा ती महिलाले आफू घरमा बस्न नसक्ने बताइन् ।'

यसरी सङ्क्रमित गैर जिम्मेवारी हुँदै गएकोले धरानको बजार अत्यन्तै असुरक्षित भएको उनको दाबी छ । विगतमा सरकारी आइसोलेसनमा सुरक्षाकर्मीले पहरा दिएका हुन्थे। तर यस पटक सरकारी आइसोलेसन नभएकोले सरकारी स्वास्थ्य प्रोटोकल होम आइसोलेसनमै बस्नु भन्ने छ। तर सङ्क्रमित घरमा १४ दिन नबसिदिँदा कोरोना सङ्क्रमण उच्च भएको स्वास्थ्य विज्ञहरूको मत छ।

स्वास्थ्य मापदण्ड नअपनाई आइसोलेसनमा नबसी घुमफिर गर्नेलाई संक्रमक रोग ऐन २०२० अनुसारको कारबाही हुन्छ । तर यहाँ कसले यो ऐन लागु गर्ने ? सम्बन्धित निकाय आफैले यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल भन्छन् ‘यस्ता रोग सार्दै हिडनेहरुलाई कानुनी कारबाही हुन्छ।” सम्बन्धित निकाय स्थानीय तहको स्वास्थ्य हेर्ने शाखाले प्रहरीसँग समन्वय गरेर कारबाही गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

धरानमा कोभिडको दोस्रो लहर (सेकेन्ड वेभ) सुरु भए यता वैशाख १ देखि यता २८ दिनको अवधिमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ६ सय ७३ पुगेको छ भने यो अवधिमा धरानमा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । सङ्क्रमित मध्ये ५ जना मात्र अस्पतालको आइसोलेसनमा रहेका छन् भने ४ सय ८३ जना सङ्क्रमित होम आइसोलेसनमा रहेको मेहेताले जानकारी दिएका छन् ।

मेहताका अनुसार कोरोनाबाट धरान बढी नै प्रभावित रहेको छ । काठमाडौँ , वीरगन्ज, नेपालगन्जबाट समेत धरानमा मानिसको आउजाउ भएकोले धरान कोरोनाको उच्च जोखिममा रहेको छ । अझ काठमाण्डौबाट रातारात मानिस धरान आउने र उनीहरूले अलिकति पनि स्वास्थ्य सावधानी नअपनाई दिनाले उनको परिवार र समुदायमा कोरोना सङ्क्रमण भित्र भित्रै भुसको आगोझैँ सल्किरहेको छ ।

धरानमा रहेका सङ्क्रमित मध्ये अधिकांशमा ज्वरो आउने, जिउ दुख्ने ,खोकी लाग्ने, पखाला लाग्ने लक्षण देखिएको स्वास्थ्य महाशाखाले बताएको छ । अधिकांशमा सामान्य लक्षण मात्रै छ, स्वाद थाहा नपाउने, ज्वरो, रुघाखोकी, झाडापखाला लाग्ने पाइएको छ । मेहताले भने भने, २-३ जनाले सास फेर्न गाह्रो भयो पनि भनिरहेका छन् ।

मेहताले भने ‘यस अघि ९ महिनाको अवधिमा धरानमा ३ हजार ६ सय १४ जनामा कोरोना सङ्क्रमण भएको थियो भने ७६ जनाको मृत्यु भएको थियो ।