धरान : नयाँ भेरिएन्टको कोभिड-१९ को सङ्क्रमण तीव्र गतिमा बढेकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले आगामी जेठ १५ गतेसम्म लागू हुने गरी पूर्ण निषेधाज्ञा लकडाउन जारी गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा डिसिसिएमसीको बैठकले वैशाख ३१ गते मध्य राति देखि आगामी जेठ १५ गते राति १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि मात्रै लकडाउन गर्ने निर्णय गरे पनि पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेका कारण जेठ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ : नयाँ भेरिएन्टको कोभिड-१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि मिति २०७८ साल वैशाख ३१ गते राति १२ः०० बजे सम्म निषेधाज्ञा जारी गरिएकोमा पछिल्ला दिनहरूमा यस जिल्लामा सङ्क्रमण र मृत्यु दर तीव्र रूपमा वृद्धि हुँदै गएको हुँदा मिति २०७८ वैशाख ३१ गते शुक्रवार राती १२ बजे देखी लागु हुने गरी २०७८ ज्येष्ठ १५ गते शनिवार राती १२ बजे सम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले दिएको अधिकार प्रयोग गरी देहाय अनुसार हुने गरी आदेश जारी गरिएको छ ।

यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति/संघ संस्था/पेशाकमी/व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सर्वसाधारणका लागि औषधी खरिद र उपचारका लागि बाहेक घरबाट बाहिर ननिस्कने,नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य मापदण्ड (साबुन पानीले हात धुने, मास्क र सेनिटाईजरको प्रयोग) अनिवार्य रूपले गर्ने, गराउने,कुनै पनि स्थानमा जम्मा भई कुनै पनि प्रकारका भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी नगर्ने, नगराउने, हाट, मेला, जात्रा महोत्सव, पार्टी, भोज, भिडभाड हुने कार्य गर्न नपाइने उल्लेख छ ।

यसै गरी कोभिड-१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकका स्वास्थ्य संस्था वा स्थानीय निकायमा सम्पर्क राख्नुपर्ने छ ।

यसै गरी कार्यालय सञ्चालन सम्बन्धमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालय र कर्मचारीहरूको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई स्थगित गर्ने ।

यसै गरी सभा सम्मेलनको हकमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल,सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न पाइने छैन ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा सार्वजनिक एवं निजी सवारी साधन, सिटी सफारी (दुई पाङ्ग्रे चार पाङ्ग्रे) समेत मिति वैशाख ३१ गते शुक्रवार मध्यराति १२ः०० बजे देखी मिति वैशाख १५ गते राती १२ः०० बजेसम्म सुनसरी जिल्लाभर सञ्चालनमा पूर्ण रोक लगाईएको छ ।

अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेनटिन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।

पसल सञ्चालनको हकमा औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, खाना पकाउने ग्याँस) बाहेक अन्य पसल व्यवसाय खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल समेत पूर्ण रूपले बन्द गर्ने हरियो तरकारी, फलफूल र दूध तथा दुग्धजन्य पदार्थ स्थानीय तहको समन्वयमा स्थानीय उद्योग वाणिज्य सङ्घको सक्रियतामा बिहान ८ बजे भित्र घर घरमा होम डेलिभरी सेवा दिने व्यवस्था मिलाउने,औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने ।

नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा अत्यावश्यक सेवामा कार्यरत कर्मचारी बाहेक कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा बिहान ९ बजे देखी १० बजे सम्म र दिउसो ५ बजे देखि ६ बजे सम्म मात्र आवत जावत गर्न दिइनेछ ।

सञ्चारकर्मी/पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने । होटेल तथा रेस्टुरेन्ट पूर्ण रूपले बन्द गर्ने ।

विवाह तथा व्रतबन्ध आयोजनाका लागि १० जना (दुलाहा-दुलही सहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्न पाउने छैन ।

वैवाहिक कार्यक्रममा सहभागी भई अन्यत्र जिल्ला जानु फर्कनु पर्ने भएमा दुलाहा दुलही सहित १० जना भन्दा बढी नहुने गरी स्वास्थ्य मापदण्ड अपनाई सवारी साधनमा ब्यानर राखी आवत जावत गर्न पाउनेछ ।

यसै गरी भारतीय नाकाहरूबाट आवतजावत गर्न निषेध गरिएको छ । उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्नु पर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने वा कामदार कर्मचारीहरूलाई उद्योगको सवारी साधनबाट घरबाटै ल्याउने लैजाने व्यवस्था उद्योग स्वयंले मिलाउनु पर्ने छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना/ परियोजनाको निर्माण कार्यलाई निरन्तरता दिने, उक्त कार्यका लागी निर्माण सामाग्री बोकेका सवारी साधन निर्वाध रूपले चल्न पाउनेछन् । मृत्यु संस्कार, बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनु पर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्ति उक्त ब्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेस गर्नु पर्नेछ ।

यसै गरी अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बुद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने या आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही हुनेछ ।

कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समितिको मापदण्ड अनुसार गर्नु पर्ने छ । आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने छ ।

आवश्यक खाद्यान्न लगायतका उपभोग्य सामाग्रीको पूर्व व्यवस्थापन गर्न गराउन स्थानीय तह सञ्चार गृहहरू र नेपाल प्रहरी द्वारा प्रचार प्रसार गर्ने गराउने सूचनामा उल्लेख छ ।

Suchana-1 Suchana-2