झापा : झापा गौरादह-७ का दिल बहादुर कार्कीको दैनिकी यतिबेला फेरिएको छ। अरुबेला खेतीमा खासै वास्ता नगर्ने दिलबहादुर आजकाल बिहानै देखी खेती किसानीमा व्यस्त बन्न थालेका छन् ।

लामो समय वैदेशिक रोजगारीका सिलसिलामा विदेशी भूमिमा पसिना बगाएका उनले स्वदेश फर्किएपछि पनि खासै खेतीपातीमा ध्यान दिएनन्। तर मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण निषेधाज्ञा नै लगाइएपछि भने उनको ध्यान एकाएक खेतीतिर लाग्यो ।

उनी अहिले बिहान सबेरैदेखि खेतमै भेटिन्छन् । उनले लगाएको बर्खे धान भित्र्याउन उनलाई अहिले भ्याईनभ्याई छ । कोरोनाका कारण झापामा पनि अहिले निषेधाज्ञा लगाइएको छ तर यो निषेधाज्ञाले कुनै असर नगरेको उनी सुनाउँछन् । उनी अहिले बर्खे धान भित्र्याउने चटारोमा छन् ।

दिल बहादुर त एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिले झापाको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई बर्खे धान भित्र्याउने चटारो छ।

'कोरोना भनेर घरमै चुप लागेर बसियो भने खाने चाहिँ कहाँबाट आउँछ' भन्दै धानका बिटा ओसार्दै गरेका उनले भने, “भिडभाडमा पो नजानु भनेको छ त खेतमा कामै नगर्नु त भनेको छैन नि सरकारले ”

यति बेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग, व्यापार व्यवसायलगायतका सबै क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका छन् ।

कोरोना भाइरसको जस्तो लक्षण देखिने धेरै व्यक्ति अझै पनि होम आइसोलेशनमा छन् । कोरोना सङ्क्रमितहरू अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार व्यवस्थापनमा रहेका छन् ।

कोरोनाको जोखिम यथावत् रहे पनि किसानको दैनिकी भने पहिलाकै जस्तो छ। अझ पहिलाको दिनचर्या नै फेरिएको झापा गौरादहकै अर्का किसान बद्री सङ्ग्रौला सुनाउँछन् । “पहिला बजार खुल्थ्यो एक छिन भए पनि बजारतिर निस्कन मन लाग्थ्यो, अहिले त सबै ठप्प छ । कता जानु अनि, खेतमा गयो काम गर्‍यो ।” उनी भन्छन्।

एक बाली धान भित्र्याइसकेका उनी अब अर्को बाली धान लगाउने तरखरमा ब्याडमा काम गर्दै थिए । उनी जस्तै सोही स्थानका अर्का किसान अम्बर बहादुर कार्की पनि यति बेला खेतमै व्यस्त बन्ने गरेका छन् ।

“कोरोनाको त्रास भए पनि दिनभरि कडा परिश्रम गर्ने हो, स्वास्थ्य सुरक्षा अपनाएर काम गर्ने हो, अनि कोरोनाको डर मनमा लिने हैन । काममा ध्यान पुर्याउने हो । कोरोनाको त्रास आफै कम भइहाल्छ नि ।” उनले हाँस्दै सुनाए ।

कोरोनाका कारण सहर बजार सुनसान बन्दा ग्रामीण क्षेत्रका खेतमा भने किसानलाई भ्याईनभ्याई भएको देखिन्छ । केही किसान यति बेला एक बाली धान थन्क्याउने चटारोमा छन् त कोही किसान अब असारदेखि रोपाई सुरु गर्न बिउको जोहो गर्न लागिपरेका छन् ।

झापासहित पूर्वी तराईमा सिँचाई योग्य क्षेत्रमा तिन बालीसम्म विभिन्न जातका धान लगाउने गरिएको छ ।

jhapa-dhan-kishan