सुनसरी : विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । इटहरी रङ्गशालामा आज बुधवार भएको पहिलो सेमिफाइनल खेलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
डिफेण्डिङ च्याम्पियन आर्मीका लागि टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले एक एक गोल गरे । बुढाथोकीले ५१ औँ र तामाङले ९० औँ मिनेटमा गोल गरेका थिए । रोलिङ क्लबका लागि विदेशी खेलाडी अजय मार्टिनले अतिरिक्त समयको चौथो मिनेटमा एक गोल फर्काए ।
आर्मीले अब उपाधिका लागि भोलि बिहीबार मनाङ मर्स्याङ्दी क्लब र सगरमाथा फुटबल क्लब मोरङ बिच हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित हुँदै नगद १० हजार पुरस्कार पाए । फाइनल खेलको विजेताले ७ लाख पाउनेछन् भने उपविजेताले ३ लाख ५० हजार पाउनेछ ।