धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डाइलाइसिस मेसिनसंगै  डाइलाइसिस युनिटलाई विस्तारित गरिएको छ ।

८ वटा बेडमा सञ्चालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस युनिटलाई विस्तारित गरी हाल २० बेडको बनाइएको हो । थप गरिएको बाह्र वटा नयाँ बेडहरूलाई क्याथल्याबको अगाडि पट्टि नयाँ भवन निर्माण गरी छुट्टै डाइलाइसिस युनिट स्थापना गरिएको छ । अस्पताल निर्देशक, डिनहरू, विभागीय प्रमुखहरू, चिकित्सकहरू, विद्यार्थीहरू लगायत नर्सिङ तथा प्रशासनिक कर्मचारीहरूको उपस्थितिमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रिबन काटी आज उक्त नयाँ युनिटको विधिवतरुपमा उद्घाटन गरेका छन् । 

यस क्षेत्रमा बढ्दै गएका मिर्गौलाका बिरामीहरूलाई यस युनिटले थप मद्दत मिल्ने तथा यस किसिमको सेवा विस्तारमा यस युनिटले कोसेढुंगाको काम गर्ने उपकुलपति गिरीले बताए ।

पहिले सञ्चालनमा रहेको डाइलाइसिस वार्डमा हालको आइ सि यूलाई बेड सङ्ख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको पनि उनले बताए । 

प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डाइलाइसिस हुने गरेको छ । जम्मा ८ वटा मेसिनले यति धेरै सङ्ख्यामा  डाइलाइसिस गर्नु ज्यादै नै कठिनाइको विषय थियो । सँगसँगै डाइलाइसिस गर्न पालो नपाएर पर्खनेको सङ्ख्या पनि ५० भन्दा ज्यादा हुने गरेको छ । यस्तो परिस्थितिलाई थप जडान गरिएको नयाँ मेसिनले केही हदसम्म सहज बनाउने विश्वास गरिएको छ । 

सन् १९९९ मा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा प्रा.डा. ओ.पी. काल्राको पहलमा मेडिसिन विभागका डा. सञ्जीव कुमार शर्मा लगायत नर्सहरू बेङमु तामाङ, शोभा गुरुङ र पुनम दाहाललाई वीर अस्पताल, काठमाडौँमा २ महिने डाइलाइसिसको तालिममा पठाइएको थियो । उनीहरूको तालिम पश्चात् उपत्यका भन्दा बाहिर पहिलो पटक प्रतिष्ठानमा २ वटा बेडबाट डाइलाइसिस सेवा सुरु भएको थियो ।

उक्त २ बेडले धान्न गाह्रो भए पश्चात् बिरामी आफैले घरमै पनि गर्न सक्ने पेटबाट गर्ने Continuous Ambulatory Peritoneal Dialysis (CAPD) विधिको नेपालमै पहिलो पटक सफलतापूर्वक सुरुवात डा. संजिव कुमार शर्माले गरेका थिए । यस भन्दा अघि सन् १९९२ मा उपत्यकामा पहिलो पटक CAPD विधिको सुरुवात गर्नु खोजिएता पनि सफलता हात परेको थिएन । सन् २००२ बाट प्रतिष्ठानमा सुरु भएको CAPD विधि सन् २००७ सम्म नेपाल अधिराज्यभर प्रतिष्ठानमा बाहेक अन्य कतै गरिँदैन थियो । सन् २००४ मा डा. सञ्जीव कुमार शर्माको विशेष पहलमा बेलायतको रोयल लण्डन अस्पतालले ११ थान डाइलाइसिस मेसिन सहयोग स्वरूप उपलब्ध गराएको थियो । उक्त मेसिनहरू कतार एयरवेजले काठमाडौँसम्म निःशुल्क ढुवानी गरिदिएको थियो । तत्पश्चात् मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस युनिट स्थापना गरिएको थियो । 

हाल जडान भएका डाइलाइसिस मेसिनहरू प्राविधिक रूपले उन्नत रहेका, बिरामीहरूलाई सहज हुने प्रकारका, सञ्चालन गर्न सरल किसिमका भएको बारे इन्टर्नल मेडिसिन विभागका प्रमुख डा. रबिन मास्केले बताए । मिर्गौला बिरामीहरूलाई अझ बढी सेवा गर्न सकिने भएको हुँदा आफुलाई खुसी लागेको पनि उनले बताए ।   

त्यसै गरी उद्घाटन पश्चात् उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सचिवालयमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानको प्रगति विवरण तथा अन्य समसामयिक विषय बारे जानकारी गराएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए । 

opening