इटहरी : इटहरी उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भन्दा ९ करोड कम बजेट सार्वजनिक गरेको छ । आन्तरिक आयका थप श्रोत नबढेपछि बजेटको आकार घटाइएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को लागि २ अर्ब २७ करोड ४५ लाखको बजेट विनियोजन भएको थियो । यस पटक आगामी आबको लागि ९ करोड ३९ लाख घटाएर २ अर्ब १८ करोड ६ लाख १० हजार पुर्‍याइएको छ ।
चालु आवमा सङ्घीय, प्रदेश सरकारको अनुदान र आन्तरिक आय सहित २ अर्ब १७ करोड ४५ लाख आय हुने अनुमान जेठ मसान्त सम्म १ अर्ब ७१ करोड ५७ लाख ५६ हजार ५ सय ८१ मात्र खुद आय प्राप्त भएको छ । असार मसान्त सम्ममा २ अर्ब ५ लाख ९३ हजार १३८ रुपैयाँ मात्र आय हुने भएको छ । त्यस हिसाबले १७ करोड ३९ लाख ६ हजार ८६१ न्यून आय हुने देखिएको छ ।
चालु आर्थिक वर्षमा ४२ करोड आन्तरिक श्रोतको अनुमान गरिएकोमा जेठ मसान्त सम्ममा २४ करोड मात्र सङ्कलन भएको छ । यस पटक आन्तरिक श्रोतको अनुमान घटाएर ३६ करोड ५ लाख प्रक्षेपण  गरिएको छ । 
 यस्तो छ करको व्यवस्था 
व्यवसाय दर्ता भएका कुनै पनि व्यक्ति, फर्म सङ्घसंस्था वा निकायले आर्थिक वर्ष २०७८/७९ सम्म लाग्ने कर २०७९ साल पौष मसान्त भित्र बुझाएमा थप शुल्क, दस्तुर, व्याज, जरिवाना मिनाहा गरिने भएको छ । विना दर्ता व्यवसाय सञ्चालन गर्ने व्यवसायीले २०७९ पौष मसान्तभित्र नियमानुसार दर्ता गर्दा थप शुल्क तथा जरिवाना मिनाहा हुने भएको छ । 
यसअघिको सम्पत्ति कर, भुमिकर नतिरेका करदाताले २०७९ पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने थप शुल्क, व्याज, जरिवाना मिनाहा गरिने बजेटमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को एकीकृत सम्पत्ति कर, भूमिकर एवम् व्यवसाय कर बापतको रकम २०७९ पौष मसान्त भित्र दाखिला गर्न आएमा निर्धारित कर रकमको दश प्रतिशत छुट दिइनेछ व्यवस्था मिलाइएको छ ।
२०७५ अषाढ मसान्त अगाडिको बहाल कर मिनाहा गरिने र त्यसपछिको  सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७९ पुस मसान्त सम्ममा बुझाएमा सोमा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा गरिने भएको छ । त्यससँगै आर्थिक वर्ष २०७९÷८० मा लाग्ने घर जग्गा बहाल कर २०७९ पुस मसान्तमा बुझाएमा सोमा लाग्ने करमा दश प्रतिशत छुट हुने भएको छ । सुविधा लिई कर दाखिला नगर्ने व्यक्तिले तिर्नुपर्ने कर,शुल्क, जरिवाना तथा व्याज असुल उपर गरिनेछ उल्लेख गरिएको छ ।
एक लाख पुँजी भएका स्वरोजगार मूलक व्यवसाय गर्नेहरूको लागि करमा पूर्ण छुटको व्यवस्था मिलाइएको छ । महिला एक्लैले व्यवसाय गर्दा ४० प्रतिशत र सामूहिक व्यवसाय गर्दा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । क र ख वर्गका अपाङ्ग व्यक्तिले व्यवसाय सञ्चालन गरेमा व्यवसायमा लाग्ने करमा ४० प्रतिशत छुट दिइने भएको छ । 
यसअघि नवीकरण  नभएका निर्माण व्यवसायलाई २०७९ चैत्र मसान्त भित्र नियमानुसार नवीकरण गर्ने छुट दिइने भएको छ । १ हजार वर्ग फिट सम्मको संरचनाको घर नक्सा पास दस्तुर निःशुल्क गरिने भएको छ । यसअघि लिइँदै आएका पूर्वाधार मर्मत तथा सेवा शुल्क हटाइएको छ । मकै पोल्ने चिया बेच्ने नाङ्लो डोको ढाकीमा सागसब्जी बेच्ने, चामल पिठो चिउरा मुरली बेच्नेको लागि बाहल विटौरी निःशुल्क गरिएको छ ।