धरान : सप्तकोसीबाट धरान खानेपानी ल्याउनका लागि अध्ययन गर्न विज्ञ टोली धरान आएर काम सुरु गरेको छ । 

नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तर्गत नियुक्ति भएका परामर्शदाता तथा विज्ञ टोली धरान आइपुगेको हो । केही दिन अघि धरान आइपुगेको टोलीले मेयर हर्क साम्पाङ र खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलसँग परार्मश गरेर काम थालेको छ । 

नेपाल सरकारको खानेपानी मन्त्रालयले देशका विभिन्न नगरहरूमा पुर्वधार विकासको लागि इन्टरनेश्नल कन्सल्टेन्ट नियुक्ति गरेको छ । सोही कन्सल्टेन्टका भारतीय तथा नेपाली विज्ञहरूको टोली धरान आएर काम थालेको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बताए । उनीहरू केही समय धरान बसेर अध्ययन अनुसन्धान गर्नेगरी आएको मेयर साम्पाङले बताए । 

टोलीले धरानमा सप्तकोसीको पानी धरान ल्याउने बारेमा अध्ययन अनुसन्धान र सर्वे गर्नेछन् । त्यसैगरी धरानको ढल व्यवस्थापन र दिशाजन्य फोहोर व्यवस्थापन सम्बन्धी अध्ययन गर्ने खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले जानकारी दिए । 

निर्देशक पोखरेलका अनुसार सप्तकोसीबाट धरान खानेपानी ल्याउने सम्बन्धमा अहिले अध्ययननै सुरु गरिसकेका छन् । चतराबाट सर्वेको काम थालिसकेको र भोलि सम्ममा सकिने बताइएको छ । 

टोलीले धरानमा बर्तमानमा सञ्चालनमा रहेका खानेपानीको अवस्थाको अध्ययन र दिर्घकालिन समाधानका लागि विस्तृत अध्ययन गर्नेछ। धरानको खानेपानीको भौतिक अवस्थाको अध्ययन सँगै अहिले सञ्चालनमा रहेको खानेपानीलाई अल्पकालिन रुपमा कसरी सुधार गर्न सकिन्छ ? यस बारेमा पनि अध्ययन गर्ने निर्देशक पोखरेलले बताए । 

धरानको खानेपानी समस्याको दिर्घकालिन समाधान सप्तकोसीबाट खानेपानी ल्याउनुपर्ने भएकोले यसैमा बढी केन्द्रित रहेर अध्ययन भइरहेको छ । त्यो सँगै सप्तकोसीबाट ल्याएको पानी र सर्दु खोलाबाट बर्खायामको पानी सङ्कलन गर्न धरान-२० बानेटारमा बन्ने  जलकुण्डको पनि टोलीले (इआइए) वातावरणीय प्रभाव मूल्याङ्कन गर्नेछ । टोलीलाई धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ र खानेपानी बोर्डबाट कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले समन्वय गरिरहेका छन् । 

टोली जुन उद्देश्य लिएर धरान आएको हो त्यो सम्पन्न नहुन्जेल सम्म धरानमै रहने बताइएको छ । टोलीका केही सदस्य फर्किए पनि उनीहरूको प्रतिनिधि धरानमै रहेर काम गर्नेछन । उनीहरू कहिले सम्म धरानमा रहने भन्ने बारेमा भने खुलाइएको छैन । टोलीले धरानको खानेपानी, ढल र दिसाजन्य फोहोर व्यवस्थापनमा लाग्ने खर्चको बारेमा पनि अध्ययन गर्नेछ ।