आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै छ। यस दिन नवदुर्गामध्ये विशेषगरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्यगरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने आज आ-आफ्नो कुल परम्परा अनुसार कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च बलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोत पूजा र निसान पूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोत पूजा गर्ने प्रचलन छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकारवाला निकायको बैठकले गरेको छ ।
आज नवरात्रिको नवौँ दिन, आज दुर्गा माताको नवौँ शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा आराधना  गरिँदै छ ।  साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिँदै छ ।
आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता रहेको छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा बिराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो। माताको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्त गर्ने विश्वास छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ । 
मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ ।
सिद्धिदात्री सम्पूर्ण सिद्धि प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ। भगवान् शिवले पनि यी नै देवीको कृपाले आठ सिद्धि प्राप्त गरेको मान्यता छ। 
माताको आवरण दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शङ्ख, माथिल्लो हातमा कमलको फूल रहेको छ । माताको मन्त्र 'ॐ देवी सिद्धिदात्यै नमः अथवा 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम :'  हो एवम् माता कमलको आसनमा विराजमान हुनुहुन्छ ।
आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरूले असुरहरूलाई खोजी-खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती रहेको छ ।