बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठ एवम् धरानको विजयपुर स्थित दन्तकाली मन्दिरमा बलि सहित पूजा अर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ। 
आज बिहानै देखि दन्तकाली मन्दिरमा भक्तजनहरूको लागि पशु बलि दिनलाई फुकुवा गरिएको छ। दन्तकाली मन्दिरको नियम अनुसार आजदेखि यो सञ्चालनमा आएको हो‌।
आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि सहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
देवी दुर्गा आफ्नो आठौँ स्वरूपमा
महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शङ्ख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।
maha-astamiपौराणिक कथा अनुसार देवी महागौरी नाना प्रकारको दिव्य आभूषण धारण गरेकी, चार भुजाहरूले युक्त हुनुहुन्छ देवी महागौरी दाहिने भुजामा त्रिशूल तथा अभय मुद्रा प्रदर्शित गर्नुभएको, बायाँ भुजामा देवी वरद मुद्रा प्रदर्शित गरेकी तथा डमरु धारण गर्नुभएको छ । 
देवीको वाहन वृषभ अर्थात् साँढे हो त्यसैले देवी महागौरी वृषभमा सवारी गर्नुहुन्छ । यिनै देवीले नारद मुनि द्वारा उपदेश दिँदा, भगवान् शिवजीलाई पतिको रूपमा प्राप्त गर्नको लागि कठोर तपस्या गर्ने प्रतिज्ञा गर्नुभएको थियो । आफ्नो दुष्कर तपको कारण माता पार्वतीको शरीर कालो भएको थियो,वहाँको जस्तो महान् तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनेर  स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो । 
देवीको तपस्याबाट सन्तुष्ट भएका भगवान् शिवजीले गङ्गाको पवित्र जलबाट वहाँको शरीरलाई खूब मजाले स्नान गराई दिनुभयो, जसको कारण विद्युतको प्रभा जस्तै देवी कान्तिमान गौर वर्णकी हुनुभयो ।
नवरात्रको आठौँ तिथि अर्थात् महाअष्टमी यिनै महागौरीलाई समर्पित छ । देवीको उपासना साधकको लागि पूर्ण रूपले कल्याणकारी रहेको छ, पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,अविवाहिताहरूको विवाह हुने, दीन दुःखीको कष्ट निवृत्त हुने, साधक अक्षय पुण्यको अधिकारी बन्ने र असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति महागौरीमा रहेको छ, भने देवीको कृपाले अलौकिक सिद्धिहरू प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ । 
महागौरीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरू अधिक प्रिय छन् । माताको अन्य नामहरू अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी इत्यादि हो। मताखो ध्यान गर्ने मन्त्र: 'ॐ देवी महागौर्ये नमः।' अथवा "ॐ ऐं ह्रीं क्लीं महागौर्ये नमः।" हो।
Dantakali-Fulpati-6