इटहरी : दसैँ नयाँ नोटको दक्षिणा विशेष हुने गर्दछ । घरमा आउने पाहुना अनुसारको दक्षिणा छुट्टाउने र सोही अनुसार पैसाको व्यवस्थापन हुने गर्छ । एउटा परिवारमा न्यूनतम ५ हजार भन्दा माथि दक्षिणाकै रूपमा पैसा चाहिन्छ । 
तर उद्योगी भीम घिमिरेको परिवारमा भने दक्षिणाको रूपमा पाहुनाकै सङ्ख्या बराबर मात्र खर्च हुन्छ । आशीर्वाद ग्रहण गर्ने पर्व भएकाले दक्षिणालाई प्राथमिकता दिँदैनन् उनी । दशैलाई इमान्दारीता र सम्मानको पर्वको रूपमा लिन्छन् व्यवसायी भीम घिमिरे । 
उनको परिवारमा दक्षिणको रूपमा एक रुपैयाँको सिक्का मात्र दिने गरिन्छ । विगत १५ वर्ष देखी दक्षिणाको रूपमा भए एक रुपैयाँ नभए दुई र त्यो पनि नभए ५ रुपैयाँको सिक्का दिने गरिएको उनी बताउँछन् । ‘एउटै परिवारमा दाजु धनी हुँदा भाइ गरिब हुन सक्छ । दाजुले धेरै दक्षिणा दियो भने भाइसँग त्यो हैसियत नहुन सक्छ । त्यसैले सबैलाई सहज हुने परम्परा अपनाउनु राम्रो हो । सबैले अट्ने समाज बनाउन सरल जीवनशैली उपयुक्त हुन्छ,’ उनले भने । 
दसैँ भनेको भेटघाट र आशीर्वाद लिने चाड भएको बताउँदै उनले यसलाई लेनदेनको परम्पराको रूपमा नमनाउने उनी बताउँछन् । यस पटकको दसैँमा अधिकतम १५ हजार खर्च गर्ने उनको योजना छ ।
अहिले दसैँको चलन बदलिँदै गएको उनी बताउँछन् । ‘पहिला इमान्दारीता, समझदारी र सम्मान थियो । अहिले त्यसैको अभाव छ ।,’ उनी भन्छन्, ‘खासमा धेरै लामो समय भेट नभएका आफन्त सँगको भलाकुसारी र सुख दुःखका कुरा साट्न पाउने ठुलो अवसर हो दसैँ । मोबाइल र टेलिभिजनमा व्यस्त भएर आफन्तको बेवास्ता गर्ने चलन बस्यो । आफन्तलाई भेट्नु भन्दा विदेश घुम्न जाने चलन भयो । यसले गर्दा संस्कार हराउँदै गयो की भन्ने लाग्छ मलाई ।’  
सुनसरीको वराहक्षेत्र ७ चक्रघट्टी घर भएका उनी रोटे पिङ, साथीभाइ जमघट र टिका लगाउन अन्तिमसम्म पर्खिएको कुरालाई रमाइलो मान्छन् । सबैभन्दा कान्छो भाइ भएकैले भोक लागेर पनि पालो क्रममा अन्तिममा टिका लगाउनुको आनन्द छुट्टै भएको उनले सुनाए ।  
उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्ष समेत रहेका घिमिरे एबी इँटा तथा टायल्स उद्योग, एबी इन्टरप्राइजेज, र ग्लोबल वर्कसपमा सञ्चालक हुन् । केही समयमै एबि एग्रिकल्चर फार्म सुरु गर्ने उनको तयारी छ ।