धरान : लिम्बु समुदायको भाषिक, सांस्कृतिक, धार्मिक संस्कारका परम्परागत मूल शास्त्र मानिने मुन्धुम अध्ययन, अनुसन्धानका लागि धरानमा छुट्टै मुन्धुम अध्ययन केन्द्र स्थापना गरिएको छ । धरान वडा १५ एभरेष्ट लाइनमा आज शनिवार आयोजित एक कार्यक्रमका बिच अध्ययन केन्द्रको कार्यालय विधिवत् उद्घाटन गरिएको हो । 

यसअघि किरात याक्थुङ चुम्लुङबाट फरक विचार राख्दै गठन भएको युमा साम्यो महासभामा रहेका पदाधिकारीहरू अध्ययन केन्द्रमा रहे तापनि केन्द्र छुट्टै संस्थाको रूपमा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भएको छुट्टै संस्थाको रूपमा अध्ययन केन्द्रले २०७९ पुस १८ गते संस्था दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । 

मुन्धुम अध्ययन केन्द्र कार्यालय उद्घाटन कार्यक्रममा मुन्धुम विज्ञ लक्ष्मण मेयाङबोले नयाँ संस्था खोल्न सजिलो छ तर, त्यसको उद्देश्य अनुसार अघि बढाउन कठिन कुरा भएको बताए । मेयाङबो युमा साम्योका केन्द्रीय उपाध्यक्ष पनि हुन । उनले मुन्धुमको अध्ययन, अनुसन्धान र पुस्तक प्रकाशन निकै खर्चालु काम भएको बताउँदै भने ‘संस्थालाई यी सबै काम गर्न आर्थिक भारको चुनौती छ ।’

लिम्बु साहित्यकार पुष्प लोहाङले मुन्धुम प्राज्ञिक विषय भएकोले पछिल्लो समय येबा, साम्बा, फेदाङमाहरुमा पाइने मुन्धुमको विविधताका बारेमा प्राज्ञिक अध्ययन हुनुपर्ने बताए । डिल्ली लिङदम, रमेश कुरुम्बाङ, पञ्चबहादुर साम्याङख्याम, मोहन तिगेला, सरिता कन्दङवा, सङ्गीता सुब्बा लगायतले शुभकामना प्रकट गरे ।

युमा साम्योका अध्येता हितराम तिलिङले अध्ययन केन्द्रमा युमा साम्यो सम्बद्ध विद्वानहरुनै रहेकाले संस्था साम्यो भन्दा अलग त हो कि, साम्यो अन्तर्गतकै केन्द्र हो, प्रस्ट्याउन सके राम्रो हुने धारणा प्रकट गरे । कार्यक्रमको सभापतित्व प्राध्यापक हर्क सुब्बा इजमले गरेका थिए । इजम युमा साम्योका मुन्धुम अध्ययन विभागका प्रमुख पनि हुन् । 

कार्यक्रमको संयोजक नेत्र साउनदेन पनि साम्योका सुनसरी जिल्ला अध्यक्ष हुन् । उक्त अवसरमा प्रमुख अतिथि टिकाराम कुरुम्बाङले युमा पूजा गरी कार्यक्रम उद्घाटन तथा अग्रजद्वय लक्ष्मण मेयाङबो र हर्कजंग कुरुम्बाङले अध्ययन केन्द्रको ब्यानर अनावरण गरेका थिए । अध्ययन केन्द्रको छुट्टै कार्यालयका बारेमा युमा साम्यो महासचिव डा. रमेश इजमले केन्द्रमा साम्योकै पदाधिकारीहरू भए तापनि छुट्टै संस्था बनाउन नसोधिएको बताए ।

mundhum-aadhyan-kendra-2