धरान : अखिल नेपाल फुटबल सङ्घ एन्फा सङ्घीय संरचनामा गएपछि गठन भएका ६ प्रदेश सङ्घहरू मध्ये कोशी प्रदेशको सक्रिय गतिविधि अन्य सङ्घहरूका लागि उदाहरणीय बनेको छ ।

कोशी प्रदेश फुटबल सङ्घद्वारा आज मङ्गलवार आयोजित दुई हप्ते एएफसी ‘सी’ लेभल फुटबल प्रशिक्षक प्रशिक्षण शिविर उद्घाटनको अवसरमा उक्त चर्चा भएको हो । ७ प्रदेश मध्ये एन्फाको ६ प्रदेश सङ्घहरू कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश फुटबल सङ्घ गठन भएका छन् ।

सुदूरपश्चिम प्रदेश सङ्घ भने गठन भएको छैन । गठन भएका प्रदेश सङ्घहरू मध्ये कोशी प्रदेश फुटबल सङ्घको विधिवत् अधिवेशन भई प्रादेशिक फुटबलका गतिविधिमा ठुलो फड्को मारेको एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमालले बताए । उनले भने ‘एन्फा प्रदेश फुटबल सङ्घहरूमा कोशी प्रदेश सबै कुरामा अग्रस्थानमा छ ।’

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रदेश फुटबल सङ्घको प्रतिष्ठालाई अझ अघि बढाउन धरानमा सङ्घको व्यवस्थापनका लागि स्थानीय सरकार उपमहानगरपालिकाबाट पूर्ण सहयोग प्रदान गरिने वचन दिए ।

उनले भने ‘खेलकुदको क्षेत्रमा फुटबलको विकासले आर्थिक गतिविधिमा ठुलो भूमिका खेल्ने भएकाले धरानलाई फुटबलको केन्द्र बनाउन सकारात्मक रहेको छु ।’ उनले धरानमा रहेको एन्फा एकेडेमीको थप पूर्वाधार विकासमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उपमहानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले प्रदेश सङ्घ फुटबललाई व्यवसायीक बनाउने दिशामा अग्रसर भएको बताउँदै भने ‘अब फुटबलका सबै गतिविधिहरूको नियमन हुनेछ ।’ आधिकारिक प्रशिक्षक, रेफ्रि विद्यालय तह देखीका प्रतियोगिता तथा फुटबल टिमहरूका लागि अनिवार्य गरिने उनले बताए ।

फुटबलमा लामो समय योगदान गरेका खेलाडीहरू फिफाको मान्यता प्राप्त प्रशिक्षकका रूपमा तथा मान्यता प्राप्त रेफ्रिहरुलाई मुलुकमा मात्र होइन विदेशको फुटबलमा पनि संलग्न गराउने कार्य एन्फाले गर्ने अध्यक्ष राईले बताए ।

कोशी प्रदेश फुटबल सङ्घले यसअघि गरेको ‘फिफा कन्ट्याक्ट’ कार्यक्रम त्यसैको एक खुड्किलो भएको बताउँदै यसपालि एएफसी ‘सी’ लेभल फुटबल प्रशिक्षक लाइसेन्स प्रशिक्षण थप कदम भएको बताए । प्रदेश सङ्घका महासचिव भगीरथ आलेले भने ‘धरानले फुटबलको क्षेत्रमा नयाँ नयाँ इतिहास बनाउँदै गएको छ ।’

आज देखी सुरु भएको एएफसी ‘सी’ लेभल फुटबल प्रशिक्षक प्रशिक्षण कोर्ष कुल १४ दिनको हो । पहिलो चरणमा ७ दिन सम्म प्रशिक्षण दिइने छ । प्रशिक्षणलाई खेलाडीहरू बिच प्रयोगात्मक प्रशिक्षणका लागि केही समय दिइने छ ।

दोस्रो चरणको ७ दिने प्रशिक्षण लिएपछि प्रशिक्षार्थीहरुले परीक्षा दिनु पर्नेछ । परीक्षामा उत्तीर्ण भएमा मात्र एएफसी ‘सी’ लेभल फुटबल प्रशिक्षकको मान्यता प्राप्त हुनेछ । मान्यता प्राप्त प्रशिक्षक ‘बी’ र ‘ए’ लेभलको कोर्षमा अघि बढ्ने छ ।

प्रशिक्षणमा मधेस प्रदेशका सहित १६ जिल्लाका २४ जना ‘डी’ लेभलका प्रशिक्षकहरू सहभागी छन् । सहभागी प्रशिक्षकहरूमा पुराना वरिष्ठ खेलाडीहरू पनि सहभागी छन् । प्रशिक्षणमा मुख्य प्रशिक्षक  एन्फाका संजित सिंह छन् । साथै प्रशिक्षकहरू श्याम मानन्धर, अर्जुन राई र केशव कार्की सहितले प्रशिक्षणको सहजीकरण गर्नेछन् ।

refree-trainingRefree course dharan KapuriNews2