धरान : भारत मध्य प्रदेशका एक मजदुर राजु गौंडले गतःबुधवार भारु ८० लाख रुपैयाँ मूल्याङ्कन गरिएको १९.२२ क्यारेटको 'डायमन्ड' खनेर निकालेका छन् । 

प्रदेशको पन्ना जिल्लाका कृषक खेतीको काम नहुँदा हिरा खन्ने काम गर्छन् । त्यहाँ सरकारी निकायले व्यक्ति, परिवार र सहकारीलाई हिरा खोज्न ठाउँ लिजमा दिन्छ । लिज रकम समय तोकेर २ सय देखी २५० रुपैयाँ सम्म तिर्नु पर्छ ।

उनीहरू सामान्य घरेलु औजार कुटे, कोदालो, खन्तीले खनेर हिरा खोज्दछन् । पाइएका सानातिना हिरा सरकारी डायमन्ड आफिसमा बुझाउँछन् र त्यहाँ मूल्याङ्कन गरिन्छ । यो भारत सरकारको नेशनल मिनरल डेभलोपमेन्ट कर्पोरेसनको 'मेक्नाडाइज डायमन्ड माइनिङ परियोजना' हो ।

प्रायः सानो तिने हिरा पाइने परियोजनामा ठुलो हिरा पाइएको इतिहास पनि नभएको होइन । सन्  २०१८ मा बुंदेलखण्डका एक मजदुरले यसरी नै १ करोड ५० लाखको हिरा फेला पारेका थिए ।

राजु गौंडले पन्ना जिल्लाको कल्याणपुर पट्टीमा उनका पिताले लिजमा लिएको खदानबाट उक्त हिरा निकालेका हुन् । उनले भने, 'यो धेरै मिहिनेतको काम हो, गहिरो खाडल खनेर ढुङ्गा माटो बाहिर निकाल्छौँ, चाल्नीमा पखाल्दै ध्यानपूर्वक पत्थर र हिरा खोज्नु पर्छ ।'

गत: बुधवार सधैँ जस्तै उनी आँखाकै नजिक ढुङ्गा माटो पानी हाले छान्दै थिए । त्यसै बिच काँच जस्तो देखिने 'एक पिस' देखियो । त्यही टुक्रा नै भारु ८० लाख पर्ने १९.२२ क्यारेटको हिरा थियो ।

उनले २/४ दिन, वर्ष खनेर यो हिरा फेला पारेका भने होइनन् । यसमा राजु गौंडको श्रम, मिहिनेतप्रति विश्वास र निरन्तरताको ठुलो भूमिका छ । उनको परिवारले विगत १० वर्ष देखी परियोजनाको हिरा खोज्ने काम लिजमा लिएर गर्दै आएका छन् ।

उनले भने, ‘हामी गरिब हौँ, हाम्रो आम्दानीको अर्को श्रोत छैन, खेतीपातीको काम नहुँदा हामी सबै यसैबाट केही आउने आशा गर्छौ ।’ परिवार माथि ठुलो ऋण भएकोले हिराबाट आएको रकमले पहिले ऋण तिर्ने बताउँदै उनले भने, ‘भोली फेरी म त्यही खदानमा काम गर्न जान्छु र फेरी हिरा खोज्न सुरु गर्छु ।’

(बिबिसीका शर्लिन मोलनको फिचरबाट संक्षिप्त)