इटहरी : कोशी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन विकास आयोजना मार्फत निर्माण गरेको फन पार्क हराएको छ । २०७६ फाल्गुन देखि निर्माण सुरु भएको फन पार्क २०७७ असार १५ गते निर्माण सम्पन्न भएको हो ।

फनपार्क अन्तरगत बाटो, फलैँचा निर्माण तथा बोटबिरुवामा रंगरोगन गर्ने काम सम्पन्न भएको थियो । फनपार्क निर्माण भएको ५ वर्षपछि कुनै पनि संरचनाको अवशेष नभेटिनेगरि समाप्त भएको छ। कोशी प्रदेशको ५७ लाख ९९ हजार र उपभोक्ताको ६ लाख ९६ हजार लगानीको अनुमान गरिएपनि ६० लाख बजेटका आयोजना सम्पन्न गरिएको हो ।

इटहरीको काव्यबाटिकालाई कला, साहित्य र प्राकृतिक कुञ्जको रूपमा विकास गर्ने रणनीति तय भएको थियो । फन पार्क निर्माणकै क्रममा स्थानीय कलाकार तथा साहित्यकारले प्राकृतिक सम्पदा मास्न नहुने भन्दै विरोध जनाएका थिए । त्यसपछि सोही स्थानमा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालय स्थापना भएको छ ।

हाल ६० लाखमा निर्माण भएका संरचना नभेटिए पनि नयाँ परियोजना सुरु भएको छ । हाल काव्यबाटिका भित्रै २० करोड ९५ लाख लागतको सभागृह निर्माण भइरहेको छ ।

kabya batika 2