धरान : स्वास्थ्यमा सबैको पहुँच, सर्वसुलभ स्वास्थ्य सेवा सबैको अधिकार भन्ने नारासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ दिने स्वास्थ्य विज्ञान प्रर्दशनी भइरहेको छ ।
प्रतिष्ठानको एकेडेमिक ब्लकमा बुधबारदेखि प्रर्दशनी शुरु भएको हो । प्रर्दशनीको उद्घाटन प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले गरेका थिए । स्कुल र प्लस टुका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको प्रर्दशनीमा प्रतिष्ठानका विभिन्न १९ वटा विभागहरुले सचेतना एवं जानकारीमुलक स्वास्थ्य सम्बन्धी स्टलहरु राखेका छन् भने एउटा दिल्ली पब्लिक स्कुलको पनि स्टल छ । उनीहरुले विद्यार्थीहरुलाई स्वास्थ्य, रोग र रोगबाट बच्ने उपायहरुबारे मौखिक, व्यावहारिक जानकारी पनि गराइरहेका छन् । विद्यार्थीहरुले प्रर्दशनीबाट आफुहरुलाई धेरै ज्ञान हासिल गरेको बताएका छन् । युरेका आवासिय उमाविकी कक्षा १० की छात्रा निकिता तामाङले रोगहरुको बारेमा, र कसरी बच्न सकिन्छ भनेर धेरै राम्रो जानकारी पाएको बताइन् ।
प्रर्दशनी प्रतिष्ठानको २५ औं बार्षिकोत्सव एवं रजत जयन्तीको अवसरमा आयोजना भएको हो । प्रर्दशनी आयोजक समितिका संयोजक एवं स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रमुख डा.अनुप घिमिरेका अनुसार कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रर्दशनी गरिएको हो । तर, अन्य विद्यार्थी, सर्वसाधारणहरुलाई पनि प्रर्दशनीले फाइदा पुग्ने भएकोले सबैको लागि खुला गरिएको छ । प्रर्दशनीमा प्रतिष्ठानका कलेज अफ नर्सिङ, डेन्टल सर्जरी, पब्लिक हेल्थ, इन्टरनल मेडिसिन, बच्चा विभाग, सर्जरीलगायत १९ विभाग र दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुको पनि एउटा गरी कुल २० वटा स्टलहरु छन् । ‘हाम्रो स्वास्थ्य के के कारणले जोखिममा छ, र त्यसबाट बच्न के गर्नुपर्छ, के गर्न हुदैन भनेर स्वास्थ्यसम्बन्धी जानकारी गराउने उद्देश्य हो । यहाँ हामी शरीरको हरेक अंगमा कसरी असर पुग्छ भनेर जानकारी गराउछौं,’उनले भने । बालरोग विशेषज्ञ डा.अरुणकुमार सिंहले विद्यार्थीहरुलाई स्वास्थ्य, रोगसम्बन्धी जानकारी हासिल हुदा धेरै फाइदा पुग्ने बतए ।

(फोटोफिचर)

2 2 4 3 inside 1