धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनलाई पनि थप अध्ययन गरी आर्थिक अनियमिततामा संलग्नलाई कारबाही तथा वर्खास्त गर्नको लागि अहिले पुनः स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ ।
प्रतिष्ठानका कुलपतिको हैसियतमा प्रधानमन्त्री ओलीले सहकुलपति रहेका स्वास्थ्यमन्त्री यादवको अध्यक्षतामा नयाँ छानबिन समिति गठन गरेका छन् । प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर डा. गुरु खनाल सिनेट सदस्यको हैसियतमा यो समितिमा सदस्य छन् । तीनै जना वर्तमान उपकुलपतिको विरोधी खेमामा भएकोले यो छानबिन समितिले उपकुलपति डा.राजकुमार रौनियारलाई बर्खास्तको सिफारि गर्ने चर्चा शुरु भइसकेको छ । उपकुलपतिलाई बर्खास्त गर्ने अधिकार कि त सिनेट बैंठकलाई छ कि त कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई मात्र छ । सिनेट बैठकमा दुई तिहाई बहुमत सदस्यले निर्णय गर्न सक्छन् भने कुलपतिले आवश्यक कारणसहित सहकुलपतिको सिफारिशमा बर्खास्त गर्नसक्छन् । अहिले दोस्रो विकल्पमा जान प्रधानमन्त्रीले छानबिन समिति गठन गरेको बताइएको छ ।

सचिवको प्रतिवेदनमा के छ ?
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव अधिकारीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले झण्डै २ साता अघि नै प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । गोप्य राखिएको उक्त प्रतिवेदनले प्रतिष्ठानमा आर्थिक अनियमितता भएको ठहर गरेपनि पदाधिकारीहरुलाई भने तोकेर कारबाहीको सिफारिश गरिएको छैन । ‘हामीले जुन जुन केस हेर्यौं, ती बिषयहरुमा अनियमितता छ कि छैन भनेर उल्लेख गरेका छौं, कारबाहीको सिफारिश हामीले गर्न सक्दैनौं । अब त्यो प्रतिवेदनको आधारमा कसलाई के सिफारिश गर्ने भनेर अर्को निर्णय गर्नुपर्छ,’सचिव अधिकारीले भने ।
समितिलाई अनियमितता भएको वा नभएको भनेर छानबिन गर्ने मात्र अधिकार दिइएकोले कसलाई के कारबाही गर्ने भन्ने निर्णय र सिफारिश प्रतिवेदनमा नराखिएको सचिव अधिकारी बताउँछन् । उच्चस्तरीय समितिलाई प्रतिष्ठानको आर्थिक बर्ष २०७२/०७३ देखिको भवन निर्माण, उपकरण, मेडिकल सामग्री, सवारीसाधान सम्बन्धी खरीद प्रक्रियाहरुको विस्तृत छानबिन गर्ने अधिकार दिएको थियो । सचिव अधिकारी प्रतिष्ठानका उपकुलपतिलाई कारबाही गर्नेबारे ऐनमा नै स्पष्ट उल्लेख गरिएको छ । त्यसैवमोजम सहकुलपतिको अध्यक्षतामा अर्काे छानबिन समिति गठन भएको हुनसक्ने उनको पनि अनुमान छ ।

स्वास्थ्यमन्त्री भन्छन्,‘बीपीलाई सुधार गर्नैपर्छ’
सहकुलपति एवं स्वास्थ्यमन्त्री र हालै गठित छानबिन समितिका अध्यक्ष उपेन्द्र यादव ऐन अनुसार नै छानबिन समिति गठन भएको बताउँछन् । सचिवले दिएको प्रतिवेदन पनि अध्ययन गरेर आवश्यक सुझाव प्रधानमन्त्री ओलीलाई दिइने उनले बताए । ‘कानुनमा भएको व्यवस्था अनुसार नै सहकुलपतिको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति बनेको हो । समितिले प्रतिवेदन हेरेर आवश्यक सिफारिश गर्छ,’मन्त्री यादवले भने,‘बीपीमा धेरै समस्याहरु छन्, त्यसलाई सुधार गर्नैपर्छ, त्यसैको लागि छानबिन समिति बनेको हो ।’

कसलाई के छ आरोप ?
अनियमितता आरोप वर्तमान उपकुलपति डा.राजकुमार रौनियारलाई मात्र होइन, पुर्वउपकुलपति डा.बीपी दास पनि लागेको थियो । दासले ४ सय वेडको मातृशिशु भवनको स्वीकृत लागत स्टिमेट ७६ करोडभन्दा बढी करिब डेढ अर्बमा ठेक्का सम्झौता गरेर ठेकेदारबाट मोटो कमिशन लिएको आरोप लाग्दै आएको छ । यस्तै, नेपाल फाइनान्सियल स्टाण्डर्ड(एनएफएस)को ठेक्कामा पनि एउटा कन्सल्टेन्सीसँग मिलेमतोमा अनियमितता गरेको उनीमाथि आरोप छ ।
यस्तै, अहिलेका उपकुलति रौनियारलाई नियुक्ती भएको केही समयमा नै एमआरआई खरीद प्रकरणमा आर्थिक अनियमितताको गम्भीर आरोप लागेको थियो । आफु रेडियोलोजी विभाग प्रमुख हुदा १.५ टेस्लाको एमआरआई खरीद गर्न नमानेका रौनियार आफै उपकुलपति भएपछि भने सोही एमआरआई खरीद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयमा रजिष्ट्रार र त्यसबेलाका रेक्टर डा.बिक्रम श्रेष्ठले भने नोट अफ डिसेन्ट लेखेका थिए । अनियतिताको आरोप चर्किएपछि उनले टेण्डर नै रद्द गर्नुपरेको थियो । रौनियारमाथि यो मात्र आरोप होइन, हृदय रोग केन्द्र(कार्डियोलोजी) र क्यान्सर सेन्टर(अंकोलोजी)को भवन निर्माण गर्नका लागि परामर्शदाता नियुक्तीमा अत्यधिक बढी रकम ७ करोड भुक्तानी दिएर कमिशन लिएको आरोप लागेको थियो ।


आफै पदाधिकारी, आफै छानबिन
बीपी प्रतिष्ठानको अनियमितताबारे छानबिन र कारबाही सिफारिश गर्न स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठन भएको नयाँ छानबिन समितिमा प्रतिष्ठानकै दुई पदाधिकारी सदस्य छन् । आफ्नै संस्थामा भएको अनियमितताबारे छानबिन गर्न आफै समितिमा बस्दा आग्रह, पुर्वाग्रह हुने र प्रतिवेदन पनि विश्वास योग्य हुने कतिपयको टिप्पणी छ । हुन त रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर डा.गुरु खनाल सिनेट सदस्यको हेसियतमा छानबिन समितिमा राखिएका हुन् । तर, दुवै प्रतिष्ठानका उच्च पदाधिकारी पनि भएकोले उनीहरुले गर्ने छानबिन र सिफारिश आग्रह, पुर्वाग्रहमिश्रित हुनसक्ने प्रतिष्ठानकै कर्मचारी, चिकित्सकहरु बताउँछन् । ‘सबैलाई प्रष्ट छ, रजिष्ट्रार र भिसिबीच बेमेल छ । एकले अर्कोलाई सक्ने खेलमा दुवै छन् । रेक्टरसँग पनि राम्रो सम्बन्ध छैन । रेक्टर र रजिष्ट्रार नेकपाका परे, भिसि कांग्रेसको,’नाम नखुलाउन आग्रह गर्दै एक कर्मचारीले भने,‘अनि रेक्टर र रजिष्टार पनि भएको छानबिन समितिले दिने प्रतिवेदन कति निष्पक्ष होला ?’

तस्बिर १ : प्रतिष्ठानका वर्तमान उपकुलपति डा.राजकुमार रौनियार ।

RK Rauniyar

तस्बिर २ : प्रतिष्ठानका पुर्वउपकुलपति डा.बीपी दास ।

BP Das