धरान : सबैतिर दशैको उल्लास थियो । स्कुल, कलेज विदा भइसकेको थियो । साथीभाईहरु घर फर्किसकेका थिए । धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसमा कृर्षि इञ्जिनियरीङमा स्नातक अध्ययनरत बुटवलका मनोज ज्ञवाली भने यसपाली घर गएनन् ।
गुल्मीका आतिज घिमिरे, इलेक्ट्रोनिक्स विभागका वैकुण्ठ आचार्य, मेकानिकलका अभियान दास(सप्तरी) पनि दशै विदामा यसपाली घर गएनन् । दशैभरि उनीहरुको क्याम्पसको रोबोटिक्स क्लब(वर्कशप)मा बित्यो । धरान घर भएका सशांक पोखरेलको समय पनि त्यही नै बित्यो । आफ्ना साथीभाईहरु दशैंको उल्लासमा रमाइरहदा यी ५ विद्यार्थीहरु भने रोबोट बनाउन ब्यस्त थिए । घर परिवार र आफ्ना दौतरीहरुको सम्झना नआएको पनि होइन । तर, रोबोट लिएर चीन प्रस्थान गर्ने दिन नजिकिदै गएकोले उनीहरु आफ्नो ‘मिशन’ पुरा गर्नमा नै केन्द्रीत भए ।
विद्यार्थीहरु असोज १ गतेदेखि चौबिसै घण्टा रोबोटिक्स क्लबमा बिताइरहेका थिए । उनीहरु खाजा र खाना खान एक छिन बाहिर निस्कनुबाहेक त्यही सुते । उठेर त्यही काम गरे । उनीहरु कार्तिक ७ गते(आज) काठमाण्डौ पुग्नु थियो, र रोबोट लिएर ८ गते चीनतर्फ उड्नुथ्यो । ‘विद्यार्थीहरुको दशैं यही क्लबमा नै बित्यो । टिकाको दिन मेरो घरमा एकछिन टिका लगाएपछि फेरी यही फर्किएर काममा जुटिहाले,’कृर्षि इञ्जिनियरीङ विभागका विभागीय उपप्रमुख समीर शाक्यले भने,‘कार्तिक ८ मा हामी चीन जादैछौ ।’

4 6
चीनको युहान प्रान्तमा आयोजना हुने चाइना एग्रीकल्चरल रोबोटिक्स २०१८ मा एसिया प्यासिफिक राष्ट्रहरु रोबोट प्रतिस्पर्धामा सहभागी हुुनेछन् । उक्त प्रतिस्पर्धामा नेपालबाट पुर्वाञ्चल क्याम्पसको कृर्षि इञ्जिनियरीङ विभागले पनि रोबोटसहित सहभागीता जनाउदैछ । कृर्षि विभागअन्र्तगतको कृर्षि निर्देशनालयले कृर्षि इञ्जिनियरीङ विभागलाई प्रतिस्पर्धामा पठाएको हो । कृर्षि ईञ्जिनियरीङ पढाई हुने यो एक मात्र सरकारी क्याम्पस हो । संयुक्त राष्ट्रसंघको सि–साम(सेन्टर फर सस्टेनेवल एग्रिकल्चर मेकानिज्म), चाइनीज एग्रिकल्चर युनिभर्सिटी र चाइनिज एग्रिकल्चर मेशिनरी म्यानुफ्याक्टर ग्रुपले प्रतिस्पर्धा आयोजना गरेको हो ।
कुल १ सय ५० वटा रोबोट सहभगाी हुने प्रतिस्पर्धामा विभागीय उपप्रमुख शाक्यको नेतृत्वमा यहाँका विद्यार्थीहरु जानेछन् । प्रतिस्पर्धा कार्तिक ९ र १० गते हुनेछ । त्यसैको लागि दशैंको रमाइलोलाई पनि माया मारेर विद्यार्थीहरु रोबोट तयार गरेका हुन् । ‘फ्रट हार्भेष्टिङ रोबोट बनाएका छौं, पाकेको फललाई मात्र टिप्छ,’विद्यार्थी वैकुण्ठ आचार्यले भने,‘रोबोटमा क्यामेरा छ, सेन्सर गर्छ र पाकेको फल मात्र टिप्छ ।’ विद्यार्थी र विभाग आफैले स्रोत जुटाएर रोबोट तयार गरेका हुन् । यसमा उनीहरुको २ लाख बढी खर्च भइसकेको छ । आयोजकले ४ जनाको मात्र आउने जाने, खाने बस्ने प्रबन्ध गरेको छ । एक जनाको खर्च पनि आफैले जुटाउनुपर्नेछ । ‘प्रतिस्पर्धामा हाम्रो कलेज र पुर्वबाट पहिलो सहभागिता हो । हामी सबै ब्याचलर लेभलका छौं, प्रतिस्पर्धा चै मास्टर लेभलको हो,’अभियान दासले भने,‘त्यसैले हामी एकदमै उत्साहित छौं ।’
विभागीय प्रमुख जावेद आलम प्रतिस्पर्धामा सहभागी हुदा विद्यार्थी र क्याम्पसको लागि सिकाई उपलब्धी हुने बताउँछन् । साथै, प्रविधिको विकासले जनशक्ति पलायनको कारण उत्पन्न समस्यालाई समाधान गर्ने उनको भनाई छ । ‘हामीले मेहनत गरेका छौं, आफ्नो संस्था र देश पनि चिनाउने अवसर पनि हो,’आलमले भने,‘अरु विश्वविद्यालयसँग आपसी सहकार्य, तालमेल हुनसक्छ । हामीले जे बनाएका छौं, त्यसले जनशक्ति पलायन हुदा उत्पन्न समस्यालाई भविष्यमा रोबोटले ठाउँ लिएर एडजस्ट गर्नसक्छ ।’ मान्छेले फलफुल टिप्दा पाकेको र काँचो सबै टिप्ने भएकोले विकसित मुलुकमा भने प्रविधिको प्रयोग शुरु भइसकेको छ । नेपालजस्तो तेस्रो मुलुकमा प्रविधि प्रयोग हुन सकेको छैन । ‘रोबोटले पाकेको फल मात्रै टिप्छ, जनशक्ति अभावलाई पुर्ति गर्छ,’आलमले भने,‘सबैभन्दा ठुलो कुरा त हामी पनि गर्नसक्छौं भन्ने सन्देश दिन्छौं । हुन त विदेशमा हाम्रो विद्यार्थीहरुले धेरै गरेका छन्, अब देशमा पनि गरौं भन्ने सन्देश दिन्छौं ।’

3 17