धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दक्षिण एसियाकै नमुना मेकिडल कलेज एवं अस्पतालकोरुपमा मानिन्छ । यहाँ देशविदेशबाट मेडिकल शिक्षा पढ्न आउछन् भने प्रदेश १ को सबैजसो जिल्लाबाट विरामीहरु उपचारको लागि रिफर भई आउछन् ।
राम्रो उपचार सेवा पाउने आशामा यहाँ आएका विरामीहरु भने आवश्यक जाँच र आइसियु, एनआईसियु जस्ता अत्यावश्यक सेवाको अभावमा पुनः निजी स्वास्थ्य संस्थामा रिफर भई जान्छन् । प्रतिष्ठान स्थापना भएको २५ बर्ष पुगिसकेको छ । यहाँको बेड संख्या विस्तार भएर ७ सय ६३ पुगेको छ । हरेक दिन कम्तीमा २ हजार विरामी ओपिडीमा उपचार गराउन आउछन् भने गम्भीर दुर्घटन एवं जटिल प्रकृतिका विरामीहरुको आकस्मिक कक्षमा घुइचो लाग्छ । जनशक्ति, बेड संख्या, कर्मचारी जुन संख्यामा बीपीमा वृद्धि भइरहेको छ, त्यसको अनुपातमा भने यहाँको सेवा प्रभावकारी हुन सकेको छैन । यहाँको एमआरआई न्युन क्षमताको छ, जसले जटिल खालको विरामीको एमआरआई गर्नुपर्दा निजीमा जानुपर्छ । सिटिस्क्यान बेला बेला बिग्रिरहन्छ, विरामीहरु निजीमा महंगो शुल्क तिर्न पुग्नुपर्छ ।
सबैभन्दा ठुलो पीडा त जटिल प्रकृतिका विरामीहरुलाई आइसियु र बच्चाहरुको लागि एनआइसियु बेड नपाउदा भोग्नुपर्छ । भेन्टिलेटरसहितको आइसियु, एनआइसियु अभावमा बीपीबाट गम्भीर खालका विरामीहरुलाई निजी अस्पताल(अधिकांश विराटनगर) रिफर हुने गरेका छन् । जटिल प्रकृतिका विरामी एवं घाइतेहरुलाई अप्रेशन पश्चात भेन्टिलेटरसहितको आइसियु बेड आवश्यक पर्छ । तर, प्रतिष्ठानमा न्युन संख्यामा आइसियु, एनआइसियु बेड भएकोले धेरैजसो विरामी रिफर हुन्छन् । रिफर गरिएका विरामीहरुले निजी अस्पतालमा महंगो शुल्कमा उपचार गराउन बाध्य हुन्छन् । ‘आइसियु कक्ष, इर्मजेन्सी कक्ष विस्तार नभएर अति नै समस्या भइरहेको छ, विरामीहरुलाई भनेजस्तो उपचार सेवा दिन गाह्रो भएकोे छ,’आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्ल भन्छन्,‘अत्यन्तै दुःखको साथ भन्नुपर्छ, कि बीपीबाट विरामी रिफर गर्नुपरिरहेको छ, सिकिस्त विरामीहरुको ज्यानलाई झनै जोखिम बनाइरहेको हुन्छ ।’
आइसियु चाहिने विरामीको अवस्था त्यसैपनि नाजुक हुन्छ । एम्बुलेन्समा लैजादा समय लाग्छ । एम्बुलेन्समा विरामीसँग स्वास्थ्यकर्मी पनि हुदैन । त्यसबेला विरामी झन् रिस्क हुने डा. मल्लको भनाई छ । अस्पताल प्रशासनले चाडो भन्दा चाडो आइसियु विस्तार गर्नुपर्ने उनी बताउँछन् । आइसियु बेडकै अभावमा मिति तय भइसकेका विरामीहरुको अप्रेशन रद्द गर्नुपर्ने एशोसिएट प्रोफेसर डा.विष्णु पोख्रेलले बताए । अस्पताल प्रशासनका अनुसार प्रतिष्ठानमा सेन्ट्रल आइसियु एउटा डिलक्ससहित ८ वटा बेड छ भने एमआइसियु ४ बेड, एनआइसियु ६ बेड, सर्जिकल आइसियु ५ बेड, मेडिकल आइसियु ४ बेडको रहेको छ । भएको आइसियुमा पनि कति भेन्टिलेटर बेला बेला बिग्रिएको हुन्छ । बीपीको आइसियु संख्या स्वास्थ्य मन्त्रालयको निर्देशिकाले तोकेको भन्दा ज्यादै न्युन बेड क्षमता हो भने बीपीलाई आवश्यकताअनुसार पनि असाध्यै कम संख्या हो । निर्देशिका अनुसार अस्पतालको कुल बेड संख्याको १० प्रतिशत आइसियु हुनुपर्छ । बीपी प्रतिष्ठानमा कुल ७ सय ६३ बेड छ । यो हिसाबले ७६ वटा भेन्टिलेटरसहित आइसियु बेड बीपीमा हुनुपर्छ । ‘बीपीको आवश्यकता अनुसार पनि यहाँको आइसियु बेड धेरै थोरै हो, विस्तार गर्न मन्त्रालयमा योजना पेश भइसकेको छ,’डेपुटी अस्पताल निर्देशक डा.पप्पु रिजालले भने । उनका अनुसा एउटा आइसियु बेड थप्न ६०, ७० लाख खर्च हुने भएकोले सरकारले बजेट नदिए विस्तार गर्न सम्भव छैन ।

12 4