तीन हप्ताभन्दा बढी समयसम्म पनि लगातार खोकी लागेपछि मात्र परामर्श लिन डाक्टरकहाँ जाने मानिस थुप्रै भेटिन्छन्। विशेषगरी, गरी फ्लु फैलने समयमा र फ्लुको संक्रमण भइसकेका बिरामीहरुमा यो समस्या बढी देखिने गरेको छ। फ्लुको सिजन सुरु भएसँगै धेरै मानिसलाई ज्वरो आउने र रुघाखोकीको समस्या हुने गरेको छ। उपचार गरेर एक पटक ठीक भइसके पश्चात् पनि फेरि सुख्खा खोकी लगातार लागिरहने भन्दै परामर्श लिन आउने बिरामी पनि भेटिने गरेको छ। बीचमा निको भएर केही बर्षको अन्तरालपछि पुन लगातार खोकी लागिरहने समस्या लिएर आउने धेरै छन्। लगातार खोकी लाग्नुका साथै टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न अप्ठेरो हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने गरेका समेत समस्या लिएर परामर्श लिन आउने बिरामीको संख्या पनि कम छैन। 

यस्तो समस्या भएका बिरामीको छातीको एक्सरे भने सामान्य नै देखिने गरेको छ। तरपनि समस्या समाधान नभएर धेरैलाई चिन्तित बनाएको हुन सक्छ। निरन्तर खोकी लागिरहनुका धेरै कारणहरु हुन् सक्दछन्। यसका कारण र निवारणको चर्चा गर्नुअघि यसका सम्बन्धमा भएका चिकित्सकीय अनुसन्धानको चर्चा गरौं।  द अमेरिकन कलेज अफ चेस्ट फिजिसियनसले खोकीको अवधिका आधारमा वर्गीकरण गरेको छ। तीन हप्तासम्मको खोकी भएमा 'एक्युट वा तीव्र खोकी', तीनदेखि आठ हप्तासम्मको खोकीलाई 'सब-एक्युट वा अर्ध-दीर्घ खोकी' र आठ हप्ताभन्दा बढी अवधिसम्म निरन्तर खोकी लागेको भए त्यसलाई 'क्रोनिक वा दीर्घ खोकी'का रुपमा उसले वर्गीकरण गरेको छ। यही अनुसन्धानका अधारमा नै अहिले खोकीका सम्भावित कारणहरु र उपचार गर्न सुझाव दिने गरिएको छ।

तीन हप्तासम्मको एक्युट वा तीव्र खोकी भएमा सामान्यतया भाइरल संक्रमण पनि एक प्रमुख कारण हुन् सक्छ। 'फ्लु भाइरस' यसको प्रमुख कारण हो। यसबाहेक अन्य कारण पनि हुन सक्छन्।  तीन हप्तादेखि आठ हप्तासम्म लगातार खोकी लागेमा 'पोष्ट भाइरल/पोष्ट इन्फेक्सिओस खोकी' अर्थात् 'भाइरसको संक्रमण प्रश्चात उत्पन्न खोकी' हुनसक्छ। यही वर्षको असोज पहिलो हप्ता काठमाडौंमा 'हंगकंग फ्लु' अर्थात् एच. थ्री. एन. टु प्रजातिको फ्लु भाइरस देखिएको थियो। यस्तो रोग लागेका बिरामीलाई तीन हप्ताभन्दा बढी समयसम्म निरन्तर खोकी लागिरहन्छ। यसको उपचार मैले आफैं गरेको थिएँ। यो मेरा लागि नेपालमा पहिलो अनुभव थियो।  हालै नेपालमा इन्फ्लुएन्जा 'ए' अन्तर्गत पर्ने एच. वान. एन वान. पीडीएम २००९ र एच. थ्री. एन. टु प्रजाति देखिसकेको सार्वजनिक भैसकेको छ। तसर्थ फ्लु हुने सिजनमा लामो समयसम्म खोकी लागिरहेमा र अरु कारण नदेखिएमा संक्रमण पश्चात् उत्त्पन्न भएको खोकी हुनसक्छ। यसको उपचार समयमा नै हुन जरुरी हुन्छ। 
के गर्ने?
'पोस्ट भाइरल/पोस्ट इन्फेक्सिओस खोकी' समय क्रमसंगै आफैं कम हुँदै जान्छ। तर पनि स्वस्थकर्मीसंग स्वस्थ जाँच गरी परामर्श लिन जरुरी हुन्छ। पैंसठ्ठी वर्षभन्दा माथि उमेरका, श्वास-प्रश्वाससम्बन्धी दीर्घ रोग लागेका, उच्च रक्तचाप भएका, मधुमेह भएका, अंग प्रत्यारोपण गरेका, तीन वर्षमुनिका बालबालिका, मोटोपन भएका, कुपोषण भएका यसको जोखिममा पर्ने समूह हुन्। 

जोखिमका समूहले हरेक फ्लु सिजनमा खोप लगाउने गरेमा यसबाट उत्पन्न हुने लगातारको खोकी र अरु जटिलताबाट धेरै हदसम्म मुक्ति पाउन सक्दछन्। एन्टिबायोटिक ‌औषधि चाँहि चिकित्सकको परामर्श बिना प्रयोग गर्नु हुँदैन। घरमा प्रशस्त आराम गर्ने, मनतातो र झोलिलो खानेकुरा खाने, धुलो-धुवाँबाट टाढा रहने गरेमा खोकीको संक्रमण कम हुन्छ। यदि दुइ महिना वा सो भन्दा पछि पनि लगातारको खोकी कम नभएमा चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ।