धरान: भारतीय सेनामा कार्यरत धरान ११ का बिक्रम राई र उनकी पत्नी मञ्जुको १७ बर्षीय एक छोरा छन् । दुवैले अर्को सन्तानको चाहना नगरेका पनि होइनन्, तर गर्भ रहन समय लाग्यो ।

झण्डै १७ बर्षपछि ४८ बर्षको उमेरमा मञ्जु गर्भवती भएकी थिइन् । नियमित जाँच गराइरहेकी उनी र परिवारजनमा एक किसिमको खुशी छाएको थियो । मंसिर ४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा भर्ना भइन् । उनलाई भोलीपल्ट विहानदेखि व्यथा लाग्ने औषधी चलाउन शुरु भयो । दिउँसो पौने ४ बजेतिर ३ घर खुलेपछि मञ्जुलाई लेवररुमभित्र लगियो ।

साँझ ६ बजेसम्म बिक्रमले पत्नी र बच्चाको अवस्था बुझ्दा सबै नर्मल नै रहेको सिस्टरहरुले बताएका थिए । बच्चाको धड्कन पनि ठिक थियो । उनी नर्मल डेलिभरी हुने आशामा थिए । तर, करिब ७ बजेतिर एक्कासी बच्चाको धड्कन कम भएको र आमाको पाठेघरबाट रक्तस्राव भइरहेको खबर उनले पाए । लगत्तै लेवररुमबाट मञ्जुलाई डाक्टरले हतारिदै अप्रेशनतिर लगे । ‘मेरो बच्चा भित्रै मृत्यु भइसकेको थिएछ, डाक्टर आउन पाँच मिनेट ढिला भएको भए त आमाको पनि ज्यान जाने थिएछ,’दुःखी हुदै बिक्रमले भने,‘लेवर रुमभित्र केयर नहुदो रहेछ, श्रीमतिले साढे ६ बजे नै म सहन सक्दिन, छिटो अप्रेशन गरिदिनु भन्दा पनि आधा घण्टा पर्खनु भनेछ । त्यतिबेलै भएको भए बच्चा पनि बच्ने थियो, श्रीमतिको अवस्था पनि यस्तो हुने थिएन ।’

पाठेघर फुटेर पेटभित्रै बच्चाको मृत्यु भएको थियो । मृत बच्चालाई अप्रेशन गरेर निकालियो । रक्तस्राव अत्यधिक भएकोले आमाको अवस्था पनि नाजुक बन्यो । उनको अझै पनि आइसियुमा राखेर उपचार भइरहेको छ । ‘मलाई नर्मल कि डेलिभरी गराउने भनेर सोधेको थियो, सबैले नर्मल होस भन्ने चाहन्छौं, तर अवस्था के छ भन्ने त थाह हुदैन । डाक्टर, नर्सले नै परिस्थिति बुझेर गर्नुपर्ने थियो,’उनले भने,‘लेवर रुममा लगेपछि नर्सहरु फेसबुक, यु ट्युब हेर्दै बस्दो रहेछ, सिनियर आयो भने मात्र एलर्ट हुने रहेछ ।’ पीडित बिक्रमले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले यस्तो घटना अरुमाथि नहोस् भनेर आफुले पत्रकार सम्मेलन गरेको पनि जानकारी दिए ।

बिपी प्रतिष्ठानमा गएको आइतबार पनि पेटभित्र बच्चसहित आमाको पनि ज्यान गएको दुःखद घटना भएको थियो । एक साताभित्र फेरी गाइनोमा नै यो अर्को दुःखद घटना भएको हो । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका २ की २८ बर्षीय मनिषा लिम्बू र पेटभित्रै उनको बच्चाको ज्यान गएको थियो । प्रतिष्ठानका असिस्टेन्ट डाइरेक्टर डा. विकास साह लापरवाही भएको नभई गर्भवती र उनको श्रीमान्को चाहना अनुसारै नर्मल डेलिभरी गराउने प्रयासमा अचानक पाठेघर फुटेको कारण दुःखद घटना भएको बताए । बच्चाको चाहना गरेको पहिलो बर्षमा गर्भ नबसेपछि धेरै समयमा गर्भ रहेको भए पहिला नै नर्मल कि अप्रेशन गर्ने भनेर विकल्प दिइने र परिवारको इच्छा अनुसारै डेलिभरीको प्रयास गरिने उनले बताए । ‘यो केसमा पनि शुरुमा विकल्प दिइएको थियो, नर्मल गराउने भनेपछि औषधी चलाइयो । त्यो औषधीले ६ घण्टाभित्र नर्भल हुन सकेन भने मात्र अप्रेशनमा लैजानुपर्छ, तर ३ घण्टाभित्रै अचानक पाठेघर फुट्यो, तत्काल डाक्टरले अप्रेशन गरेर आमाको ज्यान जोगाउन सफल भयो,’डा.साहले भने, ‘उपचारमा लापरवाही कसरी गर्न सक्छौ ? तर, लापरवाही गरेको भनेन भने छानबिनै हुदैन भन्ने सोच बसेको छ । त्यस्तो होइन, के भएको हो भनेर बुझ्ने अधिकार सबैमा हुन्छ ।’

डा.साहले बिपीमा गाइनोको क्षमताभन्दा धेरै गर्भवती महिलाहरु उपचार गर्न आउने र पुर्वाधार अभावले पनि समस्या भइरहेको बताए । विगतमा ३० जनाको दैनिक डेलिभरी हुने गरेकोमा अहिले ५० देखि ६० जनाको हुने गरेको छ भने अप्रेशन २४ घण्टा नै चलिरहने उनले बताए । ‘जनशक्ति छ, तर पुर्वाधार अभाव छ । अप्रेशन भइरहेको हुन्छ, त्यो नसकी अर्कोलाई लैजान पनि सकिदैन,’उनले भने ।