धरान: सुत्केरी गराउने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पेटभित्रै बच्चाको मृत्यु भएको घटनामा पीडित परिवार र अस्पताल प्रशासनबीच सहमति भएको छ ।

पीडित परिवारसँगै महिला सञ्जाल धरान, भूपू भारतीय सैनिक परिवारसहित बिहिबार अस्पताल प्रशासनसँग भएको वार्तामा सहमति भएको हो । मंसिर ४ गते प्रतिष्ठानको गाइनो वार्डको लेबर रुमभित्र नर्मल डेलिभरी गराउन लगिएकी धरान ११ की ४८ बर्षीय गर्भवती मञ्जु राईको पेटभित्रै बच्चाको मृत्यु भएको थियो । अचानक पाठेघर फुटेर अत्यधिक रक्तस्राव भएपछि उनको तत्काल शल्यक्रिया गर्नुपरेको थियो । शल्यक्रियापश्चात उनको आइसियुमा राखेर उपचार भएको थियो ।

घटनापछि उनका श्रीमान् बिक्रम राईले लापरवाही भएको र समयमै अप्रेशन नगरिदिदा बच्चाको मृत्यु भएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरेका थिए । उनले अस्पताल प्रशासनसँगै महिला सञ्जाल धरानलाई पनि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलाइरहेका महिला अधिकारकर्मी, भूपू भारतीय सैनिक, विद्यार्थी तथा तरुण दलका नेताहरु पनि अस्पताल प्रशासनमा घटनाबारे बुझ्न गएका थिए । ‘महिला सञ्जाल, नागरिक समाज सबै आएपछि अस्पताल प्रशासनले सम्बन्धित विभागको डाक्टर, नर्सलाई पनि बोलाएर घटनाबारे यथार्थ कुरा बतायौ, मुख्य समस्या भनेको पुर्वाधार अभाव नै हो,’सहायक अस्पताल निर्देशक डा.विकास साहले भने,‘हामीले भन्यौ कि अप्रेशन खाली नै हुदैन, एउटाको अप्रेशन भइरहदा उसलाई छोडेर नयाँलाई गर्न पनि सक्दैनौ । हाम्रो बाध्यता बुझायौ ।’

47248419_726483911051500_5335974163465109504_n copy

सबैको आग्रहमा महिलाको उपचार खर्च छुट गरिदिने र भविष्यमा पनि निःशुल्क उपचारको व्यवस्थ गरिदिने सहमति भएको छ । ‘यो क्षतिपूर्ति होइन, सबैको आग्रहमा सरकारको नीतिभित्र रहेर दिइएको सुविधा हो,’साहले भने । छलफलमा गाइनो वार्डका नर्स, डाक्टरप्रति धेरै गुनासो र असन्तुष्टी व्यक्त भएको भन्दै डा. साहले प्रशासनले सक्दो कडाई र सुधारको प्रयास गरिरहेको पनि बताए । महिला सञ्जालकी अध्यक्ष सविता राईले हिंसाविरुद्ध १६ दिने अभियान चलिरहदा एक महिलामाथि पीडा परेको निवेदन आएपछि न्यायको लागि अस्पताल प्रशासनमा गएको बताइन् । उनले भनिन्,‘हामीले अस्पताल निर्देशकसँग पनि कुरा राख्यौ । यस्तो घटना दोहोदिन दिनु हुदैन । बेड थप्नुपर्छ, गाइनोमा एउटा ओटि जहिल्यै पनि खाली रहोस्, इर्मेजेन्सी केसको तत्कालै अप्रेशन गर्न सकियोस् ।’

महिला सञ्जाल, अस्पताल प्रशासनसहितको टोलीले विभागीय प्रमुखसँग समन्वय गरेर अनुगमन गर्ने पनि मौखिक समझदारी भएको उनले बताइन् । ‘मुख्य समस्या पुवर्धार अभाव नै देखियो, एमसिएच भवन चाडो बनाउनुपर्ने खाँचो रहेछ,’उनले भनिन् । सञ्जालकोतर्फबाट अध्यक्ष राई, वरिष्ठ उपाध्यक्ष चेतना श्रेङ, कोषाध्यक्ष लहरु जिमी, पुर्वअध्यक्ष गंगा वराल, सदस्य सुनिता केसी राईलगायत गएका थिए । यो घटनाअघि पनि धनकुटाको साँगुरीगढी गाउँपालिका २ की २८ बर्षीय मनिषा लिम्बू र उनको पेटभित्रै रहेको बच्चा दुवैको ज्यान गएको थियो । उक्त घटनामा पनि पीडित परिवार र अस्पताल प्रशासनबीच सहमति भएको थियो ।